नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास भइँदैन : अध्यक्ष प्रचण्ड

नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास भइँदैन : अध्यक्ष प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताएका छन् ।

वाईसीएल नेपालले पेरिसडाँडामा बिहीबार आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा प्रचण्डले भने, ‘कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसारको सक्कलताबाट मात्रै सफल हुन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले विप्लवलाई संकेत गर्दै कसैको नक्कल गर्दै धाकधम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने कसैलाई सपना नदेख्न चेतावनी पनि दिए । पार्टी एकीकरणबाट बलिदानको कीर्तिमानीलाई स्थापना गर्न सफल भएको बताउँदै उनले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको हो, प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन सकिँदैन भने ।

अध्यक्ष ‘प्रचण्ड’ले विप्लवलाई लक्षित गर्दै भने, ‘निधार खुम्च्याएर सोच्नुपर्छ, निरंकुशतामा लान सकिँदैन ।’ उनले देशमा शान्ति, अमनचयनलाई बिथोल्न खोजे जोकोहीलाई राज्यले संविधान तथा ऐन कानुनअनुसार कारबाही गर्छ, त्यसैले परिस्थितिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

आफूलाई नै १ नं. मा मार्न विप्लव समूहले निर्णय गरी टिम खटाएको जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू कसैको धम्कीबाट विचलित नहुनेसमेत बताए । उनले जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको, तर त्यो रातारात आउन नसक्ने धारणा व्यक्त गरे । एकता र सहकार्यका साथ महान् समाजवादको उज्यालोमा पुग्न सकिने पनि उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले शहीदहरू युगयुग बाँचेका हुन्छन् भन्दै जनयुद्ध र जनआन्दोलनका सबै शहीदको एकै ठाउँमा शहीदपार्क बनाउनेमा पार्टीमा सहमति भइसकेको जानकारी गराए । तल्लो तहसम्म पार्टी एकीकरणको अन्तिम रूपमा केही दिनमा नै हुनेसमेत जानकारी गराए ।