शुक्लाफाँटामा ६० कृत्रिम पोखरी निर्माण हुँदै

शुक्लाफाँटामा ६० कृत्रिम पोखरी निर्माण हुँदै


वन्यजन्तुको पानीको प्यास मेटाउन कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ६० वटा कृत्रिम ताल (पोखरी) निर्माण हुँदै छन् ।

वन्यजन्तुको वासस्थान संरक्षण तथा गर्मीयाममा निकुञ्जभित्र भएका प्राकृतिक तालमा पानी कम हुने भएकाले निकुञ्जको विभिन्न क्षेत्रमा चालू आर्थिक वर्षमा ६० वटा कृत्रिम ताल निर्माण हुने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

ताल निर्माणका लागि रु. एक करोड २० लाख रकमसमेत केन्द्रबाट विनियोजन गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले जानकारी दिए ।

विभिन्न समयमा गरेर निकुञ्जको शुक्लाफाँट, अर्जुनी क्षेत्र, पिपरिया, सिंहपुरलगायतका क्षेत्रमा हालसम्म ३४ वटा ताल निर्माण भइसकेका छन् । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा रहेका रानी ताल, बाबा ताल, बठनीयालगायतका प्राकृतिक ताल संरक्षण हुन सकेका छैनन् ।

सरसफाइको अभावले तालमा जलकुम्भीलगायतले पुरिँदै गएका छन् । ‘वन्यजन्तुका लागि पानीको अभाव नहोस् भनेर ठाउँ–ठाउँमा पोखरी बनाउन लागिएको हो,’ प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, ‘चालू वर्षभित्र रहेका प्राकृतिक ताल पनि सरसफाइ गर्ने योजना छ ।’

उनले निकुञ्जभित्रको रानीताल सरसफाइका लागि रु. २० लाख बजेट आएको जानकारी दिए । ‘ताल सरसफाइका लागि ठेक्का प्रक्रियासमेत भइसक्यो,’ उनले भने, ‘वन्यजन्तु अवलोकनका लागि तीन वटा स्थानमा भ्यूटावर बन्दै छन् ।’

शुक्लाफाँटामा १७ वटा गैँडा, १६ वटा पाटेबाघ, दुई हजार तनि सयको हाराहरीमा बाहसिंगा र सयौँ प्रजातीका संख्यामा चराचुरुंगी रहेका छन् ।