यसर्थ हामी दुखित भयौँ

यसर्थ हामी दुखित भयौँ


pathakmanch१९९० साल माघ २ गतेपछि ०७२ साल वैशाख १२ गते शनिबार ११:५६ मा दोस्रोपटक विनाशकारी भूकम्प नेपालमा आयो । ०७२ वैशाख १३ गते १ बजे र ०७२ साल वैशाख २९ गते आएका भूकम्प ठूला झट्काका थिए । यी तीनपटकको झट्काबाट भएको विनाशले करिब पाँच लाख नेपालीको वासस्थान बिग्रिएका, चर्किएको र भत्किएका खबर प्राप्त भयो भने करिब नौ हजारको हाराहारीमा नेपाली जनता भूकम्पबाट स्वर्गवास हुन पुगे । नेपालीको यस दुःखद् घडीमा सरकारले जनताप्रति देखाउनुपर्ने उद्धारको व्यवस्था पनि धेरै नै छिटो–छरिटो तवरले पु-याएको हो । राहतको कार्यक्रमहरू द्रूत गतिमा चलेको अवस्थामा जनताले सरकारको सहायता र सहयोगको अपेक्षा पनि ठूलै राख्दै आएका देखियो । बिस्तारै–बिस्तारै सरकार र गैरसरकारी संस्थाहरूले भूकम्पपीडितका अवस्थामा परेका जनताको नाममा अनधिकृत फाइदा उठाउन थालेका खबर पनि जनतामा उजगार हुँदै आयो । त्रिपाल वितरणमा हुन गएका धाँधली, असमान वितरणका कार्य व्यवस्थादेखि राहतका खाद्यान्न वितरणमा भएका अनियमितता र भ्रष्टाचारहरू पनि जनताले सुन्दै आएका हुन् । यति हुँदाहुँदै पनि आमनागरिकले सरकारको दायित्व र जिम्मेवारीलाई नकारात्मक सोचले भने हेरेनन् । भूकम्पको राहतमा भएका झिनामसिना त्रुटिहरूलाई पन्छाएर ठूला सहयोगमा भने अनियमितता र भ्रष्टाचारको प्रवृत्ति नहोस् भन्ने सदासयता पीडित जनताले राख्नु अस्वाभाविक पनि थिएन ।
यद्यपि, सरकारले राहतस्वरूप प्रदान गरेका रकम रु. १५,०००/– धेरै ढिलो मात्र पीडित जनताले प्राप्त गर्न सके । यसै अवस्थामा आफ्ना बिग्रेका, भत्किएका घरहरू कटान छटान गर्नेहरूको ज्याला–मजदुरी रकम पनि मनोपोली तवरले श्रमिकले लिने गरेको पाइयो । हुन त सरकारले मजुदरको श्रमिकको दैनिक ज्याला दर तोकिदिएको वा घरको बनोट र स्क्वायरफिटअनुरूप ठेक्कामा लिने दर कायम गरिदिएको भए यहाँ यो लेखबाट पुनरावृत्ति गरिरहनुपर्ने नै थिएन । अहिले त्यो भूतकाल भइसकेको छ ।
यथार्थमा सरकारसँग कुनै ठोस लक्ष्य र दृष्टिकोण नै छैन र भविष्यमा पनि राम्रो उद्देश्य लिने व्यक्तिहरूको खाँचो नै छ भनिदिँदा यहाँ अन्यथा मान्नुपर्दैन, किनकि सगोलमा रहेकाले पनि छुट्टिएर रहेका हौँ भन्दै रु. १५,०००/– रकम लिएका र घर नबिग्रेकाले पनि अन्नवस्त्रादी, बोराका बोरा चामल लिएका या राहतमा आएका खानेकुरा खाएको देखिएकै हो । एउटै व्यक्तिले पनि पाँच–६ थान त्रिपाल लिएका र कतिपयले भने एउटै त्रिपाल पनि पाउन असमर्थ भएका हुन् र रु. १५,०००/– लिनेले पनि राजनीतिक आस्थाले प्रेरित भएकाले निर्माण गरिदिएका जस्ताका ट्रष्टि (टडेला) प्राप्त गरेकै हुन्, यसरी दोहोरो फाइदा उठाउनेहरू पनि देखिए । त्यसले सरकारको र राजनीतिक दलको आस्थालाई उचाइमा भने पु-याएन ।
यदि सरकार लक्ष्य र दृष्टि भएको भए तत्कालीन अवस्थामा नै घटनास्थलमा पुगेका प्रहरी तथा नगरपालिकाका कर्मचारीमार्फत अवलोकन गरेका घर, गोठ हेरी तत्तत् स्थानमा पीडितकार्ड (प्रमाणपत्र) तथा परिवार संस्था तोकी सोही आधारमा राहत सुविधा उपलब्ध गराइदिनु श्रेयकर र बुद्धिमानी हुने थियो । यद्यपि अहिले हामीहरू सरकारले आगामी समयमा वितरण गर्ने घर निर्माण कर्जा र त्यसका आधारभूत मापदण्डबाट दुखित हुने नै छौँ भन्न सक्दछौँ, किनकि त्यति ठूलो रकम कतै दुरुपयोग नहोला भन्न पनि सकिँदैन र यो असम्भव र कपोलकल्पित हुने पनि छैन, किनकि यथार्थमा पूर्वकार्यहरूले सरकारको असक्षमता सावित गरिदिएकै छ । कालातीत कुरालाई (त्रिकालदर्शी) ऋषिमुनिबाहेक अरूले दृष्टिपात गर्न सक्दैनन् । एउटा उदाहरण यहाँ बताउन सकिन्छ । भूकम्प आउनुभन्दा अगाडि काठमाडौं उपत्यका भूकम्पीय जोखिम क्षेत्र भन्दै आइएकै हो । तसर्थ अगावै भूकम्पबाट बच्ने उपाय भनेर सचेतना कार्यक्रम रेडक्रसले चलाउँदै आएको पनि घामजतिकै छर्लङ्ग थियो । त्यस अवस्थामा साना–साना स्कुले नानीहरूलाई भूकम्प आउँदा बेन्च वा टेबुलमुनि बसेमा बचिन्छ, भनेकोमा गत १२–१३ गते भूकम्प आउँदा बाहिरका नानीहरू पनि घरका बेन्च, टेबुलमुनि लुक्न जाँदा दुर्घटनामा परेका सुनियो, त्यसैले यस्ता अदूरदर्शी र अपरिपक्व व्यवहारले हाम्रा संस्कृति, सभ्यता, मान्यता र नैतिकता नै ध्वस्त भएका देख्दा हामी दुखित भयौँ । कामना गरौँ ‘सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया सर्वे भद्राणिपश्न्यत दुःख मा भागत’ । यसै लक्ष्यलाई लिएर कार्यक्रम बनाऊँ र त्यसअनुरूप कार्यान्वयन गर्न लगाऊँ । देश अवश्यै उँभो लाग्दछ, अन्यथा झन्–झन् दुखित बन्दै जानेछाँै । यो निश्चया भया समयको चक्रलाई बुझ्दा झनै राम्रो ।
– यज्ञबहादुर कार्की