पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो हटाइयो

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो हटाइयो


पुलवामामा भएको आत्मघाती हमलामा सीआरपीएसका ४० जना सिपाहीको निधन भएपछि अहिले भारतमा पाकिस्तानविरुद्ध विरोध र बदलाको भावना निकै बढेको छ । सम्पूर्ण भारतभरि अहिले आतंकवादीलाई शरण दिएको भन्दै पाकिस्तानको विरोध भइरहेको छ । राजनीतिक पार्टीका नेता, बलिउडका नायक नायिकादेखि क्रिकेट खेलका खेलाडीहरूले यो आक्रमणको विरोध गरेका छन् । साथै उनीहरूले भारतले यसको जवाफ तुरुन्तै दिनुपर्ने बताएका छन् । त्यस्तै बलिउडमा सुपरस्टार सलमान खानले आफ्नो फिल्मबाट पाकिस्तानी गायकलाई हटाउँदै एक्सनमा समेत उत्रिसकेका छन् ।

यो निन्दनीय हमलाको विरोध गर्दै हालै पञ्जाव क्रिकेट संघ (पीसीए)ले शहीद परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै यो आतंकवादी हमलाको कडा रूपमा विरोध गर्दै मोहाली क्रिकेट स्टेडियममा राखिएका पाकिस्तानी क्रिकेटरहरूको तस्बिर पनि हटाइदिएको छ । मोहाली क्रिकेट स्टेडियममा पाकिस्तानका चर्चित १५ खेलाडीको तस्बिर राखिएको थियो । क्रिकेट क्लब अफ इन्डियाका कोषाध्यक्ष अजय त्यागीले पञ्जाव क्रिकेट संघका पदाधिकारीहरूको यो निर्णयको स्वागत गर्दै यो निर्णयले देशसँग एकजुट बनाउन अहं भूमिका खेल्ने बताए ।


मोहाली क्रिकेट स्टेडियममा पाकिस्तानका चर्चित क्रिकेट खेलाडी जावेद मियान्दाद, शाहिद आफ्रिदी, वसिम अक्रम, वकार युनिसलगायत पूर्वपाकिस्तानी क्रिकेट टिमका कप्तान तथा वर्तमान पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको थियो । पुलवामामा भएको आतंकवादी घटनापश्चात् पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिएको सार्वजनिक बयानप्रति आपत्ति प्रकट गर्दै पीसीबीले खानको तस्बिर पनि हटाएको हो । पुलवामा भएको आतंकवादी घटनाबारे पाकिस्तानको कुनै संलग्नता नभएको भन्दै प्रधानमन्त्री इमरान खानले आफ्नो देश पाकिस्तान पनि आतंकवादको विरोधी भएको बताएका थिए । साथै पाकिस्तान यो घटनामा संलग्न भए त्यसको सबुत अर्थात् प्रमाण पेस गर्न भारतलाई चुनौती दिएका थिए ।

इमरान खानको यस्तो अभिव्यक्ति आएपछि अहिले भारतभरि उनको विरोध भइरहेको छ । भारतमा जति पनि आतंकवादी घटना भएका छन् भारतले त्यसको जिम्मेवार पाकिस्तानलाई लगाउँदै आएको छ । पुलवामा भएको घटनालाई भारतले पाकिस्तानलाई जिम्मेवार ठानेको छ । यसर्थमा कि पुलवामामा आत्मघाती घटनाको जिम्मेवारी जैस ए मोहम्मदले लिएको छ । जुन पाकिस्तानको भूमि प्रयोग गरेर भारतमा यस्ता निन्दनीय घटनालाई परिणाममुखी बनाउँदै आएको भारतले आरोप लगाएको छ । त्यस्तै यी आतंकवादीलाई पाकिस्तानी सैनिकले सहयोग गर्दै आएको आरोप पनि लगाएको छ ।

त्यस्तै मुम्बईको क्रिकेट क्लब अफ इन्डिया (सीसीआई) पनि पुलवामा आक्रमणको विरोध गर्दै आफ्नो स्टेडियममा राखिएको पाकिस्तानका प्रधानमनी इमरान खानको पोस्टरलाई ढाकिदिएको छ । यसैगरी यो आतंकवादी घटनाको विरोधमा क्रिकेट क्लब अफ इन्डियाले पाकिस्तानप्रति कडा रूपमा प्रस्तुत हुन भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सुझाव दिएको छ । साथै सीसीआईका सचिव सुरेश बाफनाले केही महिनापछि सञ्चालन हुन गइरहेको विश्वकप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानसँग खेल्न नहुने पनि जनाएका छन् ।