भरतमोहन र रवीन्द्रको सम्झनामा संयुक्त शोकसभा

भरतमोहन र रवीन्द्रको सम्झनामा संयुक्त शोकसभा


  • डिल्लीराम अम्माई, बेल्जियम

उपचारका क्रममा हालै निधन भएका पुर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी र फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेर दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रति आस्था राख्ने बेल्जियमस्थित नेपाली जनप्रगतिशील मञ्च र प्रवाशी नेपाली मञ्चले संयुक्त रुपमा श्रद्धान्जली कार्यक्रमको आयोजना गरेका छन् ।

आइतबार (१० मार्च) आयोजित श्रद्धान्जली कार्यक्रममा गैरआवासीय नेपाली संघबाट केन्द्रिय सचिव जानकी गुरुङ, युरोप संयोजक शिव बरुवाल, बेल्जियमका अध्यक्ष लोक दाहाल, महिला संयोजक हरि भट्टराई, पुर्वअध्यक्ष गंगाधर गौतम, जन प्रगतिशील मञ्चका चित्र सुवेदी, प्रकाश पौडेल, कृष्ण पौडेल, प्रवासी नेपाली मञ्चका नारायण अधिकारी, जन प्रगतिशील मोर्चाका विष्णु भुजेल, मेख गुरुङ, जनसम्पर्क समितिकी अध्यक्ष सीता सापकोटा त्यस्तै अन्य संघ–संगठनबाट गमबहादुर गुरुङ लगायतका वक्ताहरूले शोक मन्तब्यमार्फत दिवंगत आत्माको चीरशान्तिको कामना गरेका थिए ।

वक्ताहरूले दुवै नेतालगायत प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, मन्त्री अधिकारीका पिएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधनले सिंगो मुलुकलाई अपुरणीय क्षति पुगेको बताए । उनीहरूले पुरानो पुस्ताका स्थापित नेतामध्येका अगुवा नेता भरतमोहन अधिकारी नेपालको कम्युनिष्ट आन्दोलनमा समन्वयकारी नेताको छवि बनाउन सफल नेपालको कम्युनिष्ट आन्दोलनले जिउँदो इतिहास र अर्कोतर्फ रवीन्द्रको मृत्युबाट जनताले आशलाग्दो युवा नेता गुमाउनुपरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदूत लोकबहादुर थापाले १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका मन्त्री रवीन्द्र अधिकारी र अगुवा नेता भरतमोहन अधिकारीको निधनले संगठन र संघर्ष दुबैबाट खारिएको अत्यन्त जुझारु नेतृत्व गुमाएको बताए । उनले मुलुकको हवाई र पर्यटन क्षेत्रको विकासमा उहाँको योगदान स्मरण गर्दै मन्त्री अधिकारीको निधनले मुलुकले एउटा राम्रो सम्भावना भएको नेतृत्व गुमाएको बताए ।

प्रवासी मञ्चका महासचिव चन्द्र शर्माले सञ्चालन गरेको श्रद्धान्जली सभाको अध्यक्षता सोही मञ्चका अध्यक्ष बोधराज पौडेलले गरेका थिए । सो अवसरमा बिशेष कारणले नेपालमा रहेका जन प्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष जित लामाले पठाएको शोक श्रद्धान्जली पत्र कार्यक्रम संचालकद्वारा वाचन गरिएको थियो । शोकसभामा उपस्थित सबै अत्यन्त भावुक देखिन्थे ।