‘आँखाका भाषाहरू’ नियालेपछि…

  • लुमडी आचार्य

‘आँखाका भाषाहरू’ राजेन्द्र घिमिरे सागरको पहिलो साहित्यिक कृति गजलसङ्ग्रह । यसै वर्ष विमोचित प्रस्तुत पुस्तकमा ६२ वटा विभिन्न परिवेशका चर्चित गजल सङ्ग्रहित छन् । नेपाली साहित्यको माध्यमिककालीन ख्यातियुक्त युवा कवि, पहिलो गजलकार एवम् समालोचक मोतीराम भट्टबाट श्रीगणेश भएको यस विधामा कलम चलाउने स्रस्टाहरू निकै भेटिन्छन् अहिले । तीसको दशकयताका निकै चर्चित गजलकारहरूमध्ये थोरैको नाम उल्लेख गर्नु पनि यहाँ सान्दर्भिक लाग्छ– मनुब्राजाकी, ज्ञानुवाकर पौडेल, बूँद राना, रामबहादुर पहाडी, ललिजन रावल, घनश्याम न्यौपाने, रवि प्राञ्जल.. आदि । यस सूचीमा अब राजेन्द्र घिमिरे सागरको नाम पनि सूचीकृत हुनुमा आफू पनि साहित्यानुरागी भएकाले गर्वानुभूति हुने नै भयो ।

अरबी भाषाको शब्द गजल । गेय विधा । कविता विधाकै एउटा हाँगो । यसलाई प्रेमी–प्रेमिकाबीच मनका गुम्फनलाई रोचक ढङ्गले अभिव्यक्त गर्ने माध्यम मानिन्छ । यद्यपि प्रेमी–प्रेमिकाबीचको शृङ्गाररसले सजिएको चरम भावोद्गार मात्र नभएर अचेल सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक विविध विषय र परिवेशलाई उतार्दै गजलको सिर्जना हुने गरेको पाइन्छ । त्यसो त मोतीराम भट्टले भक्तिरसमा सजाएको ‘सङ्गीत चन्द्रोदय’मा प्रकाशित पहिलो गजलसङ्ग्रह उदाहरणीय छँदै छ ।

यहाँ चर्चा गर्न लागिएको राजेन्द्र घिमिरे ‘सागर’को गजलसङ्ग्रह ‘आँखाका भाषाहरू’मा डा. घनश्याम न्यौपाने ‘परिश्रमी’को सारगर्भित मन्तव्यले गजलको नालिबेलीबारे प्रस्टिएकै छ । चर्चित छन्द कविमध्येका श्रीहरि फुँयाल तथा यस कृतिको प्रकाशक संस्था गोल्ढुङ्गा साहित्य परिषद्का अध्यक्ष देवेन्द्र अर्याल ‘आँसु’ले पनि सङ्क्षेपमा गजलकार राजेन्द्रको सिर्जनात्मक चासो र आँखाका भाषालाई गजलमा सजाएर पाठकसमक्ष पस्कने क्षमता सम्बन्धमा आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएकै छ । संयोग पनि कस्तो मिल्दोजुल्दो ! नेपाली साहित्यिक धरातलबाट नियाल्दा देवेन्द्र अर्याल ‘आँसु’ राजेन्द्र घिमिरे ‘सागर’ । विन्दु, अविरल थोपाहरू नसुकी गतिमय हुँदै बग्दै गएपछि सिन्धु एवम् सागर ।

जुन–जस्ता विषय र परिवेशमा केन्द्रित रहेर लेखिए पनि गजल भन्नु गेय विधा । उर्दू भाषाको ‘बहर’ । यसको अर्थ छन्द । यो गेयात्मक भावोद्गार प्रेमभक्ति जुन रसमा व्यक्तिए पनि यसको हैसियत खण्डकाव्य हुँदै महाकाव्यमा पनि पुग्न नसक्ने होइन । भूमिकाकार न्यौपानेको अभिव्यक्तिजस्तै गजलकार घिमिरेले चार र पाँच दुई सेरमा सजाएका छन् गजलहरू, प्रस्तुत गजलसङ्ग्रहको नाम– ‘आँखाका भाषाहरू’मा आँखा नै दृष्टिगोचर हुँदा सामान्य पाठकलाई लाग्न सक्छ– भाषा त मुखबाट उच्चारण हुने शब्दहरू हुन् । जब कि आँखाका पनि भाषा हुन्छन् र !

किन्तु मनमा उब्जिने सबै विषय मुखबाट व्यक्त गरिहाल्न नसकिने र नमिल्ने पनि हुन्छन् । यहाँ पनि त्यस्तै भएको छ । सामाजिक विसङ्गतिलगायत विविध परिवेश र परिस्थितिमा साक्षात्कार हुँदा मन तथा हार्दिक सागरमा छचल्किएर रहेका गुम्फनहरूलाई पुस्तकमा सजाएर लोकार्पण गरिएको सिर्जनात्मक पुष्पको नाम ‘आँखाका भाषा’ निक्कै नै स्वाभाविक लाग्छ ।

६२ शीर्षकमा पस्किएका थुँगाहरूमध्ये शृङ्गार रसयुक्त २७औँ शीर्षकमा उद्गारित चार सेरयुक्त गजलांश हेरौँ–

गाजलीलाई आज हेरेर टोलाएँ
लामो लामो सास फेरेर टोलाएँ
पत्तै नपाई मेरो मुटुमै छिरिछ
मुटुभित्रै उसलाई बेरेर टोलाएँ

सुन्दरताको वयान गर्न सक्दिनँ
यो मनले उसलाई धेरै टोलाएँ
न अक्षर लेखँेछु न अङ्क लेखेँछु
यसै खाली कागज कोरेर टोलाएँ ।

यसरी गाजली पात्रको प्रगाढ सुन्दरतामा गजलकार लठ्ठिन पुगे पनि ऊसँग साक्षात्कार भएर मुखले व्यक्त गरिहाल्न नसकिनेजस्ता गुम्फित प्रणयानुभूतिलाई गजलका माध्यमबाट प्रस्तुत गरिएको रोचक कृति हो भन्ने अनुभूत हुन्छ । प्रस्तुत कृतिमा समन्वित विविध पात्रमध्येकी एउटी पात्र ‘गाजली’को चयन निक्कै स्वाभाविक लाग्छ । अब लय र सेरको सन्तुलन पनि मिलाउँदै गजलसङ्ग्रह एवम् रोचक साहित्यिक सामग्रीहरू पाठकसमक्ष पस्कँदै जाने क्रमलाई निरन्तरता दिइरहून् स्रस्टा घिमिरेले ।

प्रतिक्रिया