हसुलिया र पहलमानपुर सबस्टेसन एकसाथ संचालनमा

हसुलिया र पहलमानपुर सबस्टेसन एकसाथ संचालनमा


कैलालीको विद्युत आपूर्तिलाई गुणस्तरीय बनाउन निर्माण गरिएका दुईवटा सबस्टेसन संचालनमा आएका छन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बुधबार हसुलिया ३३/११ केभी र पहलमानपुर १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरेका छन् ।
नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सुहलियतपूर्ण ऋणमा निर्माण भएका सबस्टेसनको काम निर्धारित समयमै सकिएको छ । सबस्टेसन संचालनमा आएपछि लामो दुरी र ओभरलोडिङका कारणले पटकपटक लाइन ट्रिप हुने र लाइन हुँदा पनि कम भोल्टेजका कारण वत्ति, पंखा, मोटर लगायतका विद्युतीय उपकरण नचल्ने समस्या समाधान भएको छ ।

कार्यक्रममा मन्त्री पुनले हरेक नेपालीको घरमा तीन वर्षमा विद्युत पुर्याउने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै सबस्टेसन संचालनमा आएपछि यस क्षेत्रमा ठूला तथा मझौला उद्योग खुल्ने सम्भावना बढेको बताए ।

विकास आयोजनाको निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले काम नगरिदिंदा उनीहरुले नै मुलुकमा शासन गरिरहेको निश्कर्षमा आफू पुगेको उनले बताए ।


‘सरकारले विकासको योजना बनाएको छ, त्यसको कार्यान्वयनका लागि बजेटको पनि जोहो गरेको छ, ठेक्का पनि लगाएको छ, जति दवाव दिंदा पनि ठेकेदारले काम गर्दैनन’् पूर्व अर्थ मन्त्रीसमेत रहेका उनले भने । ‘सरकारले काम गरेर भनेर हामी भन्छौं ठेक्कापट्टाको यस्तो अवस्था देख्दा प्रधानमन्त्री, मन्त्रीले शासन चलाएका छैनन्, काम नगर्ने ठेकेदारले चलाएका छन्,उनीहरुले काम गरे मात्रै सफल हुने अवस्था सिर्जना भएको छ ।’

एउटै ठेकेदार कम्पनीले ७४ वटासम्म ठेक्का लिएको जानकारी दिंदै मन्त्री पुनले लोभ गरेर ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति त्याग्न निर्माण व्यवसायी कम्पनीहरुलाई आग्रह गरे । मन्त्री पुनले थपे, ‘सक्ने काम लिनुहोस् काममा ढिला नगर्नुहोस् यसले मुलुकको अर्थतन्त्रलाई प्रभावित पार्छ, सक्ने काम लिनुहोस्, समयमै सक्नुहोस् यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।’

ऊर्जा सचिव दिनेशकुमार घिमिरेले हरेक नेपालीलाई गुणस्तरीय विद्युत सेवा पुर्याउन सरकारले काम गरिरहेको बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन संचालनमा आएपछि विद्युतको पहुँच र गुणस्तरमा बृद्धि हुने बताए । विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको उनले बताए ।

प्रतिनिधिसभाका सांसद गौरिशंकर चौधरीले सबस्टेसनको निर्माणपछि यस क्षेत्रमा रहेको विद्युतीकरण र भोल्टेजको समस्या समाधान भएको बताए ।