ढाकामा भीषण आगलागी, ७० जनाको मृत्यु

ढाकामा भीषण आगलागी, ७० जनाको मृत्यु


बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति भएको सो भीषण आगलागीमा परी ७० जनाको ज्यान गएको छ भने अरू दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।

जलेर मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका छन् । उनीहरूलाई अस्पताल पु¥याइएको र तीमध्ये कैयौँको अवस्था अत्यन्तै गम्भीर रहेको ढाका प्रहरीले जानकारी दिएको छ । ढाकाको चवाक बजारमा रहेको एक घरमा ग्यासको सिलिन्डर विस्फोट भएको थियो । त्यो विस्फोटबाट निस्किएको आगोले सबैभन्दा पहिला पाँचतले भवन जलेको थियो ।

राजधानी ढाकाको पुरानो बस्तीतिरको क्षेत्र भएकोले घरहरू जोडिएर रहेका र जसका कारण एकपछि अर्काे घरमा आगो फैलिएको थियो । यसरी फैलिएको आगोका कारण यहाँका कैयौँ घर जलेका थिए । कैयौँ घरमा आगो सल्किएको र जनधनको ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

ढाकाको आगलागी नियन्त्रण विभागका एकजना अधिकारी महफुज रिवनले सो जानकारी दिएका छन् । उनका अनुसार एक घरमा सिलिन्डर पड्किएर भएको आगलागीले सो घरसँगै रहेको अर्काे घरलाई पनि छोएको र उक्त घरमा रासायनिक पदार्थ राख्ने गरिएको एक गोदाम रहेकोले आगो झन् बढेको थियो ।

उनका अनुसार बुधबार राति करिब १० बजेतरि उक्त आगलागी शुरु भएको थियो । आगो नियन्त्रणमा लिन मध्यराति सम्म लागेको र जसका कारण ठूलो जनधनको क्षति हुन पुगेको थियो । उनले आगो नियन्त्रणका लागि कम्तीमा पनि ३७ वटा दमकलको प्रयोग गरिएको जानकारी दिएका छन् । आगोको मुस्लो बढ्दै जाँदा अर्काे घरमा सल्किन पुगेको थियो ।

सो आगलागी नियन्त्रणका लागि ३७ वटा अग्नि नियन्त्रक र ठूलो संख्याका कर्मचारीले निकै प्रयत्न गरेपछि बिहीबार बिहानीपख ३ बजे मात्र आगो नियन्त्रणमा आएको उनले बताए । अग्नि नियन्त्रकहरूले अहिले पनि विभिन्न घर र तिनका भग्नावशेषमा लागेको आगो निभाउने प्रयास जारी राखेका बताइएको छ ।

ढाका प्रहरीले यहाँको उद्धारको कार्य अझै सम्पन्न भइनसकेको जनाएको छ । उद्धारको कार्य जारी नै रहेको, कतिजनाको ज्यान गएको हो भन्नेबारेमा पनि यकिन हुन बाँकी रहेको बताइएको छ । हाल ७० जनाको शव भेटिएको, तर जलेर अस्पतालमा उपचार गराइरहेका नागरिकको संख्या धेरै रहेकोले मृतकको संख्या निकै बढ्न सक्ने बताइएको छ ।