गणेशकुमारी, शीलवती हुँदै धम्मावती

  • गौतमबुद्ध बज्राचार्य

‘आमा ! त्रिपिटक पढ्न मलाई बर्मा पठाउने होइन ? हेर्नुस् आमा ! म त एक दिन जसरी भए पनि बर्मा जान्छु, जान्छु । बर्मा गएर सम्पूर्ण त्रिपिटक सिकेर मात्र घर फर्कने छु ।’ (र वे थ्वँ महास्थवीर, तमीः छेत, धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी, विसं २०४७)

बर्मेली भिक्षु र वे थ्वँ महास्थवीरले धर्मकिर्ती विहारका प्रमुख धम्मवती गुरुमाँको बौद्धधर्मको ग्रन्थ त्रिपिटकको अध्ययनका लागि गर्नुभएको सङ्घर्षशील जीवनीमा आधारित बर्मेली भाषामा लेखिएको पुस्तक ‘तमी : छेत्’ बाट उद्धृत गरिएको हो । नेपाल भाषामा यसको अर्थ ‘योम्ह म्हयाय’ (नेपालीमा स्नेही छोरी) हो ।

चौध वर्षका उमेरदेखि नै बुद्ध धर्मप्रति अटल आस्था राख्नुभएका धम्मवती गुरुमा अर्थात् गणेशकुमारी शाक्यको विश्वप्रसिद्ध बौद्धग्रन्थ ‘त्रिपिटक’ पढ्ने ठूलो अभिलाषा थियो । बुद्धको जन्मस्थल नेपालमा त्रिपिटक पढ्ने व्यवस्था थिएन । त्रिपिटक पढ्न निकै टाढाको मुलुक बर्मा (हाल म्यान्मा) पुग्नुपथ्र्याे । त्यसका लागि उहाँ भारतको आसामबाट आठ दिन घनघोर जङ्गलको यात्रा गर्न बाध्य हुुनुभयो ।

म्यान्मा गएर बौद्ध धर्मको अध्ययन गर्ने कल्पनामा डुब्नुभएका गणेशकुमारी बरोबर आफ्नी आमासँंग म्यान्मा पठाउन ढिपी गरिरहन्थिन् । बर्मी भिक्षु र वे थ्वं महास्थविरले बर्मेली भाषामा तिनै धम्मावती गुरुमाको जीवनीमा आधारित भई लेख्नुभएको यो उपन्यास नेपाली तथा नेपाल भाषामा उपलब्ध छ । नेपाल संवत् १०९० मा भिक्षु ज्ञानपूर्णिक महास्थविरबाट बर्मेली भाषाबाट नेपाल भाषामा अनुवाद भएको यो पुस्तक बौद्धविद्वान् मोतीकाजी शाक्यले नेपाल संवत् १११० मा नेपाली भाषामा अनुवाद गर्नुभएको हो । नेपाली भाषामा ‘स्नेही छोरी‘ र नेपाल भाषामा ‘योम्ह म्हयाय’ नाम दिइएको सो पुस्तक २२ अध्यायमा विभाजित छ ।

उपन्यास अरु साहित्यिक उपन्यासजस्तै सामान्य भने होइन । बौद्धधर्म तथा त्रिपिटकसँग जोडिएको मात्र नभई एउटी कलिली केटी तथा उनको सङ्घर्षशील जीवनको गाथा यसमा छ । नेवार जातिकी एउटी सानी सोझी केटीको ओजपूर्ण साहसयात्रा यसमा छ । म्यान्मा मानिपो (नेपाली केटी) का नामबाट परिचित धम्मावतीले ठूलो परिश्रम तथा अध्ययनपछि ‘शासनाध्वज धम्माचरिय’(बुद्धशासनको ध्वजा फरफराउनमा सक्षम) उपाधि प्राप्त गर्न सफल हुनुभएको थियो । सन् १९६२ डिसेम्बर २ मा रङ्गुनको गभायीस्थित सिरिमङ्गल भूमिस्थलको छैटौँ संगायन महापासाण गुफामा तत्कालीन संयुक्त राष्ट्र बर्माको क्रान्तिकारी सरकारद्वारा गठित तक्षशिला समितिको आयोजनामा पाली तक्षशिला आचार्य परीक्षा सम्बन्धी सभामण्डलबाट शासनाध्वज धम्माचरिय (बुद्धशासनको ध्वजा फरफराउनमा सक्षम) उपाधि प्राप्त गर्नुभएका विदेशी अनगारिका धम्मावतीलाई त्यहाँको जनपरिषद्ले अभिनन्दन गरेको थियो ।

सन् १९५२ सेप्टेम्बर २३ मा खेमाराम विहारमा प्रवेश गर्नुभएका धम्मवतीले सद्धम्मपाल परीक्षामा प्रथम श्रेणीमा प्रथम, सन् १९९४ मा अभिधम्म तेस्रो कक्षा, सन् १९५५ मा सरकारी कक्षा प्रथम, सन् १९५६ मा सरकारी द्वितीय कक्षा, सन् १९५७ मा सुसमाचार प्रथम कक्षा र सन् १९५८ मा सरकारी तृतीय कक्षामा सफलता पाउनुभएको थियो । उहाँले पालि साहित्यको सर्वोच्च शिक्षा शासनध्वज धम्माचरिय परीक्षा दिनुभएको थियो ।

कृतिमा गणेशकुमारीकी आमा हीरा थकुँमा आफ्नी छोरीले थेरवादी बुद्धधर्मको गहिरो अध्ययन गर्न पाओस् भन्ने चाहना भए पनि नेपालमा थेरवादी बुद्धधर्मको अध्ययन गराइने व्यवस्था नभएकाले थेरवादी बुद्धधर्मको अध्ययन गराउन एक मात्र आफ्नी छोरीलाई बर्माको अनगारिकाराममा पठाउने व्यवस्था गरिदिनु भएको हो ।

नेपालमा राणा शासनको कठोर युगमा विसं २००६ जेठ (सन् १९५० मे १६ ) मा आफ्नै घरमा विद्रोह गरी म्यान्मा जानुभएका उहाँले त्यहाँ पुगेर बुद्धधर्मको महत्वपूर्ण ग्रन्थ त्रिपिटकको गहन अध्ययन गर्नुभएको हो ।

साहसिक यात्रा

मुसुलधारे वर्षाका बीच घरबाट निस्कनुभएका गणेशकुमारी चन्द्रागिरि पर्वत शिखरको पैदल यात्रा गर्दा वर्षा र हिलाम्य बाटोका कारण कठिन थियो । दाजु मानकाजीको सहयोगमा भीमफेदी बजार पुग्नुभएका गणेशकुमारी भीमफेदीका द्वारिकादास मानन्धरसहित अरु सहयात्रीसँंग पैदल भारतको कुशीनगर पुग्नुभयो ।

कुशीनगरको बर्मी विहारमा बर्मी भिक्षु धम्माबुध र नेपाली भिक्षु बुद्धघोषसंँगको शिष्टाचार भेटपछि गणेशकुमारीले ‘बुद्ध शासनमा शीलवती हुनेछु र त्रिपिटकको अध्ययन गरी ग्रन्थधर हुनेछु’ भनी महापरिनिर्वाणको मूर्ति अगाडि सङ्कल्प गर्नुभयो । बुद्धको महापरिनिर्वाणपछि ५०० वर्षसम्म बुद्धपूजा गर्ने प्रचलन नभएको स्थविर ऊ धम्माबुधबाट गणेशकुमारीले थाहा पाउनुभयो । बुद्ध जीवनीसँग सम्बद्ध बोधिवृक्ष, धर्मचक्र, चैत्य, हात्ती, घोडा, सिंहजस्ता प्रतीकलाई पूजा गरेर बुद्धप्रति श्रद्धा व्यक्त गर्ने चलन थियो । बर्माको मोलमिनस्थित खेमाराम नामको अनगारिकारामबाट गणेशकुमारीलाई बुद्धधर्म पढ्न आउन बोलाहट भएको दुई महिनापछि आषाढ पूर्णिमादेखि आश्विन पूर्णिमासम्म भिक्षुहरुको वर्षावास शुरु भएकाले धम्मावतीले कुशीनगरमै पाली भाषा र बर्मी भाषाको अध्ययन गर्नुभयो ।

त्यसैबेला गणेशकुमारी गृहस्थरुप त्यागी शीलवती हुनुभयो । आफ्नो सुन्दर कपाल गणेशकुमारी आफैँले काटेपछि उहाँले साथीहरु मनोहरादेवी तथा शुभलक्ष्मीको कपाल पनि काटिदिनुभयो । स्थविर धम्माबुधबाट अष्टशील ग्रहण गराइसकेपछि गणेशकुमारीलाई ‘धम्मावती’, मनोहरादेवीलाई ‘मागधी’ तथा शुभलक्ष्मीलाई ‘माधवी’ नामकरण भयो । शाक्यमुनि तथागतको पालामा प्रजापति गौतमीको अथक प्रयास र आनन्द स्थविरको निःस्वार्थ प्रार्थनाले स्त्री जातिले पनि भिक्षुणी हुन पाउने अवसर पाएका थिए । भिक्षुणी शासन बुद्ध संवत् ४०० पछि लोप भएको अनुमान छ ।

बर्माको मोलमिनस्थित खेमाराम नामको अनागारिकारामबाट गणेशकुमारी, मनोहरादेवी र शुभलक्ष्मीलाई बौद्धधर्म पढ्न बोलाहट भएको दुई महिना हुँदा पनि राहदानी बन्न नसकेका कारण उहाँहरु बर्मा जान पाउनुभएको थिएन ।

आसाम–बर्मा कठिन यात्रा

भारतको नागाल्याण्डको बाटो गरी पैदल नै स्थविर धम्माबुध तथा शीलवतीले स्यान जातिका यात्रु बाटामा भेट्नुभयो । जाडोयाममा निकै चिसोका बीच दिनभरिको हिँडाइपछि जब साँझ पर्दै गयो घनघोर जङ्गलमा जङ्गली जनावरको सन्त्रास बढ्न थाल्यो ।

बुद्ध गुण, धर्म गुण, सङ्घ गुण स्मरण गर्दै सूत्रहरु पाठ गर्दै यात्रा गरिरहेका धम्मवतीसहितका यात्रुको राति ठूलो चट्टानको खोँचमा रहेको प्राकृतिक ओढारमा बास बसेका बेला बाघसंँग जम्काभेट भयो । तेस्रो दिनको यात्राको क्रममा चराचुरुङ्गीसँग खेल्दै अघि बढिरहेका बेला एक्कासि एक्लै हुँदा शीलवतीको जम्काभेट अजिङ्गरसँग भएको थियो । अनेकानेक दुखकष्ट झेलेर, थुप्रै जङ्गल पार गर्दै कयौँ पहाड–पर्वतको उकाली ओराली गर्दै थप दुई दिन दुई रातको समय मानवरहित इलाकामा बिताएपछि तेस्रो दिन मिचिना शहरमा बास बस्न पाइन्छ कि भन्ने आशामा रहेका बेला अनकण्टार जङ्गलमा बाटो बिराएपछि झण्डै ६ घण्टाको हिँडाइ खेर गयो । बाटामा खतरनाक झिँगा र लामखुट्टेको टोकाइ सहँदै शीलवती र उहाँका सहयात्री मिचिना, रङ्गुन हुँदै बर्माको तेस्रो ठूलो शहर मोलमिन पुगे । यस शहरको शिरमा नागवीस पर्वतमाला र थुप्रै बौद्धविहार छन् । सो पर्वतमा रश्मिसमान सुनौलो चमकयुक्त च्याँइतल्लान चैत्य र महाभ्यात नामक बुद्धमूर्ति स्थापना गरिएको छ । त्यस टाकुरामा खेमाराम नामको शीलवती विहार छ, जहाँ धम्मावतीले त्रिपिटकसम्बन्धी उच्च शिक्षा हासिल गर्नुभएको थियो ।

सन् १९५२ सेप्टेम्बर २३ मा खेमाराम विहारमा प्रवेश गर्नुभएका धम्मावतीले सद्धम्मपाल परीक्षामा प्रथम श्रेणीमा प्रथम, सन् १९९४ मा अभिधम्म तेस्रो कक्षा, सन् १९५५ मा सरकारी कक्षा प्रथम, सन् १९५६ मा सरकारी द्वितीय कक्षा, सन् १९५७ मा सुसमाचार प्रथम कक्षा र सन् १९५८ मा सरकारी तृतीय कक्षामा सफलता पाउनुभएको थियो । उहाँले पाली साहित्यको सर्वोच्च शिक्षा शासनध्वज धम्माचरिय परीक्षा दिनुभयो । सन् १९६२ डिसेम्बर २ मा रङ्गुनको गभायीस्थित सिरिमङ्गल भूमिस्थलको छैटौँ सङ्गायन महापासाण गुफामा म्यान्माको क्रान्तिकारी सरकारद्वारा गठित तक्षशिला समितिको आयोजनामा पाली तक्षशिला आचार्य परीक्षासम्बन्धी सभामण्डलबाट शासनाध्वज धम्माचरिय (बुद्धशासनको ध्वजा फरफराउनमा सक्षम) उपाधि प्राप्त गरेकी विदेशी अनगारिका धम्मावतीलाई त्यहाँको जनपरिषद्ले अभिनन्दन गरेको थियो ।

rss

प्रतिक्रिया