विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नांगो तार विस्थापन

विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नांगो तार विस्थापन


विद्युतीय दुर्घटना न्यूनीकरणका लागि बाग्लुङ बजार क्षेत्रमा नांगो तार विस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बजार क्षेत्रभित्रका सात किलोमिटर नांगो तारलाई विस्थापन गरी त्यसको ठाउँँमा कालो प्लाास्टिकजडित नयाँ तार जडानको काम गरिरहेको छ ।

घना बस्ती रहेको बजार क्षेत्रमा नांगो तारका कारण पटकपटक विद्युतीय दुर्घटना हुने गरेकाले त्यसलाई विस्थापन गरी प्लास्टिकजडित (इन्सुलिटेड केवल) तार प्रयोग गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाग्लुङका प्रमुख कपिलराज पाण्डेले बताए । पाण्डेका अनुसार नयाँ तारबाट वितरण हुने विद्युत चुहावटको समस्यासमेत धेरै कम हुनेछ । बजारभित्रको वितरण लाइनको नांगो तार सबै विस्थापन गरिनेछ ।

नेपाल विद्युत् प्राधिकरणको वार्षिक कार्यक्रमअनुसार नै बाग्लुङ बजारमा खतरामुक्त तार जडानको काम भइरहेको पाण्डेले बताए । अहिले बाग्लुङ नगरपालिका–१ को १०, वडा नं २ को ८० र ३ को बजार क्षेत्रको भागमा विस्तार भएको प्रसारण लाइनको तार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । पहिले चारवटा तार हुनेमा इन्सुलिटेड तार एउटै हुने र त्यसमा पनि प्लास्टिकले बेरिएको हुने भएकाले कसैले छोए पनि विद्युतीय दुर्घटना नहुने प्रमुख पाण्डेले बताए ।

प्लास्टिकले बेरिएको तार भएका कारण विद्युत चुहावट हट्ने र हावाहुरी लाग्दा र पोल ढल्दा कुनै दुर्घटनाको सम्भावना नहुने उनले बताए ।

अव्यवस्थित नांगो तारले जोखिम हुँदासमेत प्राधिकरणले मर्मतसम्भारका लागि बेवास्ता गरेको सर्वसाधारणको गुनासो बढेकाले यसलाई व्यवस्थापन गर्न थालिएको बाग्लुङ नगरपालिका–२ का पूर्वाधार संयोजक अर्जुन घिमिरेले जानकारी दिए । तारको व्यवस्थापन गर्नेे काम प्राधिकरणको भए पनि वडा कार्यालयले यसमा चासो देखाएको छ । आगामी एक महिनाभित्र सबै तारको व्यवस्थापन गरेर नया इन्सुलिटेड तारमार्फत उपभोक्ताको घर घरमा विद्युत प्रवाह गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।