माइपोखरी बजारमा आगलागी

माइपोखरी बजारमा आगलागी


इलामको सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने माइपोखरी बजारमा आगलागी भएको छ । धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी पस्ने गेटअगाडिका घरहरूमा आगलागी भएको हो ।

बिहीबार दिउँसो १ बजेबाट शुरु भएको आगलागीमा चक्र मुखिया र उहाँका भाइ कमल मुखियाको घर पूर्ण रूपमा ध्वस्त भएको छ भने सँगै जोडिएको निमादोर्जे शेर्पाको घरमा समेत आगलागी भएको स्थानीय दिनेश सुवेदीले जानकारी दिए । नजिकै रहेको वनमा पनि आगलागी भइरहेको पनि उनले बताए । स्थानीयवासीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

सूचना प्राप्त हुनासाथ आगलागी नियन्त्रणका लागि इलाम नगरपालिकाले त्यसतर्फ दमकल पठाइएको नगरपालिकका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए । इलाम सदरमुकामबाट दमकलसहित प्रहरी र नेपाली सेनालाई घटनास्थलतर्फ पठाइएको पनि उनले बताए । चक्र मुखियाको भान्छाघरबाट आगलागी शुरु भएको बताइएको छ ।