किन रोइस् मङ्गले, आफ्नै ढङ्गले

किन रोइस् मङ्गले, आफ्नै ढङ्गले


  • स्वयम्भूनाथ कार्की

यो ‘किन रोइस् मङ्गले, आफ्नै ढङ्गले’ भनाइको ‘मङ्गले’ कुनै पात्र होइन, प्रवृत्ति हो । यो खुलाउन आवश्यक थियो नत्र आजको परिवेशमा कुनै मङ्गल नाम भएको कसैलाई उचालेर विरोध प्रदर्शन वा भौतिक कारबाहीको सम्भावना छ । उसै पनि आजभोलि ‘बुझ न सुझ, हगन गौडी पुज’ तालको अर्थ लगाएर नाना अधिकारकर्मीहरू उफ्रने गर्दछन् । उनीहरूको मुखमा माड नै यसो नगरी लाग्दैन । हुन त यही लेखेबापत पनि केही न केही पर्न सक्छ त्यसैले घोषणा गर्छु यो मेरो निजी विचार हो, यसले मार्का पर्नेहरूको निमित्त केवल म जिम्मेवार छु । यो त्यस्ता आधुनिक सोच राख्नेहरूको निमित्त हो जो पोर्नस्टारको र नागा साधुको नाङ्गो शरीरलाई एकै देख्छ ।

अर्थात् पोर्नस्टारको यौनाङ्ग देख्दा हुने यौन उत्तेजना नागा साधुको यौनाङ्ग देख्दा पनि हुन्छ । यो यस्तै उत्तरआधुनिक सोचको वशीभूत हुनेहरूलाई मात्र हुन्छ जसलाई शिवलिङ्ग पनि अश्लील लाग्छ । पुरातन पन्थीहरूलाई नर्तकीको स्तनले उत्तेजना दिन्छ, तर आमाको स्तनले वात्सल्य, पोर्नस्टारको यौनाङ्गले उत्तेजित भए पनि नागा साधुको यौनाङ्गले उत्तेजना होइन वैराग्यको अनुभूति गराउँछ । केही विषयान्तर भयो किनभने भर्खर एक उत्तरआधुनिक महिलाको प्रश्न देखियो । उहाँले सोध्नुभएको रहेछ ज्योति मगरको स्तन प्रदर्शनको विरोध गर्नेहरू नागा साधुको लिङ्ग प्रदर्शनको विरोध किन गर्दैनन् ? शायद उत्तर भयो होला, त्यो स्तन देख्दा उत्तेजित हुनेहरूले विरोध गरे, नहुनेले गरेनन्, त्यस्तै नागा देख्दा उत्तेजित हुनेले विरोध गरे, नहुनेले गरेनन् ।

यसमा उठान गर्न खोजिएको विषय हो भरतपुरकी उपमेयरको विलाप, जसको कारण पहिले प्रचण्डपुत्री जिताएर खसी काटी भोज गर्ने काङ्ग्रेसी हुन् । यसको स्थानीय नेतृत्व उनैले गरेकी थिइन् । खुच्चिङ भनेर काखी बजाउने काम अलि सस्तो होला, तर ‘किन रोइस् मङ्गले, आफ्नै ढङ्गले’ भनेर भन्नैपर्ने हुन्छ । यो भन्न किन पनि आवश्यक छ कि भोलि फेरि अर्कोले यस्तै उरण्ठेउलो काम गरेर विलाप गर्न नपुगोस् । लोकतन्त्रको कुन मान्यताले, नेपाली काङ्ग्रेसको कुन सोचले पछिल्लो स्थानीय निर्वाचनमा माओवादी र काङ्ग्रेस गठबन्धन उपयुक्त थियो ? यो प्रश्नको जवाफ अहिले विलाप गर्ने ठकुरीले दिनुपर्छ पहिले । त्यसपछि नेताको आदेशमा आँखा चिम्लेर हामफाल्ने वफादार कार्यकर्ताले दिनुपर्छ ।

बीपी चिन्तन र उनले स्थापना गरेको मार्गलाई जीपीले तहसनहस पारेको कुरा स्वीकार गर्न नसक्ने काङ्ग्रेस नै अहिले नीतिभन्दा नेता ठूला मानेर हुकुम तामेलमा लागेका छन् । जसरी भए पनि पार्टीमा आफ्नो हैकम कायम रहोस् भनेर जे पनि गर्न पछि नपर्ने वाद गिरिजाले प्रतिपादन गरेका हुन् । यसको पहिलो निशानामा बीपीपुत्र प्रकाश कोइराला परे । उनले यो काङ्ग्रेसको मान्यताभन्दा बाहिरको कुरा हो भनेर काका गिरिजालाई भन्ने नैतिक साहस त देखाए । चारतारे झन्डा र रूख चिह्नभन्दा बाहिर पनि आफ्नो मान्यतामा बस्न सकिने रहेछ भनेर देखाउने गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई यदि सही हुन् भने व्यक्तिले होइन, नीतिले पार्टी चलाउनुपर्छ भन्ने प्रकाश कोइराला गलत होइनन् ।

मुलुकभर जे–जस्ता सङ्गठनहरू भए पनि त्यहाँ आफ्नै कब्जा हुनुपर्छ भन्ने सोच गिरिजापथ मान्नेहरूको रहेको छ । भरसक सम्पूर्ण कब्जा नसके कम्युनिस्टसँग बाँडीचुँडी गरेर पनि सबै संस्थामा आफ्नो पकड हुनुपर्छ भन्ने कुरा कति सही कति गलत त्यो कसैले मूल्याङ्कन गर्नैपर्दैन । यसको दुष्परिणामले अहिले देखाउन शुरु गरेको लक्षहीनता, विधिहीनता अनि सक्षम नेतृत्वहीनताले मुलुक धर्मराउन थालेको छ । हुन त यो अवस्था ल्याउन केवल काङ्ग्रेस मात्र जिम्मेवार छैन, अन्य दलहरू पनि छन् । तर, नेपाली काङ्ग्रेसले देखाएको लोकतन्त्रको उच्चतम रूपको अवस्थामा मुलुक पुगेको छ । अरू दलको भने यो प्राप्त उपलब्धिमा टेकेर थप प्राप्त गर्ने अवस्था मात्र हो ।

नेपाली काङ्ग्रेसमा अब बीपी चिन्तनको केवल नाम छ । बीपी चिन्तनको नाम लेखिएको भाँडोमा जीपी चिन्तन भरिएको छ । त्यसैले बीपी विचार मञ्चले बीपी विचार फैलाउला कि भन्ने डरले जीपीवादीहरू हावी भएका छन् । नेपाली काङ्ग्रेसका चिन्तन कोष मानिएकाहरू पनि क्षणिक लाभको लालसामा ‘आज बीपी हुनुभएको भए’ भन्न थाल्नुको परिणाम हो कि उनीहरू अहिले परोक्ष रूपमा नेपाली काङ्ग्रेसले आफूलाई भुलेको भन्दै छन् । विभिन्न स्थानीय तहमा, प्रदेश स्तरमा निर्वाचित दलका धेरै व्यक्तिहरूको काम गराइको चेतनस्तर देखेर लाजले मुन्टो निहुराउनुपर्ने अवस्था भएको छ । संसदीय लोकतन्त्रबाहेक अरूलाई लोकतन्त्र नै होइन भन्ने नेपाली काङ्ग्रेस यो पद्धति स्खलन भएको टुलुटलु हेर्न बाध्य छ ।

कुलबहादुर गुरुङ देवेन्द्र नेपाली, देवप्रकाश त्रिपाठी आदिले शुरु गरेको अभियानलाई तुहाउन लागेका छन् । अब उनीहरूको अभियानलाई खारेर, प्रकाश कोइराला आदिको पुनर्मूल्याङ्कन गरेर नेकाका विचार कोष अगाडि नबढ्ने हो भने अवस्था ठीक हुन्न । अनि अहिले उनीहरूलाई रोकेर पुरुषार्थ देखाउने हरेकलाई जोरीपारीले ‘किन रोइस् मङ्गल, आफ्नै ढङ्गले’ भनेर काखी बजाउने वा खुच्चिङ भन्नुपर्ने अवस्था आउनेछ । नेपालीको हरेक पक्षमा जो ग्रहण देखिँदै छ यसको जिम्मेवार नेपाली काङ्ग्रेस नै हुन्छ किनभने यहाँसम्म उसैले ल्याएको हो ।