उपभोक्ता ठग्ने व्यवसायीबाट २५ लाख असुली

उपभोक्ता ठग्ने व्यवसायीबाट २५ लाख असुली


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा १०५ व्यवसायको अनुगमन गरी कारवाहीस्वरूप रु २५ लाख असुल गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा विभागले बुधबार पत्रकार सम्मेलन गरी गत कात्तिकदेखि लागू भएको नयाँ ऐन पालना गर्दै कारवाहीस्वरूप उक्त रकम असुल गरेको जनाएको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले गत असोजसम्मको अनुगमनमा अधिकृतले अनुगमनस्थलमा नै कारवाही गर्न मिल्ने व्यवस्था नभएको बताए । नयाँ ऐनअनुसार गत कात्तिकदेखि अनुगमन अधिकृतले गलत सावित गरे आवश्यकतानुसार रु पाँच हजारदेखि तीन लाखसम्म अनुगमनस्थलमा नै रकम असुल गर्न पाउने कानूनी व्यवस्था छ ।

उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने व्यवसायमा विभागले चालू आवमा दुई हजार ८०० व्यवसाय अनुगमन गर्ने लक्ष्य लिए पनि हालसम्म एक हजार ३८१ को मात्रै अनुगमन गरेको छ । गत आवमा भने विभागले काठमाडौँ उपत्यका र बाहिर गरी पाँच हजारको अनुगमन गरेको थियो । प्रदेश र स्थानीय तहमा अझै कानून नबनेकाले प्रभावकारीरूपमा बजार अनुगमन गर्न केही समस्या भएको विभागले जनाएको छ ।

उपभोक्ता जागरण कार्यक्रम

हरेक वर्ष मनाइँदै आएको विश्व उपभोक्ता अधिकार दिवस यस वर्ष पनि ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार : हामी सबैको सरोकार भन्ने’ मूल नाराका साथ मनाउने तयारी विभागले गरेको छ । सन् १९८३ देखि मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाउन थालिएको हो ।

दिवसकै अवसर पारी विभागले आज उपभोक्ता संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकाका कोटेश्वर, लगनखेल, महाराजगञ्ज, कलङ्की, बालाजु, चाबहिल, रत्नपार्क, कालीमाटी, नयाँ बानेश्वर, सातदोबाटो र भक्तपुरका विभिन्न स्थानमा उपभोक्ता जागरणसम्बन्धी कार्यक्रम गर्ने तयारी गरेको छ । आगामी चैत १ गते विभागले भने विशेष कार्यक्रम गर्ने बताइएको छ ।