तेह्र लाखको घरमा गभर्नरको बास !

तेह्र लाखको घरमा गभर्नरको बास !


नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पेस गरेको सम्पत्ति विवरण शङ्कास्पद देखिएको छ । अघिल्लो आर्थिक वर्षमा पेस गरेको सम्पत्ति विवरणमा थपघट भए सोसमेत खुलाउनुपर्ने व्यवस्था भए पनि गभर्नर नेपालले २०७१ सालमा प्रस्तुत विवरणलाई यथावत् राखी यस अवधिमा आर्जित कमाइलाई उनले देखाएका छैनन् ।

सम्पत्ति विवरणमा ललितपुर उपमहानगरमा पाँच आना दुई पैसा जमिन चार लाख पचास हजारमा खरिद गरी तेह्र लाखमा घर निर्माण गरेको उनले देखाएका छन्, तर वडा नं. र कित्ता नम्बर खुलाउनुपर्ने महलमा मसी पोतेर नदेखिने बनाइएको छ । श्रीमती सुमन नेपालको नाममा रहेको उक्त घरजग्गा कहाँको हो सो लुकाउन खोजिएको केरमेट गरेबाट स्पष्ट हुन्छ । त्यस्तै, ललितपुर महानगरमै सुमन नेपालको नाममा एघार आना जमिन सात लाख रुपैयाँमा किनेको देखाइएको र त्यसको स्रोतका रूपमा तलब, विदेश भ्रमण, ऋण र पैतृक सम्पत्ति बिक्री गरेको भनी लेखिएको छ ।

उक्त जग्गाको पनि कित्ता नम्बर र वडा नम्बर मसी लगाएर मेटिएको छ । सुमन नेपालको नाममा ललितपुर महानगरमा एक–एक आना र एक–एक पैसा (दुई कित्ता) जमिन भएको सम्पत्ति विवरणमा उल्लिखित छ । यी जमिनहरूको पनि कित्ता नम्बर र वडा नम्बरहरू मेटिएका छन् र स्रोत पनि खोलिएको छैन । त्यस्तै दाइजो, नोकरी र पैतृक सम्पत्तिबाट प्राप्त भनी चालीस तोला सुन, तीन सय तोला चाँदी र हीराको सेट तथा औँठी रहेको पनि सम्पत्ति विवरणमा छ ।

त्यसैगरी माछापुच्छ्रे बैंकमा सात लाख हठहत्तर हजार तथा सिभिल बैंकमा ६ लाख सोह्र हजार नगद मौज्दात रहेको रकमको स्रोत पनि ‘पैतृक, विदेश भ्रमण र तलब भत्ता’ भनी उल्लेख गरिएको छ । सम्पत्ति विवरणमा गभर्नर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थामा आफू, सुमन नेपाल र शुभेच्छा नेपालको नाममा साधारण सेयरहरू रहेको उल्लेख गरेका छन् र त्यसको स्रोत पनि तलब–भत्ता बचत भनी देखाएका छन् ।

गभर्नर नेपालले प्रस्तुत गरेको सम्पत्ति विवरणको व्यहोरा हेर्दा यो झारा टार्ने प्रकृतिको मात्र देखिएको छ भने वडा नं. र कित्ता नं. उनले किन मेट्नुपरेको हो रहस्यको विषय बनेको छ ।

पुख्र्यौली घर पाल्पा भएका गभर्नर नेपालले पैतृक सम्पत्तिको विवरण भने देखाएका छैनन् ।