पूर्व श्री ५ द्वारा ‘तराई’ भन्न आग्रह

पूर्व श्री ५ द्वारा ‘तराई’ भन्न आग्रह


दुई दिनदेखि तराई भ्रमणको क्रममा रहनुभएका पूर्व श्री ५ ज्ञानेन्द्र शाहले जनकपुर पुगेर वर्तमान सरकारबारे मुख खोल्नुभएको छ । तराईका जनताको राय बुझ्नै क्रममा पूर्व श्री ५ ले वर्तमान नेतृत्वसँग आम जनता सन्तुष्ट नरहेको आफ्नो अनुभूति अभिव्यक्त गर्नुभएको हो ।

शुक्रबार जानकी मन्दिरको दर्शन र पूजा अर्चना गर्न जनकपुर पुग्नुभएका उहाँले सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, ‘अहिले जनता सरकारसँग असन्तुष्ट छन् । मलाई देश र जनताको चिन्ता छ ।’

झण्डै ४० मिनेट मन्दिरमा पूूजा अर्चना गर्नुभएका पूर्व श्री ५ को स्वागतमा हजारौँ स्थानीयवासी फुलको माला, गुच्छा, राजाको तस्बिर र राष्ट्रिय भmण्डासहित जानकी मन्दिरमा पुगेका थिए । मन्दिरमा पुगेपछि राप्रपा नेपाल, राप्रपा संयुक्त, शिव सेना, राजपा लोकतान्त्रिक लगायतका नेता/कार्यकर्ता तथा समर्थकहरुले ‘राजा ल्याउ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देशभन्दा प्यारो छ’ भन्दै नाराबाजी गरेका थिए । पूर्व श्री ५ को स्वागतमा मन्दिर परिसरको मुख्यद्वारबाट नै रातो कार्पेट ओच्छ्याइएको थियो ।

पूर्व श्री ५ ज्ञानेन्द्रको स्वागतमा मन्दिरमा स्थानीयहरु लामबद्ध बनेर उभिएका थिए । जानकी माताको पूजा अर्चनापछि पूर्व श्री ५ ले विवाह मण्डप, अखण्ड राम नाम जपस्थल समेत अवलोकन गर्नुभएको थियो। पूजापाठ गरिसकेपछि उहाँले मधेशलाई तराई भन्न आग्रह गर्नुभएको बताइएको छ । मधेशको अवस्था कस्तो लाग्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, ‘मधेश होइन तराई भन्नुस् ।’

बुधबार जनकपुर पुग्नुभएका पूर्व श्री ५ ले विहिबार धनुषाको महेन्द्रनगर, महोत्तरीको बर्दिबास, सर्लाहीको नवलपुर, गम्हरिया, कविलासी, मलंगवालगायतको स्थानमा आफ्ना समर्थकसँग भेटघाट गर्नुभएको थियो । उहाँ शनिवार उदयपुर पुगेर पुनः जनकपुर र आइतबार काठमाडौं फर्कनुहुने बुझिएको छ ।