तेस्रो नजर

तेस्रो नजर


pathakmanchदाताहरूसँग छ यसको जवाफ ?
प्रिय दाता मित्रहरू,
नेपालमा २५ अप्रिल २०१५ मा गएको भुइँचालोको सन्दर्भमा देखाइएको सहानुभूतिपूर्ण र असल भावको निमित्त हामी नेपाली तपाईं दाता राष्ट्रहरू, अन्तर्राष्ट्रय गैरसरकारी संस्था, परोपकारी संस्था आदिको ऋणी भएका छौँ । म एक नेपाली नागरिकको हैसियतमा स्वीकार गर्छु कि हाम्रा भ्रष्ट नेताहरूले समस्त नेपालीको भिखारी, दरिद्र, अविकसित, कुपोषित र अयोग्यजस्ता गलत छवि प्रस्तुत गरेका छन् । तर, हामी न दरिद्र छौँ न त अयोग्य, कुपोषित अनि भिखारी नै हौँ । यो हाम्रा भ्रष्ट नेताहरूले आफ्नो गोजी भर्न अन्तर्राष्ट्रिय समुदायमा पेस गरेको गलत रिपोर्ट मात्र हो ।
हो, हामी विकसित राष्ट्रहरूले परिभाषा गरेको ‘विकास’को दृष्टिले अविकसित छौँ, तर एक सजग नागरिकको नाताले यो विकास भन्ने शब्दको नेपाली वातावरण, नेपालको भौगोलिक साथै सामाजिक परिवेशको आधारमा पुनः परिभाषाको माग गर्ने मेरो अधिकार छ । र, म विगत ३० वर्षदेखि विकास शब्दको पुनर्परिभाषाको निमित्त आवाज उठाउँदै आएको पनि छु ।
विकास आफैँले ‘हुनैपर्ने’ भन्ने कुनै आधारभूत तत्वको माग राख्दैन । विकास बहुआयामिक र विषयहरूको अन्तरद्वन्द्व प्रकृतिको हुन्छ, अनि जनताको असीमित चाहना उत्प्रेरित गर्ने प्रक्रिया हो यो । एचपीआई, जीडीआई, जीईएम, एचडीआई आदि देखिने सूचकहरू त हुन्छन् नै, तर न्याय, शिक्षा, खुसी, सन्तुष्टिजस्ता आवश्यकताहरू यी सूचकले देखाउन सक्दैनन् । विकासका सूचकहरूको परिधिको छनोट न स्थायी निर्धारण गर्न सकिन्छ न त बाध्यकारी नै हुन्छ । नेपालजस्तो अल्पविकसित मुलुकको आवश्यकतालाई वास्ता नै नगरी बहुदा यी परिधिहरू विकसित राष्ट्रको सनकमा बदलिने गर्दछन् ।
नेपालीहरूले सामना गरिरहेको दुःखको सागर शासक, व्यापारी, उद्योगी, राजनीतिवाज, शैक्षिक संस्थान, स्वास्थ्य प्रतिष्ठानहरूको ब्रह्मलुटमा २५ अप्रिल २०१५ को भुइँचालो र लगातारको परकम्पले पनि सताइरहेको अवस्थामा बहसयोग्य कुरा भए पनि विकासका सूचकहरूबारे कुरा गर्ने सही समय होइन भन्ने कुरा म ठान्छु ।
अहिले हामीलाई पुनस्र्थापना र पुनर्निर्माणको निमित्त रकम चाहिएको छ, तै पनि तुरुन्त अगम्य कामको निमित्त केही पनि राहतकोषको निमित्त पूर्वसर्त स्वीकार गरेर तपाईंहरूजस्ता दाताबाट मागिनु अनुचित हो । जरुरतको बेलामा सहायता गरेको भनेर दाता समूहले सही या गलत जे गरे पनि आँखा चिम्लने भ्रष्ट, सत्तापिपासु राजनीतिवाजहरूको तमासाले नेपालीको बेइज्जत गरेको छ । यस सन्दर्भमा म निम्न कुराहरू दाता समूहसँग माग गर्छु ।
१. नेपालमा अनुदान दिएको तपाईंको पैसाको स्रोत के हो ? करदाताको पैसा दाताले आफ्नो खर्च गरेर जुन तरिकाले दुरुपयोग गरिँदै छ, यसो गर्न पाइन्न ।
२. अन्य साधन पनि सजिलै जान सक्ने स्थानमा पनि हेलिकोप्टर र अरू सुविधा प्रयोग, तलब आदिमा तपाईंको खर्चको कति प्रतिशत प्रयोग हुन्छ ?
३. जसलाई प्रदान गरिएको भनिन्छ त्योसम्म वास्तवमै कति प्रतिशत रकम पुग्छ, त्यो जानकारी दिनुहोस् ।
४. सहायता रकमको अधिकतम् उपयोगको निमित्त कार्यविधि कसरी निर्धारण गर्नुहुन्छ ?
५. कुनै पनि नाागरिकले सहजै देख्ने फजुलखर्चीले चुहावट नहोस् भनेर उचित हिसाबकिताब राख्नुपर्ने आवश्यकता औँल्याएको छ । म सरकारको साथै दाता सङ्गठनबाट पनि थप पारदर्शिता माग गर्छु ।
विश्व समुदायमा मिहिनेती, इमानदार र बहादुर भनेर चिनिने कहिले कुनै साम्राज्यको उपनिवेश नभएको सार्वभौम राष्ट्रको नागरिको हैसियतले म तपाईं दाता समूहहरूसँग माथिका कुराको उत्तर माग्न र निम्न कुराहरूमा प्रतिबद्धता माग्न कुनै हिचकिचाहट मान्दिनँ । यसले जनतालाई शासकको भ्रष्टाचारबाट बचाउन सहायता गर्नेछ ।
यसैगरी,
१. स्वास्थ्य उपचारको नाममा लुटिएको सबै रकम प्रधानमन्त्री सहायता कोषमा दाखिल गर्न माग,
२. ०४६ देखिको नेताहरूको भ्रष्टाचारको छानबिन गर्न उच्चस्तरीय शक्तिसम्पन्न आयोग गठनको माग,
३. सबै भ्रष्टलाई कडा दण्डको माग,
४. सबैको उचित स्रोतबाहेकका सम्पूर्ण सम्पति राष्ट्रियकरणको माग,
प्रिय दाता समूहहरू,
२५ अप्रिल २०१५ को भुइँचालोपछि पुनर्संरचना गर्न रकमको अत्यन्त आवश्यकता भएको बेलामा तपाईंहरूमध्ये कसैलाई यी प्रश्न र प्रतिबद्धता अनौठो लाग्न सक्छ । नेपालका भ्रष्ट नेताहरू र दाता समूहबीच विकसित भइरहेको अदृश्य सम्बन्धले यदि यो मौकामा पनि उल्लेखित जिज्ञाशाहरू शान्त गरिँदैनन् भने दाता समूहको पनि साख खसेर वर्तमानका नेपालका भ्रष्ट नेताको तहमा आउनेछ । कति रकम प्रभावितकोमा पुग्छ, कति भ्रष्ट राजनीतिवाजको गोजीमा र कति सहायता गर्ने संस्था या देशमै फर्कन्छ भन्नेबारेमा तपाईंहरू सबै जानकार हुनुहुन्छ । भ्रष्टाचार रोक्ने, पारदर्शिताको कुरा गर्ने दाता समूहहरूलाई मैले यो कुरा उठाएर धेरै मागेँ भन्ने मान्दिनँ । म आशा गर्छु कि भ्रष्टाचारविरोधी र पारदर्शिताको कुरा जनतालाई मूर्ख बनाउन मात्र उठाएको होइन भन्ने सावित गर्न पनि यी कुराहरूको खुलासा र यी प्रतिबद्धता आउने नै छ ।
तपाईंहरूको,
– कल्याणदेव भट्टराई
(भुइँचालो प्रभावित नेपालको ज्येष्ठ नागरिक)

दाता सम्मेलन र दाउरेको कथा
नैतिक, सामाजिक शिक्षामा तपाईं–हामीले एउटा दाउरेको कथा पढेका थियौँ । जसमा दाउरे एउटा ठूलो विपत्तिमा थियो । उसको कमाउने भन्नु नै एउटा बञ्चरो थियो । एकाएक दाउरा काट्दै गर्दा एउटा ठूलो पोखरीमा उक्त बञ्चरो खस्न पुग्छ । तब इमानदार र कर्मशील दाउरेले मद्दतका लागि हात जोडेर ईश्वरसँग हारगुहार गर्दै पुकार्न थाल्छ । त्यसबेला पोखरीबाट ईश्वररूपी दाता प्रकट हुन्छन् । दाता र दाउरेको छलफलबाट अन्ततः ईश्वरले बञ्चरो खोजिदिने निर्णय हुन्छ र पोखरीमा डुबुल्की मारेर ईश्वरले क्रमशः सुन, चाँदी र पित्तको बञ्चरो देखाएर दाउरेलाई विपत्तबाट उद्धार गर्न खोज्छ । तर, इमान र कर्ममा विश्वास राख्ने दाउरेले आफ्ना दाता ईश्वरका तीनवटै बञ्चरो लिन मान्दैनन् र ईश्वरले उसको पहिले पोखरीमा खसेको फलामको पुरानो बञ्चरो दिएपछि खुसी हुन्छ र उसलाई आफ्नो मौलिक औजारको प्रयोग विधिको ज्ञान र दक्षता थियो । यही कारणले गर्दा ऊ खुसी भएको थियो । दाउरेको इमानदारी देखेपछि दाता ईश्वरले उसलाई बाँकी तीनवटा बञ्चरो पनि उपहारस्वरूप दिन्छन् ।
यस कथासँग मेल खाने प्रासाङ्गिक घटना अहिले हाम्रो नेपालमा पनि चल्दै छ । संसारले विश्वास गरेको नेपाली भूमिमा र आमजनतामा अहिले त्यस्तै ठूलो विपत परेको छ । सरकारले आफ्नो स्वभावअनुसार यहाँ दाता सम्मेलन गरिसकेको छ । हाल विपत्बाट सामान्यीकरणतर्पm उन्मुख भई अभिभावकीय भूमिकामा नेपालीको हातमा कर्मठ र इमानदारी दाउरेको फलामको बञ्चरोजस्तै काम लाग्ने सहयोगको आवश्यकता छ । दाउरेको कथा यत्तिकै सकिँदैन । जब गरिब दाउरे घरमा पुगेपछि उसको पोखरीको घटना छिमेकमा बस्ने अर्को दाउरेले थाहा पाउँछ । उसको सफलतासँग ईष्र्या गर्दै ऊ पनि त्यही पोखरीमा पुग्छ र जानाजान आफ्नो बञ्चरो पोखरीमा फाल्छ । यो दुई नम्बरको दाउरेको मनोविज्ञान बुझेर दाता ईश्वरले उसको उद्धार गर्दैनन् । आशा छ यसपालिको दाता सम्मेलनमा पनि हामी दाउरे नम्बर १ नै हुनेछौँ, दुई नम्बरको दाउरेजस्तो बनावटी घटना घटाएर अरू राष्ट्रमा देखिएको असफलताको बाटोमा हिँड्न नदिने भई पूर्ण अभिभावकीय भूमिकामा हाम्रा दल, सरकार लागून् र हामी आमजनतालाई पनि इमानदार, कर्मठ दाउरेजस्तो बनाऊन् भन्ने शुभकामना छ ।
– दामोदर पौडेल
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज