मेवामा छन् पत्याइनसक्नुका गुण

मेवामा छन् पत्याइनसक्नुका गुण


मौसम कुनै पनि होस्, स्वास्थ्यप्रति सचेत रहनैपर्छ । स्वास्थ्यलाई कसरी सहज तुल्याइराख्ने भन्नेमा ख्याल राख्नैपर्छ । यसको लागि मेवाले ठूलो सहयोगीको काम गर्छ । शरीरको बाहिरी र भित्री दुवै स्वास्थ्यको लागि मेवा अत्यन्तै गुणकारी फल हो ।

आयुर्वेदिक दृष्टिबाट हेर्दा पनि मेवा एक खास फल हो । यसको सेवनले शरीरको रगत शुद्ध गर्ने मात्र नभई पेटदेखि छाला र कपालको स्वास्थ्यका निम्ति पनि यो दैवी बरदान नै हो । यस्ता विशेषताले भरिपूर्ण मेवा वास्तविक अर्थमा राम्रो स्वास्थ्य एवम् बेहिसाब आयुर्वेदिक गुणहरूको भण्डार नै हो ।

मेवा भिटामिन ‘सी’ले भरिपूर्ण हुन्छ । पाकेको मेवामा पाइने एन्टी–अक्सिडेन्ट तथा फाइबरले शरीरभित्र कोलेस्ट्रोल बढ्न र रगत जम्न दिँदैन । कैयन अवस्थामा कोलेस्ट्रोलका कारण रक्तचाप बढ्ने, हर्टअट्याक हुने तथा मुटुसँग सम्बन्धित अन्य समस्या पैदा हुन सक्छ । यस्तो समस्या निम्तिन नदिन मेवाको सेवन रामवाणजस्तै हुने विज्ञहरूको दाबी छ । मेवालाई दिनहुँको खानामा समावेश गर्ने हो भने स्वास्थ्य–रक्षामा उदेकलाग्दो लाभ पुग्ने उनीहरू दाबी गर्छन् ।

मेवामा निकै कम क्यालोरी हुन्छ, जसले गर्दा मोटोपन घटाउने काम गर्छ । यसमा फाइबरको मात्रा प्रचुर हुने हुँदा आँतको स्वास्थ्यलाई हरदम ठीक राख्छ । डाइबेटिज (सुगर)को रोगीका लागि पनि मेवा एक उत्तम विकल्प हो । स्वाद गुलियो भए पनि यसमा सुगरको मात्रा न्यून हुने हुँदा सुगररोगीले यसलाई निर्ढुक्क सेवन गरी स्वास्थ्यसम्बन्धी विभिन्न लाभ उठाउन सक्छन् ।

मेवामा पाइने भिटामिन ‘ए’ले आँखा तेजिलो पार्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले हड्डी बलियो तुल्याउने काम गर्छ । यसले अर्थराइटिसजस्तो गम्भीर रोगबाट पनि बचाउँछ ।

काँचो मेवाले महिलामा अक्सिटोसिनको मात्रा बढाइदिन्छ । यसले गर्भाशयलाई खुम्च्याइदिन्छ र मासिक धर्मको समयमा हुने दुखाई पनि कम गरिदिन्छ । जो सुगरबाट पीडित छ, त्यस्तो व्यक्तिले पनि काँचो मेवा खाएर रगतमा सर्कराको स्तर घटाउन सक्छ । यसले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ । आयुर्वेदका अनुसार पेटको विकार बाहिर निकाल्न मेवाले अहम् भूमिका निर्वाह गर्छ ।

फल मात्र होइन, मेवाको पात पनि उत्तिकै लाभकारी हुन्छ । स्वादका हिसाबले कडा या तीतो भए पनि मेवाको पातको रस सेवनबाट कैयन रोगसँग लड्ने क्षमता बढाउँछ । यसमा भिटामिन ए, सी, डी, ई र क्याल्सियमको मात्रा प्रचुर रहेको हुन्छ ।

जतिसुकै गुणकारी भए पनि कुनै पनि कुरामा केही अवगुण पनि हुन सक्छ भन्ने मान्यता रहँदै आएको छ । मेवा सेवनको सन्दर्भमा पनि यो पक्षलाई ख्याल गर्नुपर्छ । मेवाको अत्यधिक सेवनले किड्नीमा पत्थरी पैदा गर्न सक्छ । यस्तै, धेरै खाँदा यसमा मौजुद भिटामिन ‘सी’ले स्वास–प्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छ । महिलाले गर्भावस्थामा मेवा सेवनबाट आफूलाई अलग राख्नु आवश्यक छ, किनकि यसले गर्भपतन गराउने खतरा रहन्छ ।

आयुर्वेद शास्त्रमा मेवाको सेवन बिहान ५ देखि ९ बजेभित्र गर्नु उपयुक्त हुने उल्लेख गरिएको छ । एकपटकमा एक कचौरा जति मेवा खानु स्वास्थ्यको लागि उचित हुन्छ । साँझ ६ बजेपछि खाँदा मेवाले पेटको समस्या निम्त्याउन सक्छ । तसर्थ, बिहानको नास्तामा मेवालाई नियमित रूपमा सामेल गर्न सके यसबाट प्रचुर फाइदा उठाउन सकिन्छ ।