राहुल र पलिस्थाले विश्व च्याम्पियनसिपमा भिड्ने

राहुल र पलिस्थाले विश्व च्याम्पियनसिपमा भिड्ने


थाइल्यान्डमा हुने १६औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । मार्च १२ देखि २० सम्म बैंककमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्नेछन् ।

नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सहभागी हुने नेपाली चार सदस्यीय टोलीलाई फागुन २८ गते मंगलबार बिदाइ गरियो । खेलाडीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुईपटक नाम लेखाउन सफल दिनेश सुनारले बिदाइ गरेका थिए । नेपाली टोली फागुन २९ गते बुधवार बैंककतर्पm प्रस्थान गर्नेछ ।

च्याम्पियनसिपमा राहुलले ५७ केजीमुनि सेमिप्रोफेसनल र पलिस्थाले ३५ केजीमुनि एमेच्योरमा प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षकसमेत रहेका कक्षपतिले जानकारी दिए । टोलीको सहायक प्रशिक्षकमा उत्तम गुरुङ छन् । राहुलले अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा तीन स्वर्ण जितेका छन् भने पलिस्थाले दुई स्वर्ण पदक प्राप्त गरिसकेकी छन् ।