अब प्याराग्लाइडिङको रोमाञ्चक खेल गोदावरीमै

अब प्याराग्लाइडिङको रोमाञ्चक खेल गोदावरीमै


खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु नपर्ने भएको छ ।

हावाको वेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृंखला र उपत्यका एकै साथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिनअघि गोदावरीमा साहसिक खेल (प्याराग्लाइडिङ) को मजा लिए ।

कुनै पनि चलचित्रमा आकाशबाट अभिनय नगरेका हुसेनले वास्तविक जीवनमै पहिलोपटक उडेर अविष्मरणीय क्षणको अनुभव लिए । ‘सोच्थँे प्लेनमा चढेजस्तै हुन्छ होला, घरहरू कार्टुनजस्तै देखिन्छ होला, तर होइन रहेछ, पहिलोपटक यति तलबाट उडेर अनुभव गर्दा अविष्मरणीय बन्यो,’ हुसेनले भने ।

उड्ने बेलामा केही सेकेन्ड दगुर्नुुपर्छ । दगुर्दा अनि आकारमा अप एन्ड डाउन तथा स्विप हुँदा अलि डरजस्तो लागे पनि त्यसको आनन्द छुट्टै रहेको भन्दै हुसेनले एक किसिमको प्यारासुटसँगको खेलको अनुभूति गराएको सुनाए । अघिल्लो हप्ता गायक सागर आलेले पनि गोदावरीको चापाखर्कमा पुगेर प्याराग्लाइडिङमा चराझैँ उडेर नयाँ अनुभव लिएका थिए । आलेले भने, ‘शुरुमा डर महसुस भएको थियो, जब पाइलटले ब्रिफिङमा ९९ प्रतिशत सुरक्षित हुन्छ भने, अनि उडिहालौँ झैँ लाग्यो ।’

आकाशमा उड्दा उनले प्रेमको साम्राज्य र खाइदेऊ गोरी बोलको गीतसँगै नारायणगोपाल, अरुण थापालगायत गायकका चर्चित गीतसमेत गाएर मनोरञ्जन लिए । पोखरामा प्रख्यात साहसिक पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ अब उपत्यकामै पाउनु खुसीको कुरा भएको यहाँ पुग्ने पर्यटकको भनाइ छ । डेढ दशकअघि पोखराको सराङकोटबाट शुरु भएको साहसिक खेल अहिले विभिन्न जिल्लामा फैलँदै छ । देशको राजधानी रहेको उपत्यकामै प्याराग्लाइडिङ सञ्चालन भएपछि मजा लिन अब पोखरा धाउनुपर्दैन ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँ गोदावरीको यो एउटा मात्रै प्याराग्लाइडिङ स्पट, साहसिक पर्यटनका लागि महत्वपूर्ण आयाम भएको बताउँछन् । काठमाडौंबाट तुरुन्त जान सकिने यो नयाँ गन्तव्यका कारण पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको बानियाँले बताए । नेपाल भ्रमण वर्ष सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । यसलाई पूरा गर्न यसले ठूलो सहयोग गर्नेछ ।

तीन करोड लगानी

विगतका बन्द हुँदै र खुल्दै आएको प्याराग्लाइडिङ हाल रु. तीन करोड लगानीमा पुनः यही डिसेम्बर अन्तिमबाट सञ्चालन गरिएको हो । यो अवधिमा ३०० फ्लाइट भइसकेको छ । काठमाडौं प्याराग्लाइडिङ एन्ड ह्याङ ग्लाइडिङ प्रालिको व्यवस्थापनमा चल्दै आएको छ । यसका निर्देशक नीरज पन्तले दृश्यावलोकनका लागि महत्वपूर्ण क्षेत्र भएर पनि उचित प्रचारप्रसार हुन नसक्दा व्यवसाय सन्तोषजनक हुन नसकेको बताए ।

सन् २००७ मा पूर्वमन्त्री केशव स्थापितले संस्था स्थापना गरी प्याराग्लाइडिङ उडाउने पहल थालेका थिए । सन् २०११ देखि १४ सम्म राम्रो चलेको थियो । भूकम्पपछि भने खासै चल्न नसकेको पन्तले बताए । कोरियाली च्याङ जिङ ख्वानसहित नेपाली व्यवसायी नारायण अर्याल, विनोद शाह, कुमार घिमिरे र ट्रिप कन्सर्नको रु. तीन करोडभन्दा बढीको लगानीमा अहिले पुनः सञ्चालनमा ल्याइएको हो ।

यहाँको क्षमता दिनमा २५ वटा फ्लाइट गर्न सक्नेछ । ६ वटा ग्लाइडर छ । गोदावरीको दुई हजार १०० मिटरमाथि चापाखर्कबाट शुरु हुने प्याराग्लाइडिङ एक हजार ६०० मिटरको उचाइमा रहेको रचनटारमा आएर ल्यान्ड हुन्छ । पोखराभन्दा उच्च स्थानबाट यहाँ उडान हुन्छ ।

काठमाडौंबाट १५ किलोमिटरको दूरीमा रहेको गोदावरी वनभोजस्थलमा गाडीको सहज यात्रापछि करिब झन्डै पाँच किलोमिटर जंगलको कच्ची बाटो उकालो लागेपछि आउँछ चापाखर्क । यहाँबाट १५ देखि ३० मिनेटको उडान भर्न सकिन्छ । हावाको वेगमा भर पर्ने भएकाले कहिलेकाहीँ उडान लम्बिन सक्छ भने कहिले नहुन पनि सक्छ ।

उडानका लागि सरकारले निश्चित क्षेत्र तोकेको छ । त्योभन्दा बाहिर जान पाउँदैन । अहिले प्रारम्भिक चरणमा दैनिक दुईदेखि पाँचवटासम्म उडान भर्दै आएको छ । कुनै दिन २० सम्म उडान भरेको अनुभव सञ्चालकको छ । प्याराग्लाइडिङ चढ्न नेपालीलाई फोटो, भिडियो र काठमाडौं आउने–जाने यातायातसम्म जोडेर रु. आठ हजार शुल्क लाग्ने भए पनि अहिले प्रवद्र्धन समय रहेकाले विशेष छुट गरी छ हजार पाँच सयमा उडान गरिरहेको छ । विदेशीलाई रु. ११ हजार तीन सय शुल्क लाग्छ ।

यहाँको मुख्य विशेषता भनेको डाँडाकाँडा, हरियाली वन र सुन्दर उपत्यकालाई नियाल्न सकिन्छ । स्वच्छ हावापानी, रोमाञ्चक दृश्यावलोकनसँगै मौसम खुल्दा लाङटाङ हिमशृंखलासँगै गणेश, गौरीशंकरलगायत हिमाल देख्न सकिन्छ । नगरकोटबाट देखिने सबै हिमाल देखिने र सुन्दर उपत्यकासमेत नियाल्न पाउने भएकाले पनि यहाँ प्याराग्लाइडिङ गर्दाको मजा छुट्टै छ । उपत्यकानजिकै शंकरापुरमा पनि अहिले प्याराग्लाइडिङ सञ्चालनमा छ । नेपालमा करिब २०० पाइलट छन् भने ६५ प्याराग्लाइडिङ कम्पनी छ ।
थर्मल (तातो हावा) पायो भने घुमेरमाथि पनि चढ्न सकिन्छ । बुधबार दिनभर हावा उल्टो बहेकाले चारवटा फ्लाइट हुन सकेन । बिहीबार चार फ्याइटको बुक भएको छ । हावाको बहावसँग खेल्ने भएकाले हावा राम्रो भयो भने दुई हजार पाँच सय मिटर माथिसम्म जान सकिन्छ । आठ वर्षदेखि उडान भर्दै आएका पाइलट बबि राउतले हरेक क्षेत्रको आ–आफ्नै विशेषता भएको बताउँदै हरियाली वनजंगल, उपत्यकाको दृश्यावलोकन र हिमशृंखला अवलोकनका लागि गोदावरी महत्वपूर्ण गन्तव्य भएको बताए ।

नारायण ढुंगाना (रासस)