सरकारसँग नझुक्ने विप्लव नेतृत्वको नेकपाको चेतावनी

सरकारसँग नझुक्ने विप्लव नेतृत्वको नेकपाको चेतावनी


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कुनै पनि हालतमा सरकारसँग नझुक्ने स्पष्ट पारेको छ ।

सरकारद्वारा प्रतिबन्धित उक्त पार्टीले विज्ञप्ति जारी गर्दै कमजोर नसोच्न चेतावनी दिएको हो । जनताका अधिकारका लागि लडेको भन्दै विप्लवले चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको पनि दावी गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्धको निर्णय गरेको थियो । यसप्रति आपत्ति जनाउँदै विप्लवले सरकारको यस्ता निर्णय षडयन्त्रकारी र हास्यास्पद भएको टिप्पणी गरेको छ । जारी विज्ञप्तिमा विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले हामीमाथिको कारबाहीलाई चन्दामा लगेर जोड्नु गलत भएको र आफ्नो भ्रष्टाचारी अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल भएको जारी विज्ञप्तिमा उल्लेख छ । विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुनै विदेशी केन्द्रबाट पैसा नलिएको, कमिसन नखाएको भन्दै सरकारको पछिल्लो कदमप्रति रुष्ट बनेको विषय उल्लेख छ ।

काङ्ग्रेस, एमाले र भारतसँग प्रचण्डहरुले टाउको लतारेर क्रान्ति बेचेको आरोप विप्लवको छ ।