नेता पराजुलीको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

नेता पराजुलीको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त


नेपाली कांग्रेसले पार्टीका नेता बारानिवासी दण्डपाणि पराजुलीको निधनप्रति दुःख व्यक्त गरेकोे छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गरी पराजुलीको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

पूर्वसांसद तथा कांग्रेसका पूर्वमुख्यसचिव डा. शोभाकर पराजुलीका दाजु ७६ वर्षीय दण्डपाणि पराजुलीको यही फागुन ५ गते निधन भएको थियो । पराजुलीले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

पटकपटक कारागार र कठोर यातना भोगेका पराजुली पार्टीका एक निर्भीक योद्धा रहेको विज्ञप्तिमा जनाइएको छ । स्व. पराजुलीका श्रीमती, चार छोरा र दुई छोरी रहेका छन् ।