जेनेभा जाँदै परराष्ट्रमन्त्री

जेनेभा जाँदै परराष्ट्रमन्त्री


संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज (शनिबार) जेनेभा प्रस्थान गर्दै छन् । यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उनी सहभागी हुने तथा १४ गते बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हाल नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्य हो । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मानवाधिकार परिषद्को बैठकमा सहभागी हुने सिलसिलामा जेनेभामा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले विभिन्न मुलुकका परराष्ट्रमन्त्री तथा जेनेभास्थित विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन् । फागुन १६ गते स्वदेश फर्कनुअघि मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली सङ्गठन र नेपाली समुदायका नेतासँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।