नेकपाको एकता–प्रक्रिया थप अन्योलमा, पार्टी एकताको लागि बनेको कार्यदल भंग

नेकपाको एकता–प्रक्रिया थप अन्योलमा, पार्टी एकताको लागि बनेको कार्यदल भंग


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको सांगठानिक एकताका लागि गठित कार्यदल भंग गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेपछि कार्यदल भंग भएको हो । अब शीर्ष नेताहरू रहेको सचिवालयले नै पार्टी सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेस भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकमा कार्यदल संयोजक रामबहादुर थापा बादलले पेस गरेको कार्यदलको प्रतिवेदनमा एक साताका लागि समय माग गरिएको थियो । बैठकमा बोल्ने कार्यदलका बहुमत सदस्यले पनि म्याद थप्नुपर्ने राय व्यक्त गरेका थिए ।

तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेपछि हिजोको बैठक आजसम्मका लागि स्थगित भएको थियो । शुक्रबारको सचिवालय बैठकले ओलीकै प्रस्तावअनुसार निर्णय गरेकोले कार्यदल भंग भएको हो । कार्यदल भंग भएसँगै नेकपाभित्र मदभेद चुलिएर गएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताका लागि बनेको कार्यदल भंग भएको जानकारी दिए । उनले भने, ‘अहिलेसम्मको कामका लागि कार्यदललाई धन्यवाद । अब सचिवालयले प्रस्ताव तयार गर्नेछ र स्थायी समितिमा पेस गर्नेछ ।’

तत्कालीन नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) एक भएर नेकपा बनेर चुनाव लडेपछि पार्टीको सांगठानिक एकताका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल बनेको थियो ।