तेस्रो नजर

तेस्रो नजर


pathakmanchहाम्रो उद्देश्य ठगी गर्ने होइन
गताङ्कको घटना र विचारमा ‘भारतको नाममा ठगी प्रयास’ शीर्षकको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले छिमेकी मित्रराष्ट्र भारतको नाममा ठगी गर्ने प्रयास गरेका छैनौँ र त्यस्तो परिकल्पनासम्म गरिएको छैन । बरु दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई जनस्तरमा समेत मजबुत बनाउने र स्वास्थ्य क्षेत्रमा आपसी सहयोगको भावना सुदृढ एवम् व्यवस्थित तुल्याउने हाम्रो अभिप्रायः रहेको छ । नेपाल–भारत मैत्री अस्पतालमा भारतको आर्थिक संलग्नता नरहे पनि भावनात्मक सम्बन्ध जोडिएको छ र यसमा मित्रराष्ट्र भारतले कहीँ–कतै आपत्ति नजनाएको व्यहोरा अवगत गराउन चाहन्छौँ । यो अस्पताल निजी क्षेत्रका हामी केही व्यक्तिको अग्रसरता र लगानीमा स्थापना गरिएको अवश्य हो । अस्पतालको अनेररी अड्भाइजरमा भारतीय जनता पार्टीका सम्मानित नेता राव नरेन्द्र सिंह रहनुभएको छ । भारतका ख्यातिप्राप्त चिकित्सकहरूको सेवा लिएर हामीले नेपाली जनतालाई सहज सेवा उपलब्ध गराउन चाहेका छौँ । भारतको गणतन्त्र दिवसमा पनि हामीले स्वास्थ्य सेवासम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरेर मित्रराष्ट्रको दिवसलाई स्मरणीय बनाउने काम गर्दै आएका छौँ । हाम्रो कम्पनीमा हाल चवालीसजना सेयर सदस्य र नौजना सञ्चालक सदस्यहरू छौँ । कम्पनीभित्र कुनै किसिमको विवाद र झमेला नरहेको व्यहोरा पनि स्पष्ट गर्न चाहन्छौँ । प्रारम्भिक अग्रसरतामा हाम्रो साथ रहनुभएका सूर्य भुसालजी कानुनी तवरमा कम्पनीमा संलग्न नहुनुभएको भए पनि उहाँको साथ, सहयोग र सद्भाव निरन्तर पाइरहेका छौँ । हामी अस्पताललाई देशको एक मौलिक र विशेष स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास गर्न प्रतिबद्ध छौँ । वास्तविकता यस्तो हुँदाहुँदै पनि जनतामा भ्रम पर्ने किसिमको समाचार सार्वजनिक भएकोले हामी दुःखी हुँदै घटना र विचारजस्तो जिम्मेवार पत्रिकाले भविष्यमा यसप्रकारका भ्रामक समाचार सम्पे्रषण नगरोस् भन्ने कामना गर्दछौँ ।
– डा. श्याम खड्का (अध्यक्ष तथा प्रबन्धक निर्देशक), पवन पाठक (सञ्चालक)
नेपाल–भारत मैत्री अस्पताल प्रा.लि., काठमाडौं, नेपाल

कोही छ मिर्गौला खरिद गर्ने ?
श्री सम्पादकज्यू,
म नेपालजस्तो मानवता नभएका मानिसको बाहुल्य भएको देशमा कवि भएर जन्मेँ । कवि जन्मनु सभ्य देशमा गौरव मानिए पनि नेपालजस्तो ठाउँमा यसले खासै अर्थ बोकेको पाइँदैन । यहाँ समाजसेवाका नाउँमा डलरको खेती गर्ने तथा मानवअधिकारका नाउँमा मानिस खुइल्याउनेकै बाहुल्य देखिन्छ । पत्रकारिताका नाउँमा पत्रुकारिता छ । यहाँ खासै साहित्यकार पनि छैनन् । साहित्यकार भए त कोमल हृदय हुन्थ्यो । जे–जति कवि, लेखक देखिन्छन्, धेरैजसो चाटुकार छन् अर्थात् तिनमा स्वाभिमान छैन । यहाँको राजनीति त त्रूmर कसाईहरूको हातमा छ । नेपाल देश राम्रो भए तापनि राम्रा मानिसको अभावमा प्रदूषित र हेर्दा नै घृणा लाग्ने बनेको छ । यहाँ मान्छे मार्नेलाई पैसा दिइन्छ । माओवादीले १० वर्षसम्म पाशविक तरिकाले १७ हजार मान्छे मा-यो, उसैका सेनालाई राज्यले पाँच–पाँच लाखका दरले रकम दियो, एउटा पनि नेपालीले विरोध गरेन । उल्टै नेपालीले भोट दिएर सरकारमा पु-याए । मैले १७ वर्षसम्म कम्युनिस्टमा काम गरेँ, तर एउटा कुखुरो पनि मारिनँ । उल्टै बाउबाजेको श्रीसम्पत्ति स्वाहा भयो । दर्जनौँ मुद्दा लागे, अपहरणमा परेँ, तर नेपालभित्रका मानिसले सहानुभूतिसम्म राखेनन् । मेरो पढाइ पनि बिग्रियो, तर पनि स्वध्यायनको भरमा ज्योतिष (गणित) पढेँ, आयुर्वेद पढेँ, महाकवि देवकोटा पढ्दा विश्वसाहित्य नै पढ्न पुगियो । धेरै रकम खर्च पनि भयो । कालान्तरमा देवकोटाबारेको महाकाव्य पनि लेख्न पाइएन । झन्डै ३० वर्ष पत्रकारिता पनि गरेँ, छोटो समयमा लेख, कविता, गीत, मुक्तक, निबन्ध, कथा गरी २७ सय फुटकर रचना प्रकाशित भए, नौवटा पुस्तक र दुई वर्ष पाञ्चाङ्ग (पात्रो) पनि छापेँ, ज्योतिष पढ्दा विश्वका ८–१० वटा उत्कृष्ट ग्रन्थको अनुवाद पनि गरेँ । तर, कुनै पनि नेपालीले प्रकाशनका लागि सामान्य सहयोग पनि गरेनन् । न म सुकुम्बासभित्र परेँ, न राजनीति–पीडितमा । मैले जन्मेर न्याय पाएको थाहा छैन, कसैको माया, दया, स्नेह पाएको पनि थाहा छैन । सधैँ पीडा मात्र पिएको छु । ७–८ वर्षभन्दा बढी भाषामा काम गरियो । तर, सबैले ठगेका कारण म गरिबको गरिबै रहेँ । त्यसमा पनि प्रचण्ड र बाबुरामजस्ता झुटा नेताहरूले उपद्रो लोडसेडिङ गरेकाले ज्योतिष पेसा पनि टुट्यो । अहिलेको भूकम्पबाट बसिरहेको घरसमेत चर्किएर बेहालतमा बाहिर बस्नुपरेकाले गम्भीर समस्यामा परेको छु । यसअघिदेखि भारी मात्रामा ऋण लाग्दै गएको र उक्त ऋण तिनुपर्नुपर्ने बाध्यता आइपरेकाले दुई वर्षयतादेखि मिर्गाैला बिक्रीको सूचना जारी गरिरहेको छु । कमसे कम कसैले मिर्गौला किनिदिएका भए म ऋणबाट मुक्त भएर भाषा–साहित्यको काममा लाग्न सक्ने थिएँ । त्यसकारण फेरि पनि मिर्गौला वा अन्य कुनै पनि अङ्ग बिक्रीको सूचना जारी गरेको छु । योबाहेक मेरो कुनै विकल्प नभएको व्यहोरा अवगत गराउँछु ।
– महाकवि देवकोटाको एक मात्र अनन्य भक्त एवम् अभागी कवि रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
सम्पर्क ः ९८४१२८४६३८

मृतकको नाम फरक प-यो
सम्पादकज्यू, लोकप्रिय घटना र विचारको गताङ्क (१३ जेठ ०७२)मा प्रकाशित ‘वर्ष बित्यो तर राहत रकम अन्योलमै’ शीर्षकको समाचार पढ्न पाउँदा निकै खुसी लाग्यो । हामीजस्ता पीडित परिजनले घटना र विचाररूपी अभिभावक नै पाएको अनुभूति भएको छ । ०७१ वैशाख १७ गते अर्घाखाँचीको जगतमा भएको भयावह सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारले व्यहोर्नुपरेको पीडाका विभिन्न आयामलाई पटक–पटक पस्किदिएर यस पत्रिकाले ठूलो गुन लगाएको छ । तथापि, गताङ्कको समाचारमा उक्त दुर्घटनामा जीवन गुमाएका मेरा सहोदर भाइ नरेन्द्र बन्जाडे उल्लेख हुनुपर्नेमा भूलवश नवीन बन्जाडेको नाम प्रकाशित भएको अवगत गराउँदै उक्त भूलसुधार गरिदिनुहुन अनुरोध गर्दछु ।
– दामोदर बन्जाडे, सन्धिखर्क, चुत्राबेसी, अर्घाखाँची