बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश

बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश


संयुक्त राज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरू अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताएका हुन् ।

इथियोपियन एयरलाइन्सको विमान उडेको केही समयभित्रै दुर्घटना हुँदा त्यहाँ यात्रारत १५७ जनाको मृत्यु भएपछि विश्वव्यापी रूपमै बोइङ ७३७ सिरिजका विमानको उडान स्थगन गर्न थालिएको थियो । यही मोडेलको लायन एयरको विमान पनि ६ महिनाअघि इन्डोनेसियामा उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको थियो ।

राष्ट्रपति ट्रम्पले उक्त आदेश जारी गरेलगत्तै अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले बोइङ ७३७ म्याक्स सिरिजका विमानमा कुनै कमजोरी नदेखेको दाबी गरेको छ । यद्यपि राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसमा पत्रकारहरूसँग कुरा गर्दै विमानबारे केही ‘नयाँ सूचना’ प्राप्त भएको बताएका थिए, तर उनले यसबारे विस्तृत जानकारी दिन अस्वीकार गरे ।

‘सबै विमानको उडान स्थगन गरियो, र यो तत्कालै लागू भएको छ,’ ट्रम्पले बताए । ट्रम्पले अमेरिकी जनताको सुरक्षा सर्वोपरी महत्वको भएको जनाउँदै अमेरिकी नागरिक उड्डयन प्रशासनले यसबारे थप प्रस्ट पार्ने बताए ।

राष्ट्रपति ट्रम्पले क्यानडाका अधिकारीहरू, अमेरिकी क्यारियर्स र विमान निर्माता बोइङसँग पनि समन्वय गरी बोइङ ७३७ म्याक्सका उडान स्थगन गर्ने घोषणा गरिएको बताए ।

‘बोइङ अद्वितीय कम्पनी हो,’ ट्रम्पले भने, ‘उनीहरू अहिले ज्यादै मिहिनेतका साथ काम गरिरहेका छन् र चाँडै समस्या सुल्झनेछ ।’

यसैबीच, बोइङले जारी गरेको विज्ञप्तिमा म्याक्स सिरिजका विमान पूर्ण सुरक्षित रहेको जनाउँदै भनिएको छ, ‘बोइङ ७३७ म्याक्सको सुरक्षाप्रति आफूहरूलाई पूर्ण आत्मविश्वास छ ।’ कम्पनीले अमेरिकी नागरिक उड्डयन प्रशासनसँग बसेर विमानको सुरक्षा प्रबन्धबारे एउटा निष्कर्षमा पुगिने जनाएको छ ।

बोइङका प्रमुख कार्यकारी डेनिस मुलेनबर्गले कम्पनीले सचेततापूर्वक सक्रियताका साथ कार्य गरिरहेको बताएका छन् ।

अमेरिकासहित युरोपेली मुलुकहरू, चीन, सिंगापुर, अस्ट्रेलिया, भारतलगायतका विश्वका अधिकांश मुलुकले बोइङ ७३७ सिरिजका विमानहरूको उडान स्थगन गर्ने र आफ्नो आकाशबाट उड्न नदिने घोषणा गरिसकेका छन् ।