प्रचण्ड र सीके उस्तै ?

  • बबिता बस्नेत

सिक्किमका तत्कालीन प्रधानमन्त्री लेन्डुप दोर्जेे संसदमार्फत सिक्किमलाई भारतमा विलय गर्ने प्रस्ताव पास गरेपछि इन्दिरा गान्धीलाई भेट्न दिल्ली पुगे । उनलाई सधैँ बाहिरै लिन आउने प्रधानमन्त्री गान्धीले त्यस दिन धेरै बेरसम्म कुराइन् । लामो समयसम्म भेट नदिएपछि उनका राजनीतिक सल्लाहकारले इन्दिरालाई भने, ‘म्याडम, लेन्डुपले हाम्रा लागि त्यति ठूलो काम गरे, उनलाई यति लामो समय कुराउनु ठीक हुँदैन, चाँडै भेटिदिनु, उनी पर्खिरहेका छन् ।’ जवाफमा इन्दिरा गान्धीले भनिन्, ‘आफ्नो देशका लागि त्यतिसम्म गर्न सक्नेले हामीलाई के गर्छ ? आफ्नो देशलाई धोखा दिनेमाथि कहिल्यै विश्वास गर्नुहुँदैन, भनिदेऊ म आज उसलाई भेट्न भ्याउँदिनँ ।’

भारतीय कूटनीतिज्ञ बीएस दासले सिक्किम विलयसम्बन्धी आफ्नो पुस्तकमा यो कुरा लेखेका छन् । हाम्रो सानो मुलुकमा कुनै अन्य मुलुक मिलाउने या छुट्याउने खेल नेपालीको सोचभन्दा बाहिरको कुरा हो । तर, केही समययता राष्ट्र विखण्डनको गतिविधि दृश्यमा आएपछि यसप्रकारका गतिविधि बढ्न नदिनका लागि प्रयासहरू हुँदै आएका थिए । डा. सीके राउतको नाम यही सन्दर्भमा सुनिएको हो । सीके राउत राजनीतिक गतिविधिका कारण चर्चामा आएका व्यक्ति होइनन् । उनी लेन्डुपको भूमिकाका लागि अग्रसर पनि छैनन् । उनको उद्देश्य फरक र स्पष्ट छ, मधेसलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने ।

केहीअघिसम्म भए हामीले पनि यस्तो कुरा लेख्न मिल्छ कि मिल्दैन भनी सोच्नुपर्ने हुन्थ्यो, तर सुरक्षाकर्मीको भिड रहेकै ठाउँमा स्वतन्त्र मधेसको नारा लाग्दा नारा लाउनेहरूमाथि कुनै कारबाही नभएपछि यस्ता कुरा लेख्न, बोल्न मिल्ने रहेछ झैँ भएको छ । ‘मधेस इज इन न्यु कन्ट्री इन एसिया’ लेखेर सीके राउतलाई स्वागत गर्न बसेका उनका कार्यकर्तालाई सरकारले कुनै कारबाही नगरेबाट खुलेरै स्वतन्त्र मधेसको कुरा गर्ने ठीक कि दौरा, सुरुवाल, टोपीमा रहेर देश टुक्र्याउने खाका बनाउनेहरूलाई संरक्षण दिने ठीक भनी नागरिकस्तरबाट आफैँ मूल्याङ्कन गर्नुपर्ने स्थितिमा पुगेको महसुस भइरहेको छ ।

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति गलत भयो भनी सामाजिक सञ्जाल छ्यापछ्याप्ती होला भन्ने ठानिएको थियो, तर कम्युनिस्टहरूमा अचम्मको ढाकछोप नीति हुँदोरहेछ । कसैले पनि तुलना गर्न नमिल्ने थियो भनेको सुनिएन ।

प्रधानमन्त्री केपी ओलीले यही २०७५ साल फागुन २४ गते डा. राउतसँग गरिएको सम्झौता समारोहमा नेकपा नेता प्रचण्ड र सीके राउतलाई ‘उस्तै’ बताएपछि सोही दिनदेखि मनमा एउटा प्रश्नले ठाउँ लिएको छ– आफ्नै देशभित्र व्यवस्था परिवर्तन गर्नका लागि दश वर्ष युद्ध लडेका तत्कालीन माओवादी कमान्डर प्रचण्ड र देश विखण्डनका लागि खाकासहित देश टुक्र्याएर छुट्टै मुलुक बनाउने योजनामा अघि बढेका सीके राउत उस्तै हुन् ? कसरी उस्तै हुन् ? यो पङ्क्तिकार नेता प्रचण्डको सैद्धान्तिक विचारधाराको प्रसंशक या समर्थक कहिल्यै होइन, थिइनँ । तर, प्रधानमन्त्री केपी ओलीले मुलुकको पूर्वप्रधानमन्त्रीसमेत भइसक्नुभएका पुष्पकमल दाहाल प्रचण्डलाई सिके राउतसँग तुलना गर्दा अलि असहज लाग्यो ।

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति गलत भयो भनी सामाजिक सञ्जाल छ्यापछ्याप्ती होला भन्ने ठानिएको थियो, तर कम्युनिस्टहरूमा अचम्मको ढाकछोप नीति हुँदोरहेछ । कसैले पनि तुलना गर्न नमिल्ने थियो भनेको सुनिएन । कम्तीमा हिजोका माओवादीहरूबाट यसको प्रतिकार हुनुपर्ने थियो, तर सत्ताका अगाडि भोलि आफ्नो स्थान तलमाथि पर्ला कि भनेर होला शायद सबैले मौनता साँधेको देखियो । मानिसहरू न्यायिक छैनन् भन्ने कुराको उदाहरण यो पनि हो, हामीकहाँ सहीलाई सही र गलतलाई गलत भन्ने मान्छेको कमी छ । देश विखण्डनको अभियोगमा थुनामा रहेर सोही दिन रिहा भएका व्यक्तिसँग आफ्नै पार्टीका नेताले आफ्नो तुलना गरिदिँदा प्रचण्डलाई के महसुस भयो थाहा भएन, तर पक्कै पनि हीनताबोध भयो होला भन्ने अनुमान गर्न सकिन्छ ।

नेता प्रचण्डले जातीय राज्य बनाउने सपना देखाए पनि देशै टुक्र्याउन प्रत्यक्ष भूमिका निर्वाह गरेको देखिएको छैन । यता, हिंसात्मक क्रियाकलापमा भने माओवादी नै अगाडि हो । यद्यपि प्रचण्ड र सीके राउतबीच केही समानता भने नभएका होइनन् । मुलुकको आन्तरिक स्थितिमा तनाव पैदा गर्ने उद्देश्यलाई लिएर तुलना गर्दा दुवैमा समानता देखिन्छ । दुवैमा समुदायलाई प्रभावित पार्न सक्ने क्षमता छ, देखिन्छ । आफ्नो महत्वाकाङ्क्षाका लागि देशलाई दाउमा राख्ने क्षमतासँग तुलना गर्दै प्रधानमन्त्रीले ‘उस्तै’ भनी व्यङ्ग्य गर्नुभएको भए अलग कुरा हो, नत्र नेता प्रचण्ड सीके राउतसँग तुलना गर्न मिल्ने व्यक्तित्वचाहिँ होइन । तर, अहिले सीके राउतलाई स्वतन्त्र मधेसको परिकल्पना गर्न सक्ने वातावरण बनाउनमा भने माओवादीको हात छ । प्रचण्डको नेतृत्वमा रहेको माओवादीले जातीय र क्षेत्रीय सङ्घीयताको विजारोपण नगरेको भए मधेस, पहाड या भनौँ मुलुकको कुनै पनि भूभागमा रहेका मानिसले ‘स्वतन्त्र राज्य’को नारा लगाउने हिम्मत गर्ने थिएनन् ।

काम एउटा गरे पनि प्रधानमन्त्री ओलीको मनमा अर्कै कुरा भए बुझ्न सकिएन नत्र यो सम्झौताले सरकारको सम्मान पाउन देश टुक्र्याउने सपना देख्नुपर्छ भन्ने सन्देश दिएको छ ।

सरकार–सीके सम्झौतालाई लिएर अहिले विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । सरकारमा बस्ने, एमालेमा प्रधानमन्त्री ओली पक्षीय कार्यकर्ता र प्रधानमन्त्रीका सल्लाहकारहरूले गज्जब भयो, हुनैपर्ने काम भयो, धुनधानै भयो भनिरहेका छन् भने सर्वसाधारणले जनमतसङ्ग्रहमार्फत भोलि देश टुक्रिन सक्ने सम्भावनालाई नकार्न नमिल्ने बताउँदै दुःख व्यक्त गरेका छन् । सम्झौतापछि सीकेका कार्यकर्ताले देखाएको व्यवहार, लगाएको नारा, दिएको सुरक्षालगायतलाई हेर्दा परिस्थिति सरकार पक्षले भनेजस्तो सहज देखिँदैन । काम एउटा गरे पनि प्रधानमन्त्री ओलीको मनमा अर्कै कुरा भए बुझ्न सकिएन नत्र यो सम्झौताले सरकारको सम्मान पाउन देश टुक्र्याउने सपना देख्नुपर्छ भन्ने सन्देश दिएको छ ।

देशलाई माया गर्नेभन्दा घृणा गर्नेहरूले सम्मान पाउन थालेपछि यो मुलुकमा अब जे गरे पनि हुन्छ भन्ने भावना युवाहरूमा जागृत भयो भने आश्चार्य मान्नुपर्ने छैन । हिजो हतियार उठाएर प्रचण्डहरूले मान, सम्मान, पद प्राप्त गर्न सफल हुनुभयो, आज राष्ट्र विभाजनको सपना बोकेर सोहीअनुरूप अघि बढिरहेका व्यक्तिलाई प्रधानमन्त्रीले समान हैसियत दिएर सम्झौता गर्नुभयो, यस्ता दृश्यबाट युवा पुस्ताले के सिक्ने ? राज्यप्रति विद्रोही भावना जगाएर मानिसलाई एकजुट बनाएकै कारण प्रचण्ड–सीके उस्तै हुन भने अहिले सीकेसँग गरिएको सम्झौताबाट प्रेरित भएर ‘उस्तै’हरूको सङ्ख्या घट्ने होइन, बढ्ने देखिन्छ । उस्तै या फरक जे भए पनि देशलाई धोखा दिनेहरूको भविष्य भने लेन्डुपभन्दा फरक हुँदैन, जसको भौतिक मृत्यु हुनुभन्दा धेरै अगाडि नै निधन भइसकेको महसुस गरिन्थ्यो ।

प्रतिक्रिया