छुद्रग्रहमा हायाबुसा-२ सफलतापूर्वक अवतरण

छुद्रग्रहमा हायाबुसा-२ सफलतापूर्वक अवतरण


पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक उक्त ग्रहमा शुक्रबार अवतरण गरेको छ ।

हायाबुसा२ नाम दिइएको यस उपग्रहको मद्दतबाट जीवको उत्पत्ति र सौर्य प्रणालीका बारेमा महत्वपूर्ण जानकारी सङ्कलन गर्ने वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन् ।

जापानी एरोस्पेश एजेन्सी (ज्याक्सा)का वैज्ञानिकहरुले हायाबुसा२ उपग्रह शुक्रबार सफलतापूर्वक छुद्रग्रहको सतहमा अवतरण गरेको बताएका हुन् । छुद्रग्रहको सतहमा यान ओर्लिएको सूचना प्राप्त गरेसँगै ज्याक्सा केन्द्रमा कार्यरत वैज्ञानिकहरुबीच खुशीयाली छाएको थियो ।

यान सफलतापूर्वक छुद्रग्रहमा अवतरण गरेको घोषणा गर्दै ज्याक्साकी प्रवक्ता चिस्तो इकुताले नियन्त्रण कक्षमा हायाबुसा२ ले पठाएका सङ्केतहरु प्राप्त हुन थालेको र त्यो ठीकठाक रहेको पनि जानकारी दिइन् । वैज्ञानिकहरुले यानले पठाउन थालेका तथ्याँकहरु सङ्ग्रह र विश्लेषण गर्न थालेको पनि उनले बताइन् ।

हायाबुसा-२ को अभियानका व्यवस्थापक माकाटो योशिकावाले यतिबेला आफू साँच्चिकै चिन्तामुक्त भएको बताए ।

उनले अन्तरिक्ष उडानमा यो निकै जटिल प्रक्रिया रहेपनि सबै कार्य सहज रुपमा सम्पन्न भएको उल्लेख गर्दै उनले खगोल विज्ञानमा यो अर्को महत्वपूर्ण पाइला वा नयाँ खोज हुने आफ्नो विश्वास प्रकट गरे ।

छुद्रग्रहमा सापेक्षित रुपमा करिब ४ अर्ब ६० करोड वर्षअघि ठूलो मात्रामा अर्गानिक बस्तु र पानी रहेको विश्वास गरिन्छ ।

हायाबुसा२ सँगको सञ्चार सम्पर्क बेलाबखत टुटेको थियो किनभने यसको एन्टेना कहिलेकाहिँ पृथ्वीतर्फ फर्किएको हुँदैनथ्यो । तर केही समय वा केही दिनपछि पुनः विद्युतीय सङ्केतहरु प्राप्त हुन थाल्थ्यो ।

शुरुमा यो अभियान गत वर्ष नै सम्पन्न गर्ने लक्ष राखेर काम अघि बढेको थियो । तर छुद्रग्रहको सतहमा उबडखाबड देखिएपछि वैज्ञानिकहरुले अवतरणका लागि उपयुक्त ठाउँ खोज्न केही समय लगाएका थिए ।

हायाबुसा२ अभियानका लागि करिब २७ करोड अमेरिकी डलर खर्च भएको छ । यो अभियान डिसेम्बर २०१४ मा आरम्भ गरिएको थियो र यसले सन् २०२० भित्रमा पृथ्वीमा छुद्रग्रहको सतहमा भेटिएका वस्तुको नमूना सङ्कलन गर्ने समयावधि तोकिएको थियो ।

हायाबुसा२ ले पठाएका प्रारम्भिक तस्वीरमा छुद्रग्रहको सतह केही उबडखाबड भएको देखिएको छ । हायाबुसा२ मा क्यामेरा र सेन्सिङ उपकरण जडान गरिएको छ । साथै, यसमा दुईवटा साना मिनेर्भा–२ रोभर रोबोट र फ्रान्सेली–जर्मनेली मास्कोट नाम गरेको रोबोट पनि रहेको छ । यी रोबोटले ग्रहको सतहका बारेमा जानकारी दिनेछन् ।

छुद्रग्रहबाट यी उपकरणहरुले पठाएका तथ्याँकहरु प्राप्त गर्न थालिसकेको ज्याक्साले जनाएको छ ।

करिब १० केजीको मास्कोट रोबोटमा सेन्सरहरु जडान गरिएको छ र यसले सतहका तस्वीरहरु खिच्ने, माइक्रोस्कोपको मद्दतबाट खनिजहरुको अनुसन्धान गर्ने, सतहको तापक्रम र चुम्बकीय अवस्थाको मापन गर्नेछ ।

ठूलो फ्रिज आकारको हायाबुसा२ मा सौर्य प्यानल जडान गरिएको छ । जापानी भाषामा हायाबुसाको अर्थ ‘बाज’ हो ।

सन् २०१४ मा जापानले पहिलोपटक हायाबुसा सफलतापूर्वक प्रक्षेपण गरेपनि त्यसले छुद्रग्रहका बारेमा पर्याप्त जानकारी संकलन गर्न सकेको थिएन ।