ताँजे होमस्टेमा मार्सी चामलको भात र दुर्लभ कालो भट्टमासको स्वाद

ताँजे होमस्टेमा मार्सी चामलको भात र दुर्लभ कालो भट्टमासको स्वाद


  • छविलाल बगाले

ग्रामिण भेगमा होमस्टेको प्रचलन बढ्दो छ । स्थानिय पर्यटन प्रवर्द्धनमा यसले राम्रो सहयोग पनि पु¥याउँदै आएको छ । खासगरी व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे राम्रो विकल्प हो ।

त्यसो त होमस्टेको छुटै विशेषता पनि छ । आनन्द र मज्जा छ । फरक महत्व छ । होमस्टेमा पाहुना बनेपछि स्थानिय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न पाइन्छ । त्यस्तै, यसमा आत्मियता पनि मिल्छ । एउटै परिवार जस्तै भएर बस्न सकिन्छ होमस्टेमा । त्यसैले बिदामा कतै घुमघामको योजना बनाइरहेकाहरुलाई होमस्टे राम्रो विकल्प हो । होमस्टेले स्थानिय रहनसहन र संस्कृतिलाई नजिकबाट बुझ्ने मौका दिलाउँछ ।

विदेश पलायन र बसाइँसराई रोक्न होमस्टेको परिकल्पना

रोजगारीको लागि युवा विदेश पलायनको क्रम बढ्दो छ । यही क्रमलाई रोक्न पनि युवाहरुकै सक्रियता पनि बढ्दो छ । गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे चलाउने योजना अघि सारेपछि लमजुङ ताँजेका युवाहरु गाउँ फर्किने क्रम पनि बढ्न थालेको छ ।

युवा पलायनका कारण हिजोआज ग्रामिण बस्ती बिस्तारै युवाविहिन बन्ने क्रम बढ्दो छ । एकातिर सरकार बेरोजगारीलाई रोजगारी र भत्ता दिने आश देखाउँछ भने अर्कोतर युवाहरु साहुसँग ऋण लिएर बैदेशिक रोजगारीमा जाने गर्छन् । यो पिडा मुलुकभरीको साझा समस्या पनि हो । तर, यी सबै समस्यालाई पन्छाउँदै लमजुङका केही युवाहरु गाउँमै स्वरोजगार बन्ने बाटोमा अघि बढेका छन् । दोर्दी गाउँपालिका–६ ताँजेका स्थानीय युवाहरु गाउँमै होमस्टे संचालन गर्दै पर्यटन पदमार्गको निर्माणमा जुटेका छन् । प्रकृतिको बरदान पाएको ताँजे गाउँबाट बसाईसराँई र युृवा पलायनको क्रम बढेपछि स्थानीयहरु होमस्टेको अभियानमा जुटेका हुन् । अभियानसँगै स्थानीय आमा समुहले युवाहरुलाई साथ दिन थालेको ताँजे होमस्टेका अभियन्ता टकलाल घले बताउँछन् ।

दुर्लभ कालो भट्टमास र मार्सीे चामलको स्वाद

गाउँमा सडक निर्माणसँगै पर्यटकको आगमन बढ्न थालेपछि ५४ मेगावाट क्षमताको सुपर दोर्दी–ख जलविद्युत आयोजनाले पनि युवाको अभियानमा साथ दिएको छ । हिमचुली हिमालको काखमा रहेको मनोरम पर्यटकिय गाउँ ताँजेमा उत्पादन हुने अर्गानिक खानेकुराले यहाँसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित पार्ने गरेको छ । गाउँमै बसेर जलविद्युत आयोजनामा रोजगारी पाउने र होमस्टे संचालन गर्न पाउने भएपछि गाउँ फर्कने युवाहरुको क्रम पनि बढ्दो रहेको घले बताउँछन् । उनका अनुसार स्थानीयले गाउँमा उत्पादन हुने दुर्लभ कालो भट्टमास, उत्पादित तरकारी, लोकल कुखुरा, लोकल मार्सी चामलको भात र कोदोको परिकारले होमस्टेमा आउने पर्यटकलाई स्वागत गर्ने गर्दछन् ।

आन्तरिक तथा बाह्य पर्यटकका अलवा आफ्नै गाउँ छोडेर सहर वा विदेश भासिएकाहरूलाई पनि गाउँ फर्काउने अभियानमा गाउँपालिका पनि लागेको छ । गाउँपालिकाले होमस्टेका साथै युवा लक्षित कार्यक्रम संचालन गरेपछि स्थानीय युवाहरु हौसिन थालेको दोर्दी गाउँपालिका वडा नं ६ का वडा सदस्य यमबहादुर गुरुङ बताउँन् ।

सरकारी लक्ष्यलाई साथ दिने

ताँजे गाउँमा ५५ घरधुरी छ । जिप वा बसमा सदरमु्काम बेसीशहरबाट उदिपुर, नौथर, हिले, किर्तिपुर, सिमी हुँदै २ घण्टामा गाउँमा पुगिन्छ । गाउँ हुँदै हिमचुली हिमाल, मेमेपोखरी, गोरखा र लमजुङको सिमानामा रहेको दूधपोखरी पुग्न सकिन्छ । स्थानीय प्रोमु झरना, स्थानीय कला संस्कृति, भेषभुषा र अर्गानिक उत्पादन देखाएर २० लाख पर्यटक भित्र्याउने सरकारी प्रयासमा साथ दिने ताँजेबासीको योजना सह्रानिय छ । प्रदेश सरकारले पनि होमस्टेलाई १० लाख रुपैयाँसम्म दिने योजना अघि सारेको छ । न्यानो आतिथ्यताका माध्यमबाट गाउँको परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गर्ने सुपर दोर्दीत आयोजनाका निर्देशक अर्जुन गौतमको भनाई छ । गौतमका अनुसार होमस्टे अभियानमा साथ दिदैं आएको जलविद्युत आयोजनाले स्थानीय आमा समुहकोे भवन समेत निर्माण गरिदिएको छ ।

पर्यटनको मोह होटलभन्दा होमस्टेमा धेरै

जिल्लामा पर्यटनको मोह होटलभन्दा होमस्टेमा देखिएको छ । जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि पर्यटकहरु यसमा आकर्षित भएका छन् । पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्न थालेका छन् । अन्नपूर्ण पदयात्रा गर्ने पर्यटकका लागि प्रवेशद्वारको रुपमा रहेको लमजुङमा आन्तरिक र बाह्य पर्यटक समान रुपमा आउने गरेका छन् । जिल्लामा भित्रिएकामध्ये हजाराँै पर्यटक होमस्टेको मज्जा लिनकै लागि लमजुङ आउने गरेका छन् । जिल्लाका सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा रहेका सुविधा सम्पन्न होटलबाट आधुनिक सेवा सुविधा प्राप्त हुने भए पनि होमस्टेबाट परम्परागत सुविधा पाउने भएकाले अधिकांश पर्यटकले होमस्टेलाई नै गन्तव्य बनाउँदै आएका छन् ।

जिल्लाका घलेगाउँ, गाउँसहर काउलेपानी, घनपोखरा, नरुवाल, भुजङ, पसगाउँ, गिलुङ, सिउरुङ, खासुर, गहते, हिलेटक्सार, राइनास, ताघ्रिङको छापा, मिप्रा, सिंदुरे, पुरानकोटलगायतका एक दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालित छन् ।