कामदार सवार बस दुर्घटना हुँदा दुईको मृत्यु, २३ घाइते

कामदार सवार बस दुर्घटना हुँदा दुईको मृत्यु, २३ घाइते


दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा शुक्रबार बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ का हीराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोसी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिए ।

दुर्घटनामा २३ घाइते भएको दोलखाका प्रवक्ता प्रहरी निरीक्षक प्रदीप महतले बताए । घाइतेको दोलखाको सिँगटीस्थित रोल्वालिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ ।

बा.४ख ४५७३ नम्बरको बस दोलखामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका कामदार लिएर गुडेको थियो । आज बिहान छ्योत्छ्योतस्थित चिनियाँ क्याम्पबाट करिब ३० कामदार लिएर छुटेको बस माथिल्लो तामाकोसी आयोजनाको मुख्य टनेलतर्फ जाने नयाँ बाटो लुप सेभेन (सात घुम्ती) मा दुर्घटना भएको थियो ।