मापदण्डविपरीतको मासु पसलमा सिलबन्दी

मापदण्डविपरीतको मासु पसलमा सिलबन्दी


उपभोक्ताको उजुरी आएपछि पहिलोपल्ट पोखरा महानगरले मासु बिक्रीकक्षमा अनुगमन गरेको छ । महानगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल, पशु सेवा विभाग, उपभोक्ता मञ्च कास्कीले संयुक्त अनुगमन गरेको हो । अनुगमनका सिलसिलामा पोखरा महानगरपालिका–१० स्थित बी भाञ्जा सप्लायर्समा मापदण्डविपरीत सञ्चालन भएको भन्दै सिलबन्दी गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

उक्त सप्लार्यसमा अत्यधिक दुर्गन्ध, दर्ता नभएको, सार्वजनिकस्थलमा फोहर गरिएको, वडाको निर्देशन बेवास्ता गरेको भन्दै कानूनी कारवाहीका लागि सिलबन्दी गरिएको नेपालीको भनाइ छ । उनले भने, ‘हामीले मापदण्डका बारेमा जानकारी गराएका छौँ । त्यो निर्देशनअनुसार सञ्चालनका लागि अनुमति दिन्छौँ । अब मापदण्डविपरीत सञ्चालन गर्ने कुनै पनि पसललाई स्थानीय कानूनअनुसार कारवाही गरिनेछ ।’

उपभोक्ताहितविपरीत गैरकानूनीरूपबाट सञ्चालित व्यवसायलाई निरुत्साहन गर्न निरन्तर अनुगमन गर्नुपर्ने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने मासु व्यवसायीको गैरजिम्मेवार कार्य अनुगमन गरेर कानूनी प्रक्रियामार्फत समाधान खोजिने महानगरका सूचना अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

अनुगमनमा महानगरका प्रवक्ता नेपाली, जिल्ला प्रशासन कार्यालय कास्की, नाप तौल तथा गुणस्तर कार्यालय र पशु विकास महाशाखाका प्रतिनिधिको सहभागिता थियो ।