पूर्वीचौकी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

पूर्वीचौकी गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा


डोटीको एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा प्रदान गर्ने भएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो ।

गाउँपालिका आफैँले सञ्चालनमा ल्याएका बसमा सो सुविधा दिने निर्णय गरेको सो गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले भने, ‘हाम्रो गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकलाई यात्रा गर्न सहज होस् भन्नका लागि हामीले निःशुल्क रूपमा यातायात सेवा उपलब्ध गराउनेछौँ ।’

परिचयपत्रका आधारमा उनीहरूले सो सुविधा प्राप्त गर्न सक्ने गाउँपालिकाले जनाएको छ । यसरी निःशुल्क यातायात सेवा उपलब्ध गराउने सो गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका भएको छ । यसभन्दा पहिले जिल्लाका शिखर नगरपालिकाले पनि ज्येष्ठ नागरिक र पत्रकारलाई निःशुल्क रूपमा यातायात सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

‘ज्येष्ठ नागरिकलाई निःशुल्क रूपमा यातायात सेवा उपलब्ध गराएपछि स्थानीयवासी खुसी भएका छन्,’ पूर्वीचौकी गाउँपालिका–१ का चक्रबहादुर कठायतले भने, ‘गाउँपालिकाले राम्रो निर्णय गरेको छ, जो आफैँमा स्वागतयोग्य काम हो ।’

उक्त गाउँपालिकाले केही महिनाअघि मात्र स्थानीयवासीको सहजताका लागि लाखाँै खर्चेर दुईवटा बस सञ्चालनमा ल्याएको थियो । ती दुवै बस अछामको चौखुट्टेदेखि दीपायलको पिपल्ला बजारसम्म सञ्चालन भइरहेका छन् । गाउँपालिकाका बसहरूले खासै राम्रो फाइदा कमाउन नसके पनि स्थानीयवासीलाई निकै राहत पुगेको सो गाउँपालिकाका अधिकृत टेकबहादुर खड्काले बताए । उनले भने, ‘बस सञ्चालनले खासै आम्दानी त गर्न सकेको छैन तैपनि गाडी नपाएर हैरान हुने स्थानीयवासीलाई भने राम्रै सेवा पुगेको छ ।’ डोटीमा अहिले दीपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाले आफ्नै निजी बसहरू किनेर सञ्चालनमा ल्याएका छन् ।