दुई समलिङ्गी नेपाली युवालाई अष्ट्रेलियामा ‘पार्टनर भिसा’

दुई समलिङ्गी नेपाली युवालाई अष्ट्रेलियामा ‘पार्टनर भिसा’


  • राजन घिमिरे, अष्ट्रेलिया

अष्ट्रेलियाको सिड्नीमा रहेका दुई समलिङ्गी नेपाली युवाले श्रीमान–श्रीमती सरह बस्न पाइने ‘पार्टनर भिसा’ पाएका छन् । सम्भवतः नेपाली समलिङ्गी युवालाई अष्ट्रेलियन सरकारले कानुनी विवाहको मान्यताअनुसार पार्टनर भिसा दिएको यो पहिलो घटना भएको बताइएको छ ।

गत वर्ष मात्र अष्ट्रेलियन सरकारले अष्ट्रेलियामा समलिंगी विवाहलाई मान्यता दिएको थियो ।

काठमाडौंका जीवन र विकाश (नाम परिवर्तन) अध्ययनका लागि विद्यार्थी भिसामा दुई वर्षअघि सिड्नी आएका थिए । ‘शारीरिक र भावनात्मक रूपमा त हामी एक थियौँ नै, अब कानुनी रूपमा समेत हामी एक भएका छौँ । योभन्दा खुशीको कुरा हाम्रो लागि यतिबेला अरु के होला ?’– दुवैले प्रसन्नता ब्यक्त गरे ।

२४ वर्षका जीवन र २५ वर्षीय विकास सिड्नीमा एकसाथ बस्दै आएका दुई वर्ष भैसकेको थियो । आफ्नो जोडीलाई यसरी भीसा प्रक्रियाका साथै कानुनी मान्यता दिलाउन सहयोग गरेकोमा एस पिपुल एजुकेशन एण्ड भिसा सर्भिसेसलाई उनीहरूले धन्यवाद दिए ।

‘धेरै किसिमका भिसाको काम गरियो तर नेपाली समाजका लागि सम्भवतः यस्तो भिसा पहिलो नै हो’, एस पिपुल एजुकेशन एण्ड भिसा सर्भिसेसका रोशन भट्टराई र ओमकृष्ण श्रेष्ठको भनाई छ ।

शारीरिक रूपमा दुवै केटामान्छे हुन् तर सार्वजनिक रूपमा यी दुवै केटीको पहिरनमा हिँड्ने गर्छन् । आफूहरूको यो निर्णयबाट अभिभावक एवम् परिवारका सदस्यहरू पनि खुशी भएका उनीहरूले बताए ।

पार्टनर भिसा प्राप्त गरेपछि यो जोडीले अन्य महिला र पुरूषजसरी श्रीमान–श्रीमतीको रूपमा एकै छानामुनि बसेर जीवन अगाडि बढाइरहेका छन् । बताइएअनुसार यो जोडीले अब श्रीमान–श्रीमतीको रूपमा पिआर वा यहाँको नागरिकता लिनका निम्ति प्रक्रिया अघि बढाउन सक्नेछन् ।