नायक दाजुभाइ गण्डकी प्रदेशबाट छनोट

नायक दाजुभाइ गण्डकी प्रदेशबाट छनोट


बाग्लुङका दाजुभाइ सागर र किरण नायक प्रदेश ५ मा आयोजना हुने आठौँ राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पौडी खेलमा छनोट भएका छन् । फागुन २४ र २५ गते पोखरामा आयोजना भएको पौडी छनोट प्रतियोगितामा सागरले आफूले खेलेका सबै २०० मिटर व्यक्तिगत मिड्ले, १०० मि. फ्रिस्टायल, बटरफ्लाई, ब्याकस्ट्रोक र ब्रेस्ट स्ट्रोक गरी पाँच स्पर्धामा पाँच स्वर्णसहित पाँचौँ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन् ।

त्यस्तै उनका भाइ किरण २०० मिटर व्यक्तिगत मिड्ले, १०० मिटर ब्याकस्ट्रोक र ५० मिटर र १०० मिटर बटरफ्लाईमा दोस्रो स्थान हात पार्दै छनोट भएका हुन् । अन्य छनोट हुन सफल पौडी खेलाडीमा पुरुषतर्फ सिद्धान्त गुरुङ (कास्की), अर्जुन नेपाली (कास्की), अंकित क्षेत्री (कास्की), कुशल पाठक (स्याङ्जा), विदित पौडेल (कास्की), कुशल खनाल (स्याङ्जा), निश्चल श्रेष्ठ (कास्की), सुदत बुद्धाचार्य (कास्की), विनम्र वाग्ले (तनहुँ) र सलिप श्रेष्ठ (कास्की) रहेका छन् ।

यस्तै, महिलातर्फ सबै कास्कीका खेलाडी छनोट भएका छन् । जसमा रुवी तामाङ, जमुना गुरुङ, विरांगना खत्री, सविना कार्की, अंकिता क्षेत्री, आयुश्री पहारी र प्रियंका गुरुङ छन् ।

प्रतियोगिताको गण्डकी प्रदेश खेलकुद समितिका प्रमुख सम्पन्न श्रेष्ठले उदघाटन गरेका थिए । विजयी खेलाडीलाई युवा तथा खेलकुदमन्त्रीले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।