पशुपतिको गीत र लोकतन्त्र

पशुपतिको गीत र लोकतन्त्र


■ विनोद नेपाल

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली सरकार गठन भएको एक वर्ष पूरा भयो । सो अवसरमा सरकारले गत फागुन २ गते आफूले एक वर्षमा गरेका कामकारबाहीको फेहरिस्त सार्वजनिक ग¥यो । त्यसमा सरकारले आफूले सबै राम्रै राम्रो मात्र गरेको दाबी गरेको छ । एकातिर फेहरिस्तले सरकारले मुलुकलाई अगाडि बढाइरहेको र धेरै क्षेत्रमा थुप्रै किसिमका सकारात्मक सुधार भएको दाबी गरेको छ भने अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमार्फत आत्मप्रशंसा र विपक्षी तथा असहमत पक्षप्रति घोचपेच र असन्तुष्टि व्यक्त गरे । सम्भवतः सरकार आफ्ना कामप्रति सन्तुष्ट छ र उसलाई लागिरहेको छ नेपालको इतिहासमै यही एउटा सरकार हो जसले जिम्मेवारीका साथ देश र जनताका लागि काम गरिरहेको छ ।

तर, दुईतिहाइको सरकारले एक वर्ष व्यर्थैमा बिताएको प्रमुख प्रतिपक्षी काङ्ग्रेसको टिप्पणी छ । उसले भ्रष्टाचारलाई संस्थागत गर्ने काम गरेको, कुहिरोमा हराएको कागजस्तो भएको तथा स्पष्ट दिशा लिँदै अगाडि बढ्न नसकेको टिप्पणी गरेको छ । विभिन्न विषयमा विवादास्पद निर्णय लिएको, अस्वाभाविक तथा अनुचित कदमहरू चालेको, कूटनीतिको कच्चा खेल खेलेको तथा समग्रमा चित्तबुझ्दो र सकारात्मक सङ्केत नदेखिएको उसको मूल्याङ्कन छ । यो सबैलाई प्रतिपक्षीको धर्म ठान्न सकिन्छ । भए–गरेका वा हुन नसकेका कामकारबाहीको कुरा आगामी दिनमा पनि हुँदै जाने नै छ । यो त भयो राजनीतिको कुरा ।

यस्तो सन्देशमूलक र आमनागरिकलाई गलत कामका विरुद्ध, लुटका विरुद्ध, कुशासनका विरुद्ध र समग्रमा लोकतन्त्रको मूल्य–मान्यताका विरुद्ध काम भइरहेकोमा त्यसका विरुद्ध एकजुट हुन हौस्याउने र वर्तमानको वास्तविकता बोकेको गीतलाई बहिष्कार गर्ने केही भरौटेको आवाज र राज्यको सहयोग आफैँमा अस्वाभाविक हो ।

संयोग नै भनौँ, एकवर्षे कार्यसम्पादनको सार्वजनिकीकरण तथा समीक्षासँगसँगै जस्तो चर्चित लोकगायक पशुपति शर्माको एक लोकगीत सार्वजनिक भयो । लोकगायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकगीत सार्वजनिक भएको हो जुन यतिखेर चर्चामा छ । सरकारको लामो फेहरिस्त र प्रधानमन्त्रीको लामो सम्बोधनले थुप्रै सकारात्मक कुरा पढाए, सुनाए पनि कलाकार पशुपति शर्माले छोटो र केही मिनेटको गीतमा मुलुकमा व्याप्त विकृति, विसङ्गति र बेथिति, जनतामा व्याप्त निराशा, एवम् ठूलाबडाको सुविधाभोगी प्रवृत्ति तथा विभिन्न क्षेत्रको वास्तविकता सुनाइदिए । प्रधानमन्त्री र सरकारका कुरा सुन्ने थोरै र गिनेचुनेका मात्र भए । पशुपतिका गीत भने हातहातमा सुनिन थाले, गाउँ, शहर, यातायातका साधन, होटेल, रेस्टुरेन्ट र घरघरमा बज्न थाले ।

यसो गर्दा सरकारको दाबीभन्दा पशुपतिको आवाजले धेरै ठाउँ पायो । बज्दाबज्दै यो यतिविधि बज्यो कि विरोधी त हौसिने नै भए, सत्ता समर्थकहरूबीच पनि चर्चाको विषय बन्यो । अनि त सत्ता अत्तालियो र आफ्ना भरौटेहरूमार्फत गायक शर्मालाई धम्क्याउन थाल्यो । अन्ततः पशुपतिको गीतमाथि प्रतिबन्ध नै लाग्यो । युट्युबमा राखिएको गायक शर्माको उक्त गीत हटाउन बाध्य पारिएकोप्रति विभिन्न दल, प्रबुद्ध समूह र गीतका स्रोतहरूले समेत तीव्र असन्तुष्टि र विरोध जनाएका छन् । कतिपय पार्टीले त विज्ञप्ति नै निकालेर संविधानले प्रदान गरेको अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएका छन् । सत्तासीन दलका जिम्मेवार व्यक्तिले नै दबाब दिएर गायक शर्मालाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको सार्वजनिक भएपछि यस्तो बताइएको हो ।

गीत कसैप्रति पूर्वाग्रही छैन । गीतमा राज्यका सबै क्षेत्रमा व्याप्त विकृतिलाई प्रहार गरिएको छ । सरकार, प्रशासन अर्थात् कर्मचारीतन्त्र, नेता, चिकित्सक, पेसाकर्मीदेखि राष्ट्रप्रमुखसम्मलाई यसमा छोइएको छ । यसले सबै क्षेत्र सुध्रनुपर्ने आवश्यकता देखाएको छ । तर, यस्तो सन्देशमूलक र आमनागरिकलाई गलत कामका विरुद्ध, लुटका विरुद्ध, कुशासनका विरुद्ध र समग्रमा लोकतन्त्रको मूल्य–मान्यताका विरुद्ध काम भइरहेकोमा त्यसका विरुद्ध एकजुट हुन हौस्याउने र वर्तमानको वास्तविकता बोकेको गीतलाई बहिष्कार गर्ने केही भरौटेको आवाज र राज्यको सहयोग आफैँमा अस्वाभाविक हो । यो निर्दलीय तानाशाही अर्थात् अधिनायकवादी शासनकै पूर्वाभास हो भन्दा अत्युक्ति हुने छैन ।

यहाँ मुख थुन्न खोजे आँखा बोल्छन्, नाक–कान बोल्छन् । लोकतन्त्र सिध्याउन लागिपर्ने नक्कली लोकतन्त्रवादीहरूले लोकतन्त्रका नाममा चलाएका शासनको हविगत देखिएकै छ । लोकतन्त्रको आवरणमा लोकतन्त्रमाथिकै षड्यन्त्र सैह्य हुन सक्दैन ।

यसै त ओली सरकारका एकपछि अर्को काम आलोचित भइरहेका छन् । आग्रह र पूर्वाग्रहका कुरा आएका छन् । निर्मला बलात्कार र हत्यकाण्डका दोषी संरक्षण गरेको, वाइडबडी काण्ड छानबिनको नाममा आयोग गठन गरेर अलमल्याएको, आफ्नालाई दोषी भए पनि चोख्याउने र इतर पक्ष सम्बन्धितलाई निर्दोष भएपछि फसाउने नियतले अनुसन्धान, छानबिन र मुद्दामामिला लगाउने गरेको, राज्यशक्तिको दुरुपयोग गरेकोजस्ता आरोप लाग्दै आएको छ । त्यसमा पनि एउटा कलाकारमाथि यसरी जाइलाग्नुले सरकारमाथि प्रश्नैप्रश्न र सरकारको नियतप्रति नै आशङ्का उत्पन्न गराएको छ ।

यो लोकतन्त्रको युग हो । यहाँ मुख थुन्न खोजे आँखा बोल्छन्, नाक–कान बोल्छन् । लोकतन्त्र सिध्याउन लागिपर्ने नक्कली लोकतन्त्रवादीहरूले लोकतन्त्रका नाममा चलाएका शासनको हविगत देखिएकै छ । लोकतन्त्रको आवरणमा लोकतन्त्रमाथिकै षड्यन्त्र सैह्य हुन सक्दैन । सरकारले जनताको मत र संसद्मा दुईतिहाइको दुहाई दिने गरेको छ, हेक्का राखोस् जनताले लोकतन्त्रको पक्षमा मतदान गरेका हुन्, प्रतिबन्ध, नियन्त्रण वा निरङ्कुशताका लागि होइन ।

हामीले ६९औँ प्रजातन्त्र दिवस मनायौँ । यसक्रममा हाम्रा राष्ट्रप्रमुख, सरकारप्रमुख, विभिन्न दलका नेता एवम् पूर्वराजाबाट समेत शुभकामना सन्देशहरू सार्वजनिक भए । यस दिनलाई उत्सवकै रूपमा मनाइयो । तर, कुनै कलाकर्मी, पेसाकर्मी वा स्वतन्त्र नागरिकले आफ्ना असन्तुष्टि सभ्य ढङ्गमा व्यक्त गर्न वा गुनासो गर्न पाउँदैन भने प्रजातन्त्र वा लोकतन्त्रको भाषण गरिरहनु कति उचित र शोभनीय होला ? खासगरी त्यस्ता अभिव्यक्तिका विरुद्ध जनमत खडा गर्न खोज्ने वा आफ्ना लठैतहरूलाई अघि सारेर धम्क्याउन खोज्नेहरूले सोच्दा वेश हुने हो कि ?