अस्ट्रियाकी विदेशमन्त्री काठमाडौंमा

अस्ट्रियाकी विदेशमन्त्री काठमाडौंमा


अस्ट्रियाकी विदेश मामिलामन्त्री करिन केनिसिल बिहीबार काठमाडौं आएकी छिन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल–अस्ट्रिया सहकार्यको ६० वर्ष पूरा भएको अवसरमा हुने कार्यक्रममा भाग लिन १३ सदस्यीय टोलीसहित केनिसिल नेपाल आएकी हुन् ।

विदेशमन्त्री केनिसिलले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनको टोलीले परराष्ट्रमन्त्रीसहित विदेश मामिलासँग सम्बन्धित विज्ञहरूको टोलीसँग छलफल गर्र्ने कार्यक्रम तय भएको छ ।

नेपालको जलविद्युत विकास, सांस्कृतिक सम्पदा, वातावरण खानेपानीजस्ता क्षेत्रमा सहकार्य गर्दै आएको अस्ट्रियाले सो अवसरमा त्यसबारेमा छलफल गर्ने बताइएको छ ।

विदेशमन्त्री केनिसिलले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको नेपाल–अस्ट्रिया सहकार्यको ६० वर्षे कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी आफ्नो टोलीसहित शनिबार स्वदेश फर्किनेछिन् ।