प्रजातन्त्रको रक्षा कांग्रेसका लागि जीवनमरणको सवाल : देउवा

प्रजातन्त्रको रक्षा कांग्रेसका लागि जीवनमरणको सवाल : देउवा


नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांगे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताएका छन् । वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटेल दियालो लर्डको बुधबार उदघाटन गर्दै सभापति देउवाले कुनै हालतमा भए पनि लडेर प्रजातन्त्रको रक्षा गर्ने बताए ।

प्रजातन्त्र प्राप्तिका लागि वि.सं. २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले यसको रक्षा गर्न नेपाली कांगे्रस सदैव तयार रहेको भन्दै पूर्वप्रधानमन्त्री देउवाले ऐतिहासिक महत्व बोकेको वीरगञ्जको विकासका लागि नेपाली कांग्रेस सधैँ तयार रहेको बताए ।

वर्तमान सरकारले उद्योगधन्दाको विकास गर्न नचाहेको भन्दै उनले वर्तमान सरकारले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन नसकेकाले उद्योगधन्दा फस्टाउन नसकेको बताए । देउवाले भारतीय बजार नजिकै रहेकाले वीरगञ्जमा विदेशी लगानीकर्ता आकर्षित हुने भएकाले लगानी गर्ने वातावरण बनाउनेतर्फ वर्तमान सरकारले जोड दिनुपर्ने बताए ।

सो अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले लगानीकर्तालाई आकर्षित गर्ने तथा लगानी गर्ने वतावरण बनाउन सके मुलुकको अन्य प्रदेशभन्दा प्रदेश २ नमुना प्रदेश बन्ने बताए । नीतिनिर्माताका कारण प्रदेश २ को विकास हुन नसकेको भन्दै उनले मुलुकको हितभन्दा निश्चित व्यक्तिको हित भइरहेकाले प्रदेश २ मा उद्योगधन्दाको विकास हुन नसकेको बताए ।

सो अवसरमा पूर्वमन्त्री डा. प्रकाशशरण महतले देशलाई कसरी समृद्ध गर्ने भन्ने सवालमा नेपाली कांग्रेस लोकतन्त्र, जनाधिकार र हरेक क्षेत्रमा नागरिकको अधिकार सुनिश्चित गर्ने कुरालाई लिएर अगाडि बढिरहेको बताए ।
सांसद प्रदीप गिरी, विनोदकुमार चौधरी तथा पूर्वसांसद तथा उद्योगपति अनिल रुगँटाले निजी क्षेत्रको लगानीले अर्थतन्त्रको विकासमा योगदान प¥ुयाउने भएकोले प्रदेश २ को आर्थिक विकासका लागि सरकारले लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

चार वर्ष लगाएर बनेको सो १० तले होटेलमा दुई हल, स्विमिङ पुल, जिमखाना गरी ६० कोठा रहेका छन् । वित्तीय संस्थाको ऋण लगानीमा निर्माण भएको सो चारतारे होटेलको कुल लगानी रु. एक अर्ब करोड रहेको छ ।