नख्खुस्थित एनसेल कार्यालय परिसरमा बम विष्फोट, तीनजना घाइते

नख्खुस्थित एनसेल कार्यालय परिसरमा बम विष्फोट, तीनजना घाइते


ललितपुरको नख्खुचोकस्थित एनसेलको मुख्य कार्यालयमा बम विष्फोट गराइएको छ । आज (शुक्रबार) बेलुकी आठ बजे भएको विष्फोटका कारण एनसेल कार्यालय परिसरमा क्षति पुग्नुका साथै तीन जना घाइते भएका छन् ।

घाइते तीनैलाई नख्खुस्थित मेडिसिटी अस्पताल, पुलचोकको अलका अस्पताल र ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा अलग-अलग भर्ना गरिएको छ ।

घाइते हुनेहरूमा मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत उरुसा मानन्धर, वागडोलकी प्रतीक्षा खड्का र लमजुङका सिंहप्रसाद गुरूङ रहेका छन् ।

उरुसाको मेडिसिटीमै उपचार चलिरहेको छ भने प्रतीक्षालाई अलका अस्पतालमा इमर्जेन्सी भर्ना गरिएको छ । सिंहप्रसादको अवस्था चाहिँ गम्भीर रहेको बताइएको छ । उपचारार्थ बीएण्डबीमा भर्ना गरिएका उनले दुवै खुट्टा गुमाउनुपर्ने सम्भावना रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरी स्रोतले जनाएको छ ।

विष्फोटअघि एक व्यक्तिले घटनास्थलमा एउटा ब्याग छोडेर गएका थिए । केहीबेरमै सो झोला विष्फोट भएको बताइन्छ । विष्फोट निकै शक्तिशाली रहेको सुरक्षासुत्रको भनाई छ ।

यस्तै, काठमाडौं कमलपोखरीस्थित जैनभवन अघिल्तिर एक कुकर बम फेला परेको छ । शुक्रबार साँझ भेटिएको कुकर बमलाई सुरक्षाकर्मीको बम डिस्पोजल टोलीले निस्क्रिय पार्ने प्रयास गरिरहेको छ ।

यसरी राजधानीका विभिन्न स्थानमा एकाएक विष्फोटनका घटना कसले गरायो भन्ने पुष्टि भइसकेको छैन । तर, एनसेलले अर्बौंको करछली गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले कारवाही गर्ने चेतावनी दिएको थियो ।

आजको घटनालाई सोही चेतावनीसँग जोडेर हेरिएको छ । यथार्थ के हो भन्ने सम्बन्धमा प्रहरीले अलग्गै अनुसन्धान शुरु गरेको छ ।