डाक्टर उत्पादन गर्ने संस्थाको रजिष्ट्रारमा नर्स नियुक्त गरिँदै

डाक्टर उत्पादन गर्ने संस्थाको रजिष्ट्रारमा नर्स नियुक्त गरिँदै


लामो समयदेखि रिक्त रहँदै आएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पदाधिकारी नियुक्तिमा सत्ताधारी पार्टीका नेताबीच भागबण्डा मिलेको बुझिएको छ । जसअनुसार रजिष्ट्रारमा पूर्वसभामुख एवम् नेकपाका नेता सुवास नेम्वाङकी बहिनी प्रमिला देवानलाई नियुक्त गर्ने तयारी भएको स्रोतको दाबी छ ।

वीर अस्पतालमा स्टाफ नर्स रहेकी देवानलाई डाक्टर उत्पादन गर्ने निकायको प्रमुखमध्येको एक पद (रजिष्ट्रार) नियुक्त गर्न प्रधानमन्त्री केपी ओलीनिकट नेताको रूपमा समेत चिनिने नेम्वाङलाई सफलता मिलेको चर्चा वीर अस्पताललगायत सम्बद्ध क्षेत्रमा चलेको छ ।

पदाकाङ्क्षीहरूको हानथापका कारण न्याम्सका पदाधिकारी नियुक्तिको विषय लामो समयदेखि विवादित रहँदै आएको थियो । यस परिप्रेक्ष्यमा न्याम्सको उपकुलपतिमा आफ्नो मान्छे राख्न पाउनुपर्ने मागमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई सहमत तुल्याएका थिए । यसवापत रजिष्ट्रार लगायतका अन्य पदमा आफूले दाबी नगर्ने लचकता यादवले दर्शाएपछि नेम्वाङसहित प्रधानमन्त्रीको निजी सचिवालयका खास पात्रहरू सल्बलाएका थिए ।

फलतः स्वास्थ्यमन्त्री यादवसँग रहश्यमयी साँठगाँठ रहेका नेम्वाङले आफ्नी बहिनीलाई न्याम्सको रजिष्ट्रारमा नियुक्ति दिलाउन मन्त्रीलाई सहमत गराएका सुत्र बताउँछ ।

बालुवाटार स्रोतका अनुसार न्याम्सको रजिष्ट्रारमा पेशागत रूपले योग्य पात्र नियुक्त गर्नुपर्ने तर्क राख्दै आएका प्रधानमन्त्री ओली नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार एवम् आफ्ना निजी चिकित्सक समेत रहेका डा. दिलिप शर्मालाई नियुक्ति दिलाउन चाहन्थे । तर, नेम्वाङ र यादवको गठजोड तथा आफ्नै सचिवालयका ‘हर्ताकर्ता’हरू समेत नेम्वाङकी बहिनीको पक्षमा उभिएपछि चिकित्सक उत्पादन गर्ने निकायको रजिष्ट्रार जस्तो ओहदामा वीरकी स्टाफ नर्सलाई नियुक्ति दिन प्रधानमन्त्रीले सहमति जनाउनु परेको स्रोतले बतायो ।