बलात्कारपछि हत्या गरिएकी निर्मलाका बुबाआमाद्वारा धर्ना स्थगन

बलात्कारपछि हत्या गरिएकी निर्मलाका बुबाआमाद्वारा धर्ना स्थगन


बहुचर्चित निर्मला पन्त बलात्कार तथा हत्या काण्डबारेको चर्चा र चासो सेलाइसकेको छैन । सरकारको आलोचना गर्नेहरुका लागि यो विषय एक महत्वपूर्ण मुद्दा बनेर रहेको छ । कतिपयले यसलाई जबर्जस्ती राजनीतिक रुप दिएर आवश्यकताभन्दा बढ्ता चर्काउन खोजेको आरोप सरकारी पक्षले लगाउँदै आएको छ । निर्मलाका बुबाआमाले पनि अपराधीलाई कारवाहीको माग गर्दै निरन्तर धर्नामा रहेकाले मामला चर्काउने पक्षका लागि यो मसलाकै रुपमा रहेको थियो ।

यसैक्रममा निर्मलाका बाबुआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गरेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले शुक्रबार धर्ना स्थगन गरेका हुन् ।

गत कात्तिक २५ गतेदेखि स्थानीय नागरिक सङ्घर्ष समितिको पहलमा निर्मलाका बाबुआमा जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना बसेका थिए ।

धर्ना छोडे पनि छोरीको हत्या भएको सात महीना बितिसक्दा पनि सरकार गम्भीर नदेखिएको निर्मलाका बुबा यज्ञराज पन्तले गुनासो पोखेका छन् । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टलाई ज्ञापनपत्र बुझाउँदै पन्तले घटनाको प्रमाण मेटाउने प्रहरी कर्मचारीलाई उन्मुक्ति दिने वातावरण सिर्जना गर्ने गिरोह सक्रिय रहेको बताएका राससले जनाएको छ ।

प्रमाण मेटाउनेलाई विभागीय कारवाहीबाहेक केही भएन भन्दै उनले अपराधी जोसुकै होस् कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका थिए । धर्ना बस्दा स्वास्थ्यमा समेत समस्या देखिएकाले स्थगित गरिएको उल्लेख गर्ने निर्मलाका परिवारले न्यायका लागि दबाब जारी राख्ने बताएका छन् ।

pic: rss