उपराष्ट्रपति भन्छन्– बौद्धिक देखाउन अरूको भाषाको नक्कल गर्ने क्रम बढ्यो

उपराष्ट्रपति भन्छन्– बौद्धिक देखाउन अरूको भाषाको नक्कल गर्ने क्रम बढ्यो


उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरू भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा बिहीबार प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’को उदघाटन सत्रमा उपराष्ट्रपति पुनले आफ्नो कुरा अरूलाई बुझाउन प्रविधिको विकास भएकाले अरूको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताए । सरकारी विद्यालयमा अंग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद भएको उनको भनाइ थियो । संस्कृत भाषा विश्वको सबैभन्दा पहिलो लिपिबद्ध भाषा भएको सो अवसरमा उनले बताए । अल्पसंख्यक वा बहुसंख्यक सबैले बोल्ने भाषाको महत्व उत्तिकै हुनुपर्नेमा उनले जोड दिए ।

‘भाषा र संस्कृति नहुँदा भूगोलले मात्रै देश रहँदैन,’ उनले भने, ‘भाषा संरक्षण र प्रवद्र्धनका लागि एकपछि अर्काे पुस्तामा हस्तान्तरण गर्दै जानुपर्छ ।’ प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानले मातृभाषाको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले आठ वर्षदेखि मातृभाषाको कविता गोष्ठी गर्दै आएको बताए । उनले भाषाको अवस्थाबारे प्रतिष्ठानले विभिन्न कार्यक्रम गरिरहेको बताए ।

प्रतिष्ठानका पूर्वउपकुलपति वैरागी काइँलाले नेपालको पहिरन, वाद्ययन्त्र र भूगोल विविध भएकै कारण सुन्दर भएको उल्लेख गरे । शताब्दी पुरुष सत्यमोहन जोशीले बगैँचामा एउटा सेतो फूल मात्रै हुँदा सुन्दर नभए पनि त्यही विभिन्न रंगका फूल हुँदा सुन्दरता थपिएजस्तै नेपालमा विभिन्न जाति र तिनका भाषाले देश सुन्दर बनाएको औँल्याए ।

प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले मातृभाषाको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले वर्षेनी कविता सम्मेलनको आयोजना भइरहेको बताए । प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले भाषिकालाई पनि भाषाका रूपमा राखिएकाले त्यसको व्यवस्थापनका लागि प्रतिष्ठानले छलफल गरिरहेकोे प्रस्ट पार्नुभयो ।

प्रतिष्ठानकी मातृभाषा साहित्य विभागकी प्रमुख लक्ष्मी मालीले कविहरूले वाचन गर्ने कविता आगामी दिनमा पुस्तकका रूपमा प्रकाशित गरिने जानकारी गराइन् । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनस्को) ले सन् १९९९ मा गरेको निर्णयअनुसार सन् २००० देखि फेब्रुअरी २१ मा यो दिवस मनाउन थालिएको हो । नेपालले भने आठ वर्षदेखि यो दिवस मनाउँदै आएको छ ।