सिड्नीबाट विकासले भने ‘आउ नाचौँ..’

सिड्नीबाट विकासले भने ‘आउ नाचौँ..’


  • राजन घिमिरे, अष्ट्रेलिया

आफूले मन पराएको क्षेत्र या विधालाई निरन्तरता दिन देशमै रहनुपर्ने बाध्यता छैन भन्ने एक उदाहरण हुन् गायक विकास उप्रेती । मूख्य त चाहना र लगन नै हो भन्ने पुष्टि गर्दै प्रवासी जीवनमा पनि सिर्जना, दक्षता अनि आफ्नो प्रतिभालाई ओइलाउन नदिई निरन्तरता दिइरहेका गायक हुन् विकास । उनले अस्ट्रेलियाबाटै गीत संगीत विधामा नयाँ नयाँ सिर्जनाहरू निरन्तर प्रस्तुत गरिरहेका छन् ।

यसै क्रममा गायक उप्रेतीले अर्को नयाँ सांगीतिक प्रस्तुति ‘आउ नाचौँ…’ बजारमा ल्याएका छन् ।

सिड्नीमा रहँदै आएका युवा ब्यवसायी, समाजसेवी तथा गीतकार कपिल नेपालको शब्द र चर्चित संगीतकार शिखर सन्तोषको संगीत रहेको यस गीतको भिडियोमा अञ्जली अधिकारी र रञ्जित पौडेलको अभिनय रहेको छ ।

पैसा नै सब चिज नभएर खुसी, मनोरञ्जन पनि जीवनको अभिन्न पाटो हो भन्ने कथा बोकेको छ उक्त भिडियोले । ‘गीत भावनात्मक र सर्वप्रिय बनाउन हामी सबैले यथेष्ट कोशिस गरेका छौँ’, गीतकार कपिल नेपालले बताए । यसअघि कपिलकै शब्दमा रामकृष्ण ढकालले गीत गाएका थिए । ढकालले गाएको
‘धेरै सुनेँ धेरै देखेँ घर बनाउने कुराहरू…’ बोलको भूकम्प-गीत निकै रूचाइएको थियो ।