पशुपतिको गीतमा केपीको तिखो टिप्पणी

पशुपतिको गीतमा केपीको तिखो टिप्पणी


प्रधानमन्त्री केपी शर्मा ओलीले लोकगायक पशुपति शर्माको गीत ‘लुट कान्छा लुट’का विषयमा मुख खोलेका छन् । प्रधानमन्त्री ओलीले बुधबार सुदूरपश्चिम प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने क्रममा सो गीतबारे मुख खोलेका हुन् ।

प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एक केटोले लुट भन्ने गीत गाएछ, यसलाई सरकारले किन प्रतिबन्द लगाउने ? हामीले उनको गीतबारे केही बोलेका छैनौँ ।’

करिब अढाइ घन्टा सभालाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले गायक शर्माको नाम भने उल्लेख गरेनन् । उनले भने, ‘भावनामा बगेर गीत लेखे, युट्युबमा पनि हाले, तर सबैले राम्रो गरेनौँ भाइ भनेपछि हटाए । कुरा सकियो ।’

सम्बोधनका क्रममा उनले प्रतिपक्षी कांग्रेसका सांसद अमरेशकुमार सिंहप्रति लक्षित गर्दै तर नाम नलिईकन एक सांसदले नेपालीलाई सुहाउने गीत किन हटाएको भन्दै २५ हजार पुरस्कार घोषणा गरेको पनि सुनाए । ‘यसबाट अचम्म लाग्यो मलाई, कहाँ जान खोज्दैछौँ हामी,’ प्रधानमन्त्री ओलीले भने ।

देशमा व्याप्त भ्रष्टाचार र विसंगतिबारे व्यंग्यात्मक सो गीत युट्युब च्यानलबाट सार्वजनिक हुनेबित्तिकै सत्तापक्षबाटै उक्त गीत युट्युबबाट हटाउन शर्मामाथि दबाब परेको थियो । दबाबबीच शर्माले युट्युबाट सो गीत हटाए पनि सबै मोबाइल प्रयोगकर्ताका माध्यमबाट सो गीत भाइरल बनेको छ । युट्युबबाट हटाउन लगाएको कार्यप्रति सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत पनि सरकारको सर्वत्र निन्दा गरिएको थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार र बालिका निर्मला पन्तसम्मको प्रसंग उल्लेख गरे । उनले भ्रष्टाचार गरेको भेटिए कसैलाई पनि नछोड्ने बताए । उनले भने, ‘कसैले पनि भ्रष्टाचार गर्छु, अनुचित रूपमा पैसा कमाउँछु भन्ने लागेको छ भने त्यस्तो कल्पना नगर्नुहोला, यो विषय सह्य हुन्न ।’

सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले अब देशमा कुनै क्रान्तिको आवश्यकता नभएको बताए । उनले भने, ‘यदि कसैले कुनै पनि नाम र आवरणमा क्रान्तिका कुरा गर्दै अशान्ति मच्चाउने प्रयास गर्छ भने यो सरकारलाई मान्य हुन्न, त्यसलाई सरकारले नियन्त्रण गर्छ ।’