स्व. वलीको स्मरणमा आज प्रदेश ५ सचिवालय बन्द

स्व. वलीको स्मरणमा आज प्रदेश ५ सचिवालय बन्द


प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभा सदस्य उत्तरकुमार वलीको निधनले अपूरणीय क्षति भएको बताएका छन् ।

प्रदेश सभाको एकवर्षे कार्यकालमा वलीको भूमिका प्रशंसनीय रहेको र प्रदेश सभामा सांसद वलीका अभिव्यक्ति तथा सहयोग सदा स्मरणीय रहने उल्लेख गर्दै सभामुख घर्तीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वलीको निधनले समाज र प्रदेश सभामा अपूरणीय क्षति पुगेको छ ।’ सभामुख घर्तीले वलीको निधनमा श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् । जारी विज्ञप्तिमा आज (शुक्रबार) एक दिन प्रदेश सभा सचिवालय बन्द रहने पनि बताइएको छ ।

सडक दुर्घटनामा परी घाइते भएका वलीको गएराति काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो । गत माघ २४ गते प्रदेश सभा बैठक सकेर घर फर्किंदा वली दाङको चिसापानीमा दुर्घटनामा परी घाइते भएका थिए ।

को हुन् सांसद उत्तरकुमार ?

दंगीशरण गाउँपालिका– ६ लेटारमा वलीको जन्म २०४१ मा भएको हो । विद्यार्थी जीवनमै गाउँको विद्यालय अखिलको प्रारम्भिक कमिटीमा बसेर विद्यार्थीको नेतृत्व गरेका वलीले जिल्ला कमिटीबाट तत्कालीन निर्वाचन क्षेत्र नं. ४ को इन्चार्ज भएर काम गरेका थिए ।

आईएस्सी अध्ययनका लागि नेपालगञ्ज आएका वलीले नेपालगञ्ज बहुमुखी क्याम्पसबाट समेत राजनीतिक गतिविधिहरू गरेका थिए । बीएस्सी अध्ययनका लागि काठमाडौं आएका वलीले अमृत साइन्स क्याम्पसबाट विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए ।

सांसद वली दाङको तत्कालीन निर्वाचन क्षेत्र ५ बाट ०६४ मा र संविधानसभाको ०७० सालको निर्वाचनमा पनि उम्मेदवार भएका थिए । दुई निर्वाचनमा पराजित भएका उनी दाङको क्षेत्र नब्मर ३ ख बाट प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता बुद्धिराम भण्डारीलाई पछि पार्दै विजयी बनेका थिए ।

माघ २४ गते बेलुका बुटवलस्थित अस्थायी राजधानीबाट बैठकपछि दाङस्थित घरतर्फ आउँदै गरेका सांसद वली लमही–घोराही सडकखण्डमा दुर्घटनामा परेका थिए ।

घोराहीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.५ख ५५२९ नं. को यात्रुबाहक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा.१८च ६८३६ नम्बरको सांसद वली सवार कारलाई घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका ३ चिसापानीनजिकै ठक्कर दिएको थियो ।

सांसद वली आफैँले कार चलाएका थिए । दुर्घटनालगत्तै वलीलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै कोहलपुर मेडिकल कलेज लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट राजधानी लगिएको थियो । दुर्घटना भएको १६ दिनसम्म अचेत अवस्थामा रहेका सांसद वलीको शुक्रबार बिहान निधन भएको हो । सांसद वलीका श्रीमती र दुई छोरा छन् ।