मेक्सीको बोर्डरमा पर्खाल र अमेरिकामा सङ्कटकाल

मेक्सीको बोर्डरमा पर्खाल र अमेरिकामा सङ्कटकाल


  • भरतबहादुर बिसुराल ‘हिमालयन टाइगर’

मेक्सीको बोर्डरमा पर्खाल लगाउन राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गरिएको प्रयास जारी छ र यस प्रकरणले अमेरिकी राजनीतिलाई ‘सङ्कटकाल घोषणा’सम्मको अवस्थामा पुऱ्याएको छ । त्यसो त सङ्कटकाल घोषणा अमेरिकाको लागि कुनै नौलो विषय भने होइन । सन् १७७५ देखि १७८१ सम्म अमेरिकामा तत्कालीन महादेशीय काङ्ग्रेसकै सहमतिमा सङ्कटकालको घोषणा गरेको पाइन्छ । राज्यका सरकारी विद्रोही तथा क्रान्तिकारीहरूको तीव्र गतिविधि रोक्न र जुध्न सन् १७९२ मा पनि तत्कालीन राष्ट्रपति जर्ज वासिङ्टनलाई अधिकार दिएको कुरा अमेरकी काङ्ग्रेसको अनुसन्धान सेवाले नै उल्लेख गरेको छ ।

राष्ट्रपति अब्राहिम लिङ्कनले पनि दक्षिण भेगका पोर्ट र नाकाहरू बन्द गर्न तथा बन्दीहरूलाई अदालतमा हांजिर गराउने–नगराउने भन्नेबारेको निर्णय गर्न काङ्ग्रेसमा प्रस्ताव पेश र बहस नगराई आफ्नो शक्ति प्रयोग गरेका थिए । त्यो पनि एक प्रकारको नेसनल इमेर्जेन्सी घोषणासरह नै हो भनिन्छ । आधुनिक युगमा पनि अमेरिकी राष्ट्रपतिलाई दुष्मनी साँध्ने गैरकानुनी गतिविधि गर्ने शासक र राष्ट्रलाई आर्थिक नाकाबन्दी लगाउन धन सम्पत्ति रोक्न र नेसनल गार्ड बोलाउन आफ्नो कार्यकारी अधिकार प्रयोग गर्न सक्छन् । खासगरी औपचारिक रूपमा सन् १९७६ मा काङ्ग्रेसले नेसनल इमर्जेन्सी घोषणा गर्न सक्ने कानुनी अधिकार पास गरी राष्ट्रपति जेराल्ड फोर्डले हस्ताक्षर गरेपश्चात ५९ पटक विभिन्न कालखण्डका राष्ट्रपतिहरूले प्रयोग गरेका पाइन्छन् । दैवी विपत्ति वा प्राकृतिक प्रकोप तथा खराब मौसमले विपत निम्त्याएको बेला लगाइएका सङ्कटकालको त गिन्ती नै छैन । परमादेश (भिटो) त प्रायःजसो सबै राष्ट्रपतिले बाध्य भएर प्रयोग गर्नुपरेको हुन्छ नै ।

राष्ट्रपति जिम्मी कार्टरले सन् १९७९ मा अमेरकीहरूलाई इरानले अपहरण गरी सास्तीपूर्वक बन्दी बनाएपछि नेसनल इमर्जेन्सी घोषणा गरेका थिए । राष्ट्रपति जर्ज डब्लु बुसले २००१ सेप्टेम्बर ११ को आतङ्ककारी हमलापश्चात वृहत कार्यकारी आधिकारसहितको नेशनल इमर्जेन्सी घोषणामा हस्ताक्षर गरेका थिए । त्यसबखत काङ्ग्रेससँग वहस–छलफल गरी प्रस्ताव पास गर्ने समय पनि थिएन भनिएको थियो । सन् २००९ मा राष्ट्रपति ओवामाले एचवान र एनवान स्वाइन फ्लुको महामारी फैलिएपछि नेसनल इमर्जेन्सी घोषणा गरी स्वास्थ्यसम्बन्धी साधन स्रोत तथा त्यस क्षेत्रको विशेष निगरानी, आवश्यक खर्च बिल फस्र्यौट, निजी स्वास्थ्य क्षेत्रको कानुन परिमार्जन र अस्पतालहरूलाई सहयोग सामग्री सप्लाई जस्ता कार्य युद्धस्तरमा गर्ने उद्देश्यले काम सम्पन्न गरी एक वर्षपछि उक्ते इमर्जेन्सी समाप्त गरिएको थियो । राष्ट्रपति जर्ज डब्लु बुशले पनि इमर्जेन्सी कालमा सैनिक निर्माणसम्बन्धी रकम अर्को प्रयोजनमा चलाएको भन्ने पाइन्छ ।

सङ्कटकाल वा नेसनल इमर्जेन्सी घोषणा गर्नु नै काङ्ग्रेसको लामो झन्झटिलो प्रचलन र प्रक्रिया छल्ने बाटो मानिन्छ । भारतमा पनि तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा ठेउला, पानी फोका दादुरा विफर (चिकेन फक्स)को महामारी हुँदा स्वास्थ्य क्षेत्रलाई युद्धस्तरमा काम गर्नु–गराउनु भनी सङ्कटकाल लागु गरेकी थिइन् । तर, लामो समय उक्त सङ्कटकाल रहेको चर्चा गरिन्छ । राष्ट्रपति जर्ज डब्लु. बुशले सन् २००१ मा नेसनल इमर्जेन्सी घोषणा गर्दा टाइटल १० युएसए कोड २८०८ प्रयोग गरेका थिए भने राष्ट्रपति बराक ओवामाले १८ पटकसम्म त्यही अधिकार प्रयोग गरी २००१ देखि सन् २०१४ सम्मका प्रोजेक्टहरूलाई फन्डिङ गरेका भनिन्छ । सन् २००५ मा अरिजोनाका गभर्नर (जो पछि ओबामा क्याबिनेटमा होमल्याण्ड सेक्रेटरी थिए) र न्यू मेक्सीको राज्यका गर्भनर बिल रिचर्डसन दुवैले बोर्डरकै मामिलामा स्टेट इमर्जेन्सी घोषणा गरेका थिए भने स्थानीय मेयरसम्मले आफ्नो क्षेत्राधिकारभित्र इमर्जेन्सी घोषणा गर्न सक्ने प्रावधान देखिन्छ ।

बोर्डरको पर्खाल (ब्यारिएर) सम्बन्धमा :

राष्ट्रपति जर्ज डब्लु बुशको प्रस्तावलाई सन् २००६ सेप्टेम्बर १४ मा काङ्ग्रेसबाट अमेरिकी जनताको बचाउ र बोर्डरको सुरक्षा निश्चित गर्ने उद्देश्य लिएर बहस–छलफल गरी पक्षमा २८३ र विपक्षमा १३८ मतले निर्णय भयो भने २९ सेप्टेम्बर २००६ मा सिनेटमा १०० मतमा पक्षमा ८० र विपक्षमा १९ मत परेका थियो । जसअनुसार ७०० माइल (११२५ किमी) बोर्डर घेराबन्दी गर्ने पर्खाल वा ब्यारिएरका लागि बजेट पास भएपछि तत्कालीन अवस्थामा ७० बिलियन लाग्ने र १९५४ माइल (३१४५ कि.मि.) पर्खालका लागि प्रतिवर्ष १५० मिलियन डलर खर्च गरी पूरा पर्खाल घेर्ने योजना डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको उद्देश्य बनेको थियो । यो अध्ययागमन सुधारको एउटा सकरात्मक खुड्किलो हो भन्ने आमअमेरिकीले भनिरहेका पनि थिए सन् १९७० मा अमेरिका र मेक्सीकोबीच बोर्डरमा पर्खाल लगाउने सम्बन्धी सम्झौता पनि भएको थियो । अमेरिका र मेक्सीको बीचमा ४८ वटा प्रवेशद्वारा नाका छन् भने ३३० पोर्ट भएर छिर्ने ठाउँ छन् । त्यहाँ ब्याग लगेज वा कुनै पनि जाँचबुझ गर्ने निरीक्षण गर्ने व्यवस्था पनि छ । त्यहाँबाट पैदल हिँड्ने सड्कदेखि हाइवे र रेल तथा डुङ्गा, पानीजहाज आदिबाट अमेरिकाभित्र प्रवेशको ब्यवस्था पनि छ ।

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका कानुनी अधिकारहरू :

नेसनल इमर्जेन्सी कार्यान्वयन गर्ने कानुनी अधिकार, विदेशी राष्ट्र तथा समुन्द्रपारका राज्यहरूमा आर्थिक नाकाबन्दी लगाउन सक्ने अधिकार र २०१६ को आम निर्वाचनमा विदेशी हस्तक्षेप संलग्नताविरुद्ध कार्वाही गर्ने कानुन आदि यस कानुनमा रुसको हस्तक्षेप र संलग्नता विरुद्ध चाहिने आवश्यक कार्वाहीमा चासो नदिएको आरोप पनि लगाइएको छ । अब यस नेसनल इमर्जेन्सी घोषणाबाट काङ्ग्रेसको सहमति नलिइकन ६०१ मिलियन ट्रेजरी फन्ड २.५ विलियन डिपार्टमेन्ट आफ डिफेन्स फण्ड ३.६ विलियन डिपार्टमेन्ट अफ डिफेन्स मिलीटरी कन्सट्रक्सन प्रोजेक्टबाट चलाउन सक्ने व्यवस्था मिलाइएको छ भने राष्ट्रपति ट्रम्पको पर्खाल २१ फिट अग्लो (६.४ मिटर) ६ फिट गहिरो जग (१.८ मि.) सिमेन्ट ३ फिट फराकिलो ट्रेन्चसहित रहनेछ मेक्सिकन गल्फदेखि १९५४ माइलमध्ये १८ माइल समुन्द्रवर्ती क्षेत्र प्रशान्त महासागरले घेरेको छ भने १२ माइल मेक्सिकन खाडी (गल्फ) क्षोत्रले घेरिएको छ । १९०० माइल क्षेत्रमा चाहिँ अमेरीकी सुरक्षा घेरा छ ।

हालको योजनाअनुसार भत्केको निर्मित ब्यारिएर र बोर्डर पर्खाल मर्मतसहित २३४ माइल बोर्डर पर्खाल निर्माण गर्ने व्यवस्था मिलाइएको छ । टेक्सासका दुईजना जग्गाधनी क्यालीफोर्निया र न्युयोर्क राज्यसहितका सरकारी क्षेत्रबाट अदालतमा मुद्दा चलाउने योजना र तल्लो सदन काङ्ग्रेसमा भएको डेमोक्र्याटिक बहुमतको सभाले पनि विभिन्न उपाय वा सल्लाह लिइरहेको छ र कसरी राष्ट्रपति ट्रम्पको बोर्डर पर्खाल छेक्ने र सङ्कटकाल लगाउने अधिकार खोस्ने इत्यादि अवरोध गर्ने बाटो खोजिरहेको छ । प्रेस सेक्रेटेरी सहारा हकवीका अनुसार ह्वाइट हाउस प्रशासनले पनि आफ्नो तयारी गरेको खबर बाहिर आएको छ । डेमोक्र्याटिक राज्यका इकाई र जिल्ला तथा राज्यका अदालतहरूले अवरोध पुऱ्याए पनि अन्ततः सर्वोच्च अदालतबाट सम्पूर्ण अवरोधक आदेशहरू खारेज हुने निश्चित नै छ बहुमतको काङ्ग्रेस भएको डेमोक्र्याटले विरोध गरी प्रस्ताव पास गरी उपल्लो सदन सिनेटमा पेश गरेपछि रिपब्लिकन कन्ट्रोल सिनेटले अनुमोदन नगर्ने निश्चित नै छ र यदि अनुमोदन गरे पनि अन्नतः जाने प्रस्ताव हस्ताक्षरका लागि नेसनल इमर्जेन्सी घोषणा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पमै पुग्ने हो । हस्ताक्षर नभएपछि त्यसको कुनै अर्थ रहँदैन ।

यतिबेला एन्टी–ट्रम्प मिडिया सीएनएन, सीएनबीसी, एबीसी, बीबीसी, अलजजिरा, न्युयोर्क टाइम्स, बासिङ्टन पोष्ट, टाइम म्यागजिनलगायतका समाचार एजेन्सीहरू लागिपरेर राष्ट्रपति ट्रम्पलाई एकलो बनाउन रिपब्लिकन पार्टीभित्र समेत हलचल ल्याउने जमर्को गर्दैछन् । जसरी चाइनाको ग्रेट वालले आज संसारकै ध्यान तानेर सर्वाधिक अवलोकनीय पर्यटकीय स्थलको रूपमा आर्जन गरिरहेको छ, त्यसैगरी अमेरिकामा पनि यो पर्खाल निर्माणले अवैधानिक आप्रवासीलाई छेक्ने, लागुपदार्थको ओसारपसार र हत्याहिंसा गर्ने कार्यमा रोकथाम ल्याउने र पछि विस्तारै त्यसको मर्मत सम्भार सिंगारपटार गरी आकर्षित बनाउन सके विश्वकै नमूनालायक पर्यटकीय क्षेत्र बनाउन सकिन्छ भन्ने बहुसङ्ख्यक अमेरिकीको सोच रहेको पनि पाइन्छ ।

राष्टपति ट्रम्प व्यवसायबाट राजनीतिमा प्रवेश गरी एकैचोटि राष्ट्रपति पदमा निर्वाचित भएर आएका हुँदा अमेरिकी राजनीतिज्ञहरू फेरि अरु व्यवसायी यसैगरी राष्ट्रपति बन्लान् र जीवनभर राजनीतिमा लागिपर्ने आफूहरू चाहिँ पाखा लागिने हो कि भन्ने त्रासमा देखिँदैछन् । राष्ट्रपति ट्रम्प हवाई आक्रमण र युद्धमा सहभागी हुनु भन्दा वार्ताद्धारा मेलमिलाप गर्न र सम्भव नभए आर्थिक नाकाबन्दीसम्म लगाएर ठेगानमा पुऱ्याई छाड्ने तर रक्तपात नमच्चाउने शान्तिप्रिय सोच लिएका व्यक्तित्व रहेछन् भन्ने सहजै बुझ्न सकिन्छ । उदाहरणको लागि उत्तर कोरियाका नेता किम जोङ उनसँगको भेटवार्ता, अफगानिस्तानका तालिवानसँगको शान्तिवार्ता जस्ता शान्तिप्रिय बाटोबाट समस्या सामाधान गर्न खोजेका सन्दर्भलाई लिन सकिन्छ । यसर्थ, राष्ट्रपति ट्रम्पको पूर्ण सफलता चाहनु सायद गलत हुने छैन ।