हतारहतारमा तोकियो १३औँ सागको मिति

हतारहतारमा तोकियो १३औँ सागको मिति


  • श्रीविक्रम भण्डारी

नेपालले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजनाको जिम्मेवारी लिएको अहिले दुई वर्ष बितेको छ । नियमअनुसार प्रत्येक दुई वर्षमा सागको आयोजना गरिन्छ । सो नियमबमोजिम नेपालले २०७४ सालमा फागुनमा १३औँ सागको आयोजना गर्नुपथ्र्यो । तर, नेपालमा गएको महाभूकम्पका र खेलकुदका भौतिक पूर्वाधारमा पुगेको क्षतिका कारण तोकिएको समयमा १३औँ साग हुन सकेन । अहिले १३औँ सागको तोकिएको समय एक वर्षभन्दा बढी भइसकेको छ । यो अवस्थासम्म आइपुग्दा नेपाल सरकार र खेलकुदका सम्बन्धित निकायले १३औँ सागको आयोजनाप्रति ‘चुँ’ समेत गरेका छैनन् । साँचो रूपमा भन्नुपर्दा १३औँ सागको जिम्मेवारी लिएको नेपालले अहिलेसम्म एउटा बोर्ड बैठक बोलाउन सकेको छैन । यो अवधिमा दक्षिण एसियाली राष्ट्रले चाँडोभन्दा चाँडो १३औँ सागको मिति तोक्न अनुरोध गरे पनि सरकारले अनसुनी गर्दै आएको थियो । सरकारको यस्तो रवैयाका कारण १३औँ साग नेपालमा आयोजना हुने कुरामा समेत शङ्का पैदा भएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले मुलुकको एउटै मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ पूर्णरूपमा तयारी नभएसम्म १३औँ सागसम्बन्धी कुनै काम पनि नगर्ने अडान लिएका छन । सोही अडानअनुरूप मन्त्री सुनार १३औँ सागको आयोजनाको बारेमा अहिलेसम्म एक शब्दसमेत उच्चारण गरेका छैनन् । त्यस्तै इन्डोनेसियामा सम्पन्न १८औँ एसियाली खेलकुद प्रतियोगिताको सन्मुख बसेको ओलम्पिक कमिटी अफ एसिया (ओसीए)को बैठकमा अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री सुनारलाई बाइपास गर्दै सहभागिता जनाएका थिए । उक्त बैठकमा १३औँ सागको आयोजनामा नेपालले गरेको ढिलाइबारे चर्चासमेत चलेको थियो । सो अवसरमा श्रीलंका प्रतिनिधिले नेपालले गर्न नसक्ने भए १३औँ साग श्रीलङ्का तोकिएको समयमा गर्न तयार रहेको प्रस्ताव राखेका थिए । तर, अध्यक्ष श्रेष्ठले राज्यसँग कुनै छलफल नै नगरी १३औँ साग नेपालले गर्ने आफ्नो जिकिर राखेका थिए । यसपछि श्रेष्ठसँग आगो बनेका मन्त्री सुनारले श्रेष्ठसँगको सम्बन्धमा अझ दूरी बढाएका थिए । परिणाम दक्षिण एसियाली राष्ट्रले १३औँ सागको मिति तोक्न दबाब दिए पनि मन्त्री सुनारले कुनै चासो राखेका थिएनन् ।

तर, अहिले समयले कोल्टे फेरको छ । तिनै मन्त्री सुनारको अनुमति पाएर राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले सर्वोच्चद्वारा अवैधानिक घोषित ओलम्पिक कमिटीका पदाधिकारीको अगुवाइमा गत साता थाइल्यान्डको बैङ्ककमा सम्पन्न ओलम्पिक काउन्सिलको बैठकमा सहभागिता जनाएका छन् । तिम्सिना सहभागी उक्त काउन्सिलको बैठकले डिसेम्वर १ देखि १० सम्म काठमाण्डौंमा १३औँ सागको आयोजना गर्ने निर्णय गरेको छ । अब प्रश्न उठ्छ, राष्ट्रको प्रतिष्ठा गाँसिएको मुद्दामा कुनै कार्यकारी अधिकार नभएका उपाध्यक्ष तिम्सिनालाई मन्त्री सुनारले कसरी काउन्सिलको बैठकमा पठाए ? अर्को कुरा सर्वोच्चले अवैधानिक घोषित गरेको र कुनै सहकार्य नगर्नु भनेको ओलम्पिक कमिटीसँग कसरी सहकार्य गरे र किन अदालतको अपहेलना गरे त्यो गम्भीर विषय बनेको छ । काउन्सिलले राज्यको प्रतिनिधिको उपस्थिति चाहेको थियो भने सर्वप्रथम मन्त्री सुनार स्वयम्ले राज्यको प्रतिनिधित्व गर्नुपथ्र्यो । यदि मन्त्री कारणबस जानसक्नुभएन भने राखेपका कार्यकारी प्रमुख सदस्यसचिव केशवकुमार विष्टलाई उक्त बैठकमा पठाउनुपथ्र्यो । त्यो पनि अवैधानिक ओलम्पिक कमिटीको सिफारिसमा नभई सीधै काउन्सिलले खेलकुद मन्त्रालयलाई पत्राचार गरेको खण्डमा मात्र सम्भव हुन्थ्यो । यसर्थमा कि श्रेष्ठ ओलम्पिक कमिटीको सिफारिसमा कुनै पनि अन्तर्राष्ट्रिय बैठकमा सहभागिता दिनु भनेको त्यो सर्वोच्चको अपहेलना हुन्छ । तर, सर्वोच्चको फैसलालाई अनदेखी र अनसुनी गर्दै मन्त्रीले सुनारले काउन्सिलको बैठकमा तिम्सिनालाई पठाएर राज्यको कानुनको धज्जी उडाएका छन् । राज्यको कानुन बनाउने व्यक्तिले कानुनकै धज्जी उडाएपछि अब मन्त्री सुनारलाई कसले कानुनको कठघरामा उभ्याउने त्यो अहिले अहम् प्रश्न बनेको छ ।

आठौँमा समावेश खेलहरूको प्रदेश छनोट भइसक्दा पनि राष्ट्रिय प्रतियोगिताको मिति नतोकिँदा खेलाडीहरू अन्योलमा परेका छन् । यस्तो अवस्थामा अर्थात् आठौँको मिति तोक्न नसक्ने सरकारले १३औँ सागको मिति कसरी तोक्यो त्यो प्रश्नचिह्नको घेरामा परेको छ ।

ओलम्पिक काउन्सिलले जस्तोसुकै निर्णय गरे पनि सर्वप्रथम त्यसको जानकारी राज्यलाई गराउनुपर्छ । यसर्थमा कि राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दासमेत राज्यलाई जानकारी गराउनुपर्छ र प्रतियोगिताको लागि स्वीकृत लिनुपर्छ । तर, यहाँ त्यस्तो केही गरिएन, उल्टै हतारहतारमा मन्त्रालयका सचिव कृष्ण देवकोटा र परिषद्का उपाध्यक्ष तिम्सिनालाई साक्षी, किनारा राख्दै अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले १३औँ सागको मिति घोषणा गरे । मन्त्री सुनारलाई दुई दिन कुर्न सकेनन् । राज्यको अर्बौंको लगानीमा आयोजना हुने १३औँ सागको लागि खेलकुदमन्त्रीभन्दा सचिवलाई बढवा दिए । कारण जे पनि हुनसक्छ, तर के अब श्रेष्ठले १३औँ सागको मिति घोषणा गर्दैमा तोकिएको समयमा १३औँ सागको आयोजना हुन्छ त ? प्रश्न गम्भीर रूपमा उठेको छ । यसर्थमा कि यसभन्दा अघि पनि दुईपटक १३औँ सागको मिति सारणी भइसकेको छ । त्यसबेला राज्यले भौतिक पूर्वाधारको कारण देखाइएको थियो भने अब आर्थिक कारण देखायो भने अन्यथा मानिने छैन । श्रेष्ठले १३औँ सागको मिति घोषणा गरे पनि अहिलेसम्म राज्यले श्रेष्ठले तोकेको मितिमा कुनै प्रतिक्रिया नजनाउनु र मौनता साँध्नुले पनि यो कुरालाई पुष्टि गर्छ ।

प्राप्त जानकारीअनुसार दक्षिण एसियाली राष्ट्रहरूले १३औँ सागको मिति तोक्न दबाब दिएपछि श्रेष्ठले हतारहतारमा मिति तोकेको बुझिएको छ । १३औँ सागको लागि मिति तोक्न श्रेष्ठले मन्त्री सुनारसमक्ष हारगुहार लगाए पनि मन्त्रीले कुनै चासो दिएका थिएनन् । यही कारण निकै दबाब परेका श्रेष्ठले पछिल्लो समय परिषद्का उपाध्यक्ष तिम्सिनासँग साँठगाँठ बढाउँदै ओलम्पिक काउन्सिलको बैठकमा तिम्सिनालाई लान सफल भएका थिए । खेलकुदमा कार्यकारी अधिकार केही नभए पनि प्रधानमन्त्रीको शक्तिको आडमा खेलकुदमा प्रभाव जमाउँदै आएका तिम्सिनाले मन्त्री सुनारलाई समेत बाध्य पार्दै श्रेष्ठको सिफारिसमा बैंकक पुगेका थिए । जसलाई तिम्सिनाले आफूलाई सरकारको तर्फबाट प्रतिनिधिकोे रूपमा उक्त बैठकमा पठाएको खुलासा पत्रकार सम्मेलनमा सचिव ढकालबाट गर्न लगाएका थिए । बिचरा सचिवलाई के थाहा उनी जुुन पत्रकार सम्मेलनमा १३औँ सागबारे चर्चा गरिरहेका थिए त्यो पत्रकार सम्मेलन अवैधानिक ओलम्पिक कमिटीले आयोजना गरेको थियो । जहाँ उनलाई जान कानुनले समेत प्रतिबन्धले लगाएको थियो । तर, तिम्सिना र श्रेष्ठको चलखेलको अगाडि सचिव ढकालले आफू बलिको बोका भएको पत्तै पाएनन् । जानी–नजानी सर्वोच्चको फैसलाको अपहेलना गर्न पुगे, जुन सचिवजस्तो व्यक्तित्वको लागि असुहाउँदो थियो ।

साँचो रूपमा भन्नुपर्दा सन्निकट आएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अहिलेसम्म सरकारले मिति तोक्न सकेको छैन । आठौँमा समावेश खेलहरूको प्रदेश छनोट भइसक्दा पनि राष्ट्रिय प्रतियोगिताको मिति नतोकिँदा खेलाडीहरू अन्योलमा परेका छन् । यस्तो अवस्थामा अर्थात् आठौँको मिति तोक्न नसक्ने सरकारले १३औँ सागको मिति कसरी तोक्यो त्यो प्रश्नचिह्नको घेरामा परेको छ । यसरी राज्यको उपस्थितिको नाममा सचिव देवकोटालाई मात्र प्रस्तुत गर्दा र मिति तोकिदा १३औँ सागले आफ्नो गन्तव्य हासिल गर्ला– सोचनीय बनेको छ ।