तेस्रो नजर

तेस्रो नजर


pathakmanchपार्टी सभापतिमा रामचन्द्र पौडेल नै किन ? – सुभाष घिमिरे
अब त्यस्तो कुनै अनपेक्षित या अप्रत्यासित घटना भएन भने डेढ–दुई महिनाभित्रै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी हुनेछ । धेरै लामो समयदेखि अनिश्चय र निराशामा रुमल्लिइरहेको देशमा लोकतन्त्रको जग बस्नेछ । यो गहनतम् ऐतिहासिक जिम्मेवारी पूरा गरेर प्रधानमन्त्री सुशील कोइराला इतिहास निर्माण गर्दै हुनुहुन्छ । ऋषिमनका प्रधानमन्त्रीले संविधान बनेको भोलिपल्टै पदबाट राजीनामा दिने घोषणा गरिसक्नुभएको छ । यता राष्ट्रपति रामवरण यादवले पनि संविधान निर्माण हुनासाथ पदमुक्त हुने इच्छा व्यक्त गर्नुभएको धेरै भइसकेको छ । यो ऐतिहासिक दायित्व कुशलतापूर्वक निर्वाह गर्नुभएकोमा कृतज्ञतास्वरूप प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रप्रमुख राष्ट्रपतिको पदका लागि आग्रह गर्नु राष्ट्रको कर्तव्य हो भन्ने मलाई लाग्दछ ।
नेपाली काङ्ग्रेसको महाधिवेशनको मिति पनि नजिकिँदै छ । नयाँ रूपले विकसित परिस्थितिअनुसार नेपाली काङ्ग्रेसलाई अगाडि बढाउन एउटा सशक्त र बौद्धिक नेतृत्वको आवश्यकता छ । नेपाली काङ्ग्रेसको आगामी सभापतिका लागि उपसभापति रामचन्द्र पौडेल नै सबैभन्दा योग्य हुनुहुन्छ भन्ने धेरै काङ्ग्रेसजनको धारणाअनुरूप पङ्क्तिकारलाई पनि यस्तै लाग्दछ । आफ्नो आस्था र विश्वासका लागि आस्थाको बन्दी भएर करिब पन्ध्र वर्ष जेलजीवन बिताउनुभएका उहाँले तनहुँको विकट सतिस्वरा गाउँमा निम्नमध्यमवर्गीय परिवारमा जन्मिएर पनि जीवनका चुनौतीहरूको सामना गर्दै संस्कृत साहित्यमा शास्त्री र नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएको छ । सभामुख, उपप्रधानमन्त्री, संसदीय दलको नेता र गृहलगायत पटक–पटक विभिन्न मन्त्रालयको जिम्मेवारी लिएर पनि उहाँले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू र देशका अभिजात्य वर्गसँगको आफ्नो सम्मानजनक दूरी हमेसा कायम राख्नुभएको छ । चरित्रको शुद्धतामा विश्वास गर्ने उहाँले आफ्नो आदर्शमा कसैसँग कहिल्यै कुनै सम्झौता गर्नुभएन ।
‘गाउँबाट विचलित भएर अस्थिर भएको मनलाई गाउँमा नै आधुनिक सेवा र सुविधा पु-याई उतै फर्कौं–फर्कौं बनाउनका लागि म राजनीतिमा लागेको हुँ’ भन्ने अभिव्यक्ति दिने उहाँले आफ्नो उद्देश्य प्राप्तिका लागि विभिन्न राष्ट्रिय अभियानसमेत चलाउनुभएको छ । लोकतन्त्रको फल आर्थिक समृद्धिबाट मात्र जनताले चाख्न सक्छन् भन्ने कुरामा विश्वास गर्नुहुने उहाँ लोकतन्त्र र स्वतन्त्रता मान्छेको सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक जीवनपद्धतिको मार्गनिर्देशक बन्नुपर्दछ भन्ने कुरामा दृढ हुनुहुन्छ । निजी क्षेत्रलाई समेत प्रोत्साहित र आकर्षित गर्ने वातावरण बनाउँदै हाम्रोजस्तो विपन्न र गरिब मुलुकमा सरकारले आधारभूत शिक्षा, भौतिक संरचना, वातावरण संरक्षण, जनसङ्ख्या नियन्त्रण र गरिबी नियन्त्रणको जिम्मेवारी लिनुपर्छ भन्ने कुरामा उहाँ विश्वास गर्नुहुन्छ । वामपन्थी विचारधाराले प्रभाव जमाउन सक्नु हाम्रो गरिबी र पछौटेपन नै हो भन्ने मान्नुहुने उहाँ प्रचुर अधिकारसहितको विकेन्द्रीकरणको माध्यमबाट एउटा आममान्छेको स्थानीय सरकारमा पूर्ण पहुँच बनाउन नेपाली काङ्ग्रेस लाग्नुपर्दछ भन्ने कुरामा विश्वास गर्नुहुन्छ ।
खोज, अध्ययन र अनुसन्धानमा आधारित नीतिलाई महत्र्व दिने उहाँले ‘नेपालमा मानवाधिकारको स्थिति’ शीर्षकमा ‘महेन्द्रविक्रम शाह पुरस्कार’लगायत विभिन्न लेख र वादविवादमा धेरै पुरस्कार प्राप्त गर्नुभएको छ । ‘नेपाली काङ्ग्रेस के भन्छ ?’, ‘सत्याग्रह किन र कसरी ?’, ‘प्रजातान्त्रिक समाजवाद–एक अध्ययन’, ‘अभिशप्त इतिहास’, ‘कृषि क्रान्ति र समाजवाद’लगायत अनेकौँ रचनाका रचनाकार पनि हुनुहुन्छ उहाँ ।
बीपी कोइरालाको लोकप्रिय जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रद्वारा वि.सं. २०१७ मा चालिएको प्रजातन्त्र मास्ने कदमबाट विक्षुब्ध रामचन्द्र पौडेलले १६ वर्षको उमेरमा सुरु गर्नुभएको राजनीतिक यात्रामा कहिल्यै विश्राम लिनुभएन । जस्तोसुकै कठिन परिस्थितिमा पनि कहिल्यै हार खानुभएन । माओवादी हिंसाको उत्कर्षका बेला माओवादीको उद्गम स्थलमा नै गएर ललकार्ने हिम्मत राख्नुहुन्थ्यो उहाँ । आफूमाथि भएका अन्यायलाई सहेरै पनि पार्टी एकताको पक्षमा सतीसालझैँ सदा खडा रहनुभयो उहाँ । अहिले उहाँलाई सभापति निर्वाचित गरेर पार्टीको बागडोर सुम्पने अभिभारा आएको छ नेपाली काङ्ग्रेसका कार्यकर्ताको काँधमा ।
(लेखक नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्यान्ड च्याप्टरका निवर्तमान सभापति हुन् ।)