न्याय माग्दा मिल्यो ज्यादति

न्याय माग्दा मिल्यो ज्यादति


न्याय माग्न जिल्ला अदालतको ढोकामा पुग्दाप्रहरीको कुर्टाई खानु परेपछि हामी अत्यन्त मर्माहित भयौँ र पत्रिकामार्फत् यो दुखेसो गर्दैछौँ । झण्डै एक महिनाअघि रातमाटे-२ की ४० वरि्षया जानुका लामिछानेको घरभित्रै चुलेसी प्रहार गरी बिभत्स हत्या गरिएको थियो । सो घटनामा संलग्न रहेको आशंकामा पीडित पक्षले किटानी जाहेरी दिएपछि पक्राउ परी अनुसन्धान चलिरहेका केही अभियुक्तहरुलाई कारबाही नगरी त्यसै छोड्न लागेपछि पीडितका आफन्तले जिल्ला अदालत नुवाकोट परिसरमा नाराबाजि गर्नु अस्वाभाविक थिएन । किनकि, आफ्नो मान्छे मरपछि कस्तो पीडा हुन्छ भन्ने त भोग्नेलाई मात्र थाहा हुने कुरा भयो । मृतक जानुकाकी माइतीपक्ष चारघरे गाविसका र्सबसाधारणहरु एवम् मृतकको परिवार रातमाटे गाविस बडा-२ का वासिन्दाहरुले हत्या गरिएकी हत्यारालाई धरौटीमा जिल्ला अदालत नुवाकोटले छाड्न लागेकोमा आक्रोशित बनेका थिए । तर, पीडितको मर्म र भावना नबुझी चैनपुरवासीमाथि प्रहरीले अन्धाधुन्ध लाठी पो बर्षायो । किटानी जाहेरीमा परेकामध्ये एक जिवराज लामिछानेले त आफु जानकीको हत्यामा सरिक रहेको स्वीकार पनि गरिसकेका छन् । हत्यामा संलग्न रहेका भनी प्रहरीले अनुसन्धानमा लिएका अन्य व्यक्तिहरु रातमाटे गाविसकै विष्णु लामिछाने, रामेश्वर लामिछाने र रमेश लामिछाने पनि सँगसँगै सो अपराधका निम्ति गलिसकेकै हुन् । तर, तिनीहरुलाई के भनेर बिनाकारबाही छोड्ने धृष्ठता गरियो ? गुनासो गर्नुपरेको मूल कारण यही नै हो । तर, पीडितका आफन्तले ‘हाम्रो मान्छे मार्नेलाई हामी पनि त्यसै छोड्दैनौँ’ भन्दै अदालतको मूलढोकाबाट मुस्लोझैँ छिर्न खोज्नु पनि अलिकता गल्ती नै हो । तर, आफन्त गुमाउनु परेको पीडामा त्यो त्यत्ति अस्वाभाविक त थिएन । त्यसको व्यवस्थापन विचार पुर्‍याएर गर्नुपथ्र्यो । के प्रहरी भन्दैमा जनतामाथि ज्यादति गर्न पाइन्छ र ? प्रशासनलाई कसले दियो यस्तो अत्याचार गर्ने अधिकार –
– हरि अर्याल, राजु पण्डित, बुद्धिबहादुर राई लगायतका स्थानीयवासी, चारघरे, नुवाकोट

सुजाताको अहम्पूर्ण अभिव्यक्ति
‘घटना र विचार’को असार १५ को अङ्कमा प्रकाशित नेपाली काङ्ग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाको अन्तर्वार्ता अहम्पूर्ण, अशिष्ट तथा आपत्तिजनक देखिन्छ । उनले नेपाली काङ्ग्रेसले यतिबेला कुनै गतिविधि गरेको छैन र पार्टीमा योग्य पात्र नै छैनन् भन्दै पार्टीका आफूभन्दा माथिका शीर्ष नेताहरूलाई समेत होच्याएकी छिन् । आफू उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेकी हुनाले अन्तर्राष्ट्रिय मञ्चहरूमा बोलाइरहने र आफूलाई धेरै कुरा थाहा भएको घमण्ड गरेकी छिन् । तर, उनी सो पदको हैसियतमा स्वदेश वा विदेशमा विदेशीका सामु अङ्ग्रेजीमा भाषण गर्नुपर्दा मन्त्रालयका सचिव, सहसचिव वा सल्लाहकारले लेखिदिएका अङ्ग्रेजी शुद्धसँग उच्चारण गर्न नसकेर आफ्नो मात्र होइन, मुलुककै बेइज्जती गरेको तथ्य सर्वविदित छ ।
सुजाताले पिताजी गिरिजाप्रसादमाथि अनेकौँ दबाब दिई हैसियतभन्दा माथिको पद हत्याई अनावश्यक विदेश भ्रमण गरेर राज्यकोषको व्यापक हिनामिना गरेकी हुन् । शक्तिको दुरुपयोगद्वारा अकुत सम्पत्ति आर्जन गर्न पनि सफल भएकी छिन् । उनी सुडानको डार्फ भ्रष्टाचार काण्डकी प्रमुख योजनाकार तथा हिस्सेदार हुन् भनेर सबैले बुझेका छन् । यो मुद्दामा आफ्ना छोरीज्वाइँ बंगलादेशी रुबेल चौधरीको संलग्नता देखिएको र रुबेलले आफ्ने आडमा नेपालमा रही अनेकौँ अवैध धन्दा चलाउँदै आएकोमा अख्तियारले रुबेललाई निगरानीमा राख्न प्रहरीलाई निर्देशन दिएपछि आफू तानिने त्रासबाट अत्तालिएर रुबेललाई भगाएर बंगलादेश पठाइन् । सुडान काण्डमा आफ्ना परिवारको संलग्नता छ भन्नु ‘शान्तिप्रक्रिया भाँड्ने खेल’ हो भनेर बम्किन थालेकी छिन् । पार्टीको लाइनविपरीत जथाभावी ‘पंधर्ेर्नी ताल’मा बोल्दै हिँड्ने सुजातालाई पार्टीले कारबाही नगरेर कहिलेसम्म पुलपुल्याएर राख्ने हो ? यसको जवाफ सभापति सुशील कोइरालाले तत्काल दिनुपर्‍यो । यो आमकाङ्ग्रेसी कार्यकर्ताको आवाज हो ।
– आनन्द क्षेत्री, नयाँ बानेश्वर, काठमाडौ

कमलमार्गमा जबर्जस्ती रकम असुली
सम्पादकज्यू,
काठमाडौं महानगरपालिकाको कमलपोखरीमा पर्ने कमलमार्गमा पहिलेदेखि वडा नं. ३३ ज्ञानेश्वरको वडा कार्यालयबाट सडक सफा पार्ने र फोहोर उठाउने काम भइरहेको थियो । हाल असार ०६८ देखि बाहिरका मानिस ल्याई फोहोर उठाउनुलाई दोकानदार, घरवहालवाला, घरधनीलाई महिनाको तीन सय रुपैयाँ चन्द्रनाथ थपलिया, घननाथ ओझा, जनक, राजारामहरूले उठाउने गरेका छन् । यसमा हामीलाई फोहोर बाहिर फाल्छु भन्दाखेरि ‘जे-जस्तो तिमीहरू गर्र्छौ गर महिनाको तीन सय रुपैयाँ दिनैपर्छ’ भन्छन् । कमलमार्गका जनताबाट त्यति ठूलो रकम कसको आदेशले उठाएको हो भन्ने विषयमा अविलम्ब छानबिन गरियोस् र रकमको हरहिसाब सम्बन्धित ठाउँमा हेरियोस् ।
-शिव श्रेष्ठ
कमलमार्ग, कमलपोखरी, कामनपा-३३