इमरानसँगको अपेक्षा

इमरानसँगको अपेक्षा


  • सिद्धि थापा

आफ्नो देशको आर्थिक सुधारमा केन्द्रित रहेर पाकिस्तानभित्र लोकप्रिय र विश्वमा चर्चित बनेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेवाका विमानचालकलाई सकुशल फिर्ता पठाएको घटनाले नेपालमा समेत एकप्रकारको तरङ्ग पैदा गऱ्यो । इमरानले नलडीकन युद्ध जितेको भन्ने तहको प्रचारसमेत यहाँ भएको थियो । तर, इमरानले युद्धबन्दीको रूपमा रहेका विमानचालकलाई किन हतार–हतारमा भारत फिर्ता पठाउनुप¥यो भन्ने विषयलाई लिएर यहाँ बौद्धिक बहस–छलफल भएन र, अब यो सन्दर्भ ओझेलमा पर्दै गएको छ पनि छ । भारत र पाकिस्तानबीच उत्पन्न तनाव युद्धमा बदलिने खतरा यतिबेला टरेको विश्वास गरिन्छ । तथापि इमरानले आतङ्कवाद र पाकिस्तानमा संरक्षित आतङ्ककारी गतिविधिलाई उन्मूलन गर्ने प्रतिबद्धता किन जाहेर गरेनन् भन्ने प्रश्न आमशान्तिकामी जनताको मनमा उत्पन्न भएको विश्वास गरिन्छ ।

छिमेकमा आश्रय लिएर आफ्नो मुलुकमा हिंसात्मक गतिविधि गरिँदाको पीडा नेपालीले भोगिसकेको हुँदा पाकिस्तानलाई सेल्टर बनाएर भारतको कास्मिरसहित कतिपय स्थानमा आतङ्ककारीहरूले पृथकतावादी क्रियाकलाप गर्दा भारतीय जनतालाई पुगेको चोटेको गहिराइ नेपालमा राम्रैसँग अनुभूत गरिएको छ । पाकिस्तानको भूमिलाई प्रयोग गरेर भारतमा भएको आतङ्की हमला र पृथकतावादी गतिविधिमा मुस्लिम आतङ्ककारीहरूको संलग्नतासमेतको आधारमा विवेचनामा गर्दा पाकिस्तानले अनौपचारिक सेनाको रूपमा आतङ्ककारीहरूलाई संरक्षण गर्ने गरेको निष्कर्षमा पुग्न बाध्य गराउँछ ।

विश्व कुख्यात आतङ्ककारी बिन लादेन पाकिस्तानमा आरामको जिन्दगी बिताइरहेको भेटिनु, हिंसा, विस्फोटन र नक्कली मुद्राको कारोबारमा संलग्न दाउद इब्राहिमसमेत पाकिस्तानी संरक्षणमा रहेको विश्वास गरिनु, सयौँको ज्यान जाने गरी भारतको एक पाँचतारे होटेलमा भएको आतङ्ककारी हमलामा संलग्न व्यक्ति पाकिस्तान भएर आएको पुष्टि हुनु, भारतको संसद्भवनमा आक्रमण गर्ने आतङ्ककारी पाकिस्तान संरक्षित भएको स्पष्ट हुनु र केही साताअघि पुलवामामा आत्मघाती आक्रमण गरेर चालीस व्यक्तिको ज्यान लिनेहरूसमेत पाकिस्तानी भूमिमा तालिमप्राप्त व्यक्ति भएको ठहर हुनुले पाकिस्तान आतङ्ककारीहरूका निम्ति ‘स्वर्ग’ भएको देखाउँछ । पलुवामा आक्रमणपछि भारतले पाकिस्तानस्थित आतङ्ककारीहरूको तालिम केन्द्रलाई निसाना बनाएर सैन्य कारबाही गरेपछि पाकिस्तानले आतङ्कवादीको किल्ला ध्वस्त बनाएको विषयलाई स्वीकार गर्न चाहेन । भारतीय कारबाहीमा रूख–बिरुवाहरू मात्र सिकार बनेको भन्ने जस्तो हल्का टिप्पणी गरेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतङ्कवादीहरूको मनोबल बढाउने काम गरे, जुन उनको छविसँग मेल नखाने अभिव्यक्ति मानिएको छ ।

युद्ध र हिंसा साँच्चै नचाहेका हुन् भने इराम खानले आतङ्कवाद समाप्तिका निम्ति भारत र विश्वसँग सहकार्यको प्रस्ताव प्रस्तुत गर्न सक्थे । यदि आतङ्कवादबाट पाकिस्तान पनि उनले भनेजस्तै प्रताडित छ भने देशभित्र आतङ्कवादविरुद्ध विशेष अभियान चलाउन सक्थे । तर, इमरानले त्यस्तो कुनै कदम चाल्न खोजेनन् । जेनेभा प्रस्तावनाअनुरूप युद्धबन्दीहरूलाई सकुशल फिर्ता गर्नुपर्ने भएकाले मात्र भारतीय वायुसेवाका चालकलाई फर्काएको भन्नेहरूलाई पुष्टि गर्ने व्यवहार इमरानबाट भएको छ । संयुक्त राज्य अमेरिकासहित सबै युरोपेली मुलुक आतङ्कवादविरुद्ध र भारतको पक्षमा उभियो । रसियाले मत्र होइन, चीनले समेत पाकिस्तानप्रति सहानुभूति दर्शाउन मिल्ने अवस्था बन्न सकेन र एकप्रकारले पाकिस्तान विश्वमै एक्लिन पुग्यो । जेनेभा कन्भेन्सन र अन्तर्राष्ट्रिय दबाबका कारण मात्र इमरानले भारतीय सेनाका चालकलाई सकुशल भारत पठाएको तथ्यलाई आत्मसात् गर्ने हो भने उनीबाट त्यस्तो कुनै महान् उदारता या सदासयता प्रकट भएको ठान्नुपर्दैन । इमरानसँग विश्वले गरेको अपेक्षा आतङ्कवाद उन्मूलनमा तत्परता हो, जुन उनले अहिलेसम्म लिएका छैनन् ।