आठौँ राष्ट्रिय खेलकुदको प्रदेशीय छनोट खेल प्रारम्भ

आठौँ राष्ट्रिय खेलकुदको प्रदेशीय छनोट खेल प्रारम्भ


राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने आठौँ राष्ट्रिय खेलकुदको प्रदेश नम्बर १ को प्रदेशस्तरीय प्रतियोगिता फागुन ७ गते मंगलबार विराटनगरबाट शुरु भएको छ । आठौँ राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलमध्ये फुटबल, एथलेक्सि, भारोत्तोलन, टेबलटेनिस, क्रिकेट, भलिबल, तेक्वान्दो, कबड्डी, खोखो, उसु, बास्केटबल, ब्याडमिन्टन, कराते, ह्यान्डबल, चेस, पौडी, सुटिङ, कुस्ती, आईटीएफ तेक्वान्दो, सेपाकताक्रो, फुलकन्याक्ट कराते, हक्की र स्क्वास गरी २५ खेलको छनोट प्रक्रिया प्रदेश १ बाट शुरु भएको हो ।

आठौँमा लनटेनिस, साइक्लिङ, आर्चरी, फिन्सिङ, गल्फ, प्याराग्लाइडिङ, ट्रायथलन, सफ्टेनिस, जिम्यास्टिक र शारीरिक सुगठन खेल भने राष्ट्रिय प्रतियोगिताका लागि संघबाट स्वतः छनोट भएका छन् । प्रदेश १ का कानुनमन्त्री हिक्मत कार्कीले आठौँ राट्रिय खेलकुद प्रदेश नम्बर १ को प्रदेश स्तरीय प्रतियोगिताको उद्घाटन गरे । बक्सिङ, कराते, भारोत्तोलन र खोखाका खेले फागुन ७ गते मंगलबारबाट विराटनगरमा शुरु भएको छ ।

करातेमा रेश्माले जितिन् स्वर्ण

आठौँ राष्ट्रिय खेलकुद प्रदेश १ को कराते प्रतियोगिताको महिला एकल कातामा खोटाङकी रेश्मा राईले स्वर्ण जितेकी छिन् । रेश्माले मोरङकी स्वस्तिका राईलाई पराजित गरिन् । महिला एकल कातामै इलामकी विमोचन गुरुङ र शर्मिला श्रेष्ठले कांस्य जिते । पुरुष कातामा सुनसरीका रोहित राई सेमिफाइल प्रवेश गरेका छन् ।

बक्सिङमा प्रतिमा क्वार्टरफाइनलमा
आठौँ राष्ट्रिय खेलकुद प्रदेश १ को महिला ४८ केजी तौलमा भोजपुरकी प्रतिमा राईले क्वार्टरफाइनलमा स्थान बनाएकी छिन् । प्रतिमाले उदयपुरकी सुस्मिता तामाङलाई एबीडीका आधारमा पराजित गरिन् । त्यस्तै, पुरुष ५६ केजी तौल समूहमा धनकुटाका रोशन श्रेष्ठ र झापाका सुरेन्द्र राई क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । धनकुटाका रोशनले मोरङका पियूष शर्मालाई अंकका अधारमा हराउँदा झापाका सुरेन्द्र्रले सुनसरीका पावेल राई आरएसीका आधारमा पराजित गरे ।