आफ्नै कुकुर घाँडो

आफ्नै कुकुर घाँडो


  • अर्जुनराज पन्त

गर्ला भनी घरको रक्षा पालेँ कुकुर मैले
केको गर्नु रक्षा हजुर घाँडो भा’छ यैले
दुई घरको कलो जुठो खाँदा मीठो मानी
त्यही भएर बिग्रो कि खै यो कुकुरको बानी

कुन कलोमा बेगार पऱ्यो अचम्मै पो भा’छ
निस्वार्थी त्यो प्राणी पनि स्वार्थी हुँदै गा’छ
घरै फोर्ने चोर आउँदा टाँडमुनि लुक्छ
कलो खाने बेला भए सेवा लाउन भुक्छ

अनायसै भुक्यो आज बिघ्न कतै भो’कि
बिरामी ती बुढी आमा बढ्यो कि खै खोकी
जर्फराउँदै उठेँ राति हेरेँ तलमाथि
के भएर भुक्यो भन्दै अँधेरीको साथी

देखाउँछ केही जस्तो गरी वरिपरि घुम्यो
चम्रे पुच्छर डोलाउँदै खाली भाँडो सुँघ्यो
हन्तकारी शान्त पार्न कलो थपेँ मैले
के भएर यस्तो गर्छ सोच्न थालेँ यैले

भुक्नै छाड्यो स्याललाई देख्दा साधु देख्दा भुक्छ
कलो खान सेवा लाउँछ अरू बेला लुक्छ
कुखुरा चोर्ने स्यालसँग साख्खै हुन जान्छ
उनले फाल्या टाउको खुट्टा मीठो मानी खान्छ

टोलैभरका कुकुरको नाइकेजस्तो गरी
सबै कुकुर हिँड्दा र’छन् उसका वरिपरि
स्यालले फाल्या खुट्टा खाँदा नभरिएर पेट
उसको कलो खाँदा र’छन् हुँदा जम्मा भेट

वनकुकुर र घरकुकुरको हुँदा आज दोस्ती
यिनको रै’छ मोजमस्ती मलाई दिए सास्ती
अरू पाल्ने जिम्मासमेत लेको र’छ अहिले
खेद्छु अब यस्तो डाम्नो पल्दिनँ भो मैले !